२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ ।
यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरूमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । नागपञ्चमीसँगै सनातन धर्मावलम्बीहरूका चाडबाडको याम सुरु भएको मानिन्छ । नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासका आधारमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन्, जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ–
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मारेर पनि रिस शान्त नभएपछि किसानको घरमा गएर उनकी श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडिन् र बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गर्दै ‘मलाई नमार्नुस्, म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु’ भनेर बिन्ती गरेपछि नागिनीले दया गरी उनलाई छोडिन् ।
मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडशोपचारले पूजाआराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले ‘तिम्रो भक्तिबाट म प्रसन्न भएँ, वर माग’ भनेपछि उनले मौका छोपी ‘मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस्’ भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले ‘तथास्तु’ भनी किसानको सम्पूर्ण परिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
यसबाहेक, गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखेर गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।
संसारमा सबैभन्दा मूल्यवान् मानिने मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।
नागका बाह्र नाम भए पनि आठ कुलका आठवटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गराई घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जीवलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादका रूपमा चढाउने गरिन्छ ।
वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले सोसेर मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने तथ्य अनुसन्धानबाट पुष्टि भएको छ । यही कुरा बुझेर नै ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमी पर्वसँगै वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij