२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधन पनि उल्लेखनीयरूपमा बुकिङ भएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको एक्स्पोमा १ लाख ८० हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन्।
अवलोकनकर्ताको उत्साजनक उपस्थितिसँगै गाडीहरू पनि उल्लेखनीयरूपमा बुकिङ भएको आयोजकको भनाइ छ। अवलोकनकर्ता र गाडीको बुकिङबाट व्यवसायीहरू उत्साहित भएका छन्। गाडी राम्रो बुकिङ हुँदा व्यवसायीले ‘स्यामपेन फोरेर’ र केक काटेर सेलिब्रेसन गरेका छन्।
नाइमा एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल लञ्च भएका थिए। नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले देशकै ठूलो अटो शो सफल बनाउन एक जनाको मेहेनतले होइन सयौँ जनाको भूमिका रहेको बताइन्। उनले नाइमा मोबिलिटी सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्।
एक्स्पोमा करिब ५५ सय चार पांग्रे र २ हजारको हाराहारीमा दुई पांग्रे बुकिङ भएका छन्। बुकिङ भएका सबै गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ।
विगतका अटो शो जस्तो यस पटकमा एक्स्पोमा विद्युतीय सवारीको स्टलमा चाप छ। गाडी पनि विद्युतीय धेरै बुक भएका छन्। एक्स्पोमा १८ लाख रुपैयाँदेखि करिब ४ करोड रुपैयाँका गाडी राखिएका थिए।
व्यवसायीका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा सबैभन्दा बढी बुकिङ गर्नेमा चारपांग्रे गाडीमा बीवाईडी, टाटा, चेरी रहेका छन्। त्यसबाहेक वुलिङ, किया, महिन्द्रा, हुन्डाई, एमजी, लिपमोटर रहेका छन्। दुईपांग्रेमा एथर, ट्राइम्फ, रोयल इन्फिल्ड, याडिया, सी एक्सको सबैभन्दा बुकिङ भएका छन्।
नाइमा अवधिमा मुलुकभरबाट बीवाईडीका एक हजारभन्दा बढी गाडी बुकिङ भएका छन्। यस्तै टाटा र चेरीको क्यु३ दुवै ७ सयभन्दा बढी युनिट बुकिङ भएका छन्।
कियाले नाइमा ७०० भन्दा बढी गाडी बुक भएको दाबी गरेको छ। कम्पनीले ६०० युनिट भन्दा बढी नेपाल आउने क्रममा रहेको किया साइरस ईभी बुकिङ भएको जानकारी दिएको छ।
वुलिङ ४४३ युनिट, आईकार ४२१, ओमोडा जेको ३५० र आर्कफक्स २०० युनिट बुकिङ भएको व्यवसायीहरूले जानकारी दिएका छन्। यस्तै महिन्द्रा १००, लिपमोटर २००, एमजी ३२९, प्रोटन १०० युनिट बुकिङ भएको छ।
साथै जीडब्लूएम २०५, होन्छी ५५, टोयोटा ४६, म्याक्सस ३४ र निसान ३५ युनिट बुक भएका छन्। यस्त, बेइक ५६, अर्नी बोमा ३०, फोर्थिङ फ्राइडे ६० र काई ८० युनिट बुक भएका छन्।
दुई पांग्रेमा एथर ४००, याडिया १४५, रोयल इनफिल्ड १०० र केटीएम ६० युनिट बुक भएका छन्। सुजुकी ५०, सीएक्स मोटो २००, सीएफ मोटो १०८, ट्रायम्फ १०० र मोर्बिडेली ४५ युनिट बुक भएको कम्पनीले जानकारी दिएको छ।
नाइमा एक्स्पो संयोजक गौरव सारडाले अटो शोमा ३०–३५ लाखका गाडीमा बढी आकर्षण रहेको बताए। उनले इन्ट्री लेभलका गाडीको आकर्षणले अटो शोमा गाडी खरिद गर्ने नयाँ ग्राहक थपिएको बताए। उनले अटो एक्स्पोमा उत्साहजनक उपस्थिति रहेको बताए।
त्यस्तै लक्ष्मी ग्रुपका निर्देशक तथा नाइमा बोर्ड सदस्य निराकर श्रेष्ठले एक्स्पोमा बुकिङ उत्साहित भए पनि एकै व्यक्तिले २–३ वटा मोडल बुक गरिरहेको बताए। उनले बुकिङको बढीमा ५० प्रतिशत मात्रै बुकिङ हुने बताए। श्रेष्ठले अन्तिम दिनसम्म अवलोकनकर्ता उत्साहित रूपमा सहभागी भएको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij