Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आजदेखि बडीमालिका मन्दिरमा पूजा सुरु

आजदेखि बडीमालिका मन्दिरमा पूजा सुरु


  • 876
    Shares

    आजदेखि बडीमालिका मन्दिरमा पूजा सुरु
    images

    बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

    बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताए । बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

    हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

    यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए ।

    बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिए । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उनले बताए ।

    ‘मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ,’ उनले भने ।

    यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उनले जानकारी दिए ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ०८:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij