२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् । मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी हुन् ।
उनले आफूभन्दा भिन्न विचार राख्नेहरुलाई पनि सम्मान गर्न युवालाई आग्रह गरेकी छन । लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उनको भनाई छ । उनले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भएको बताइन् ।
तर धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उनको भनाई छ । सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उनको भनाई छ । उनले राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताइन् । निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमा मात्र युवालाई सिमित गर्न नहुने उनको भनाई छ ।
समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भुमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
उनले भनिन्, ‘सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण छ । राजनीतिमा युवाहरुको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij