Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, माग सम्बोधन गर्न श्रम मन्त्रालय सहमत

वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, माग सम्बोधन गर्न श्रम मन्त्रालय सहमत


  • 1.7K
    Shares

    वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता, माग सम्बोधन गर्न श्रम मन्त्रालय सहमत
    images

    काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधन गर्न युवा तथा श्रम रोजगार मन्त्रालय सकारात्मक भएको छ । मन्त्रालय र व्यवसायीबीच भएको वार्तापछि व्यवसायीका मागहरू ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको हो ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार वार्तामा सहमति जुटेसँगै व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन् ।

    व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका थिए । माग सम्बोधन नभएको भन्दै उनीहरूले कार्यालय बन्द गर्ने र श्रमिक पठाउने काम रोक्ने घोषणा गरेका थिए ।

    मन्त्रालयमा भएको छलफलपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको महासचिव डाँगीले जानकारी दिए ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्र सुधारका लागि विभिन्न १५ बुँदे माग राख्दै ध्यानाकर्षण तथा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

    वार्तामा श्रममन्त्री, मन्त्रालयका सचिव, संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । छलफलमा व्यवसायीले उठाएका १५ बुँदे मागबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित छन् । ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समेत समेटिएका कारण संशोधनमार्फत सम्बोधन गर्न अधिकतम प्रयास गर्ने सहमति भएको हो ।

    त्यस्तै, व्यवसायीका मागसँग सम्बन्धित आवश्यक प्रमाण तथा कागजात वैदेशिक रोजगार विभागमा पेश गर्न सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको मन्त्रालयले जनाएको छ ।

    विभागबाट समाधान हुन नसकेका विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था अनुसार समस्या समाधान खोजिने बताइएको छ । मन्त्रालयले वैदेशिक रोजगारी क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

    patra_4.jpg

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १२:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij