२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन् । उनले देशको धार्मिक पहिचान भने जनताको निर्णयमा निर्भर हुने स्पष्ट पारेका छन् ।
काठमाडौंको सुकेधारामा आयोजित कांग्रेस इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा देउवाले आफू हिन्दु परम्परा मान्ने व्यक्ति भएको उल्लेख गरे ।
‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु। म पशुपति जान्छु र पूजाआजा गर्छु,’ देउवाले भने, ‘तर देशमा धर्मका विषयमा के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ। देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
हिन्दु राष्ट्रका विषयमा धारणा माग गर्दै भेलाका एक प्रतिनिधिले बुझाएको पत्रको जवाफ दिने क्रममा देउवाले यस्तो धारणा राखेका हुन् ।
सम्बोधनका क्रममा उनले नेपालको न्यायालयप्रति आफूहरूको उच्च सम्मान रहेको बताए । सर्वोच्च अदालतदेखि अन्य न्यायालयले विगतदेखि नै आफूलाई न्याय दिँदै आएको उनको भनाइ थियो ।
‘पञ्चायतले थुन्दा होस् वा राजाले शाही आयोग बनाएर थुन्दा, न्यायालयले नै खारेज गरेर मलाई बचाएको हो। न्यायालयकै कारण आज म यहाँसम्म आइपुगेको छु,’ देउवाले भने ।
यस्तै, गत पुसमा सम्पन्न विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू अदालत गएको उनले बताए । सबैको सहमतिमा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा भए पनि जबर्जस्ती प्रक्रिया अघि बढाइएको आरोप उनले लगाए ।
‘विशेष महाधिवेशन सबैको सहमतिमा गरौँ, कसैलाई अन्याय नहोस् भनेको थिएँ। तर धेरै साथीहरूलाई बाहिर राखेर जबर्जस्ती गरियो। त्यसैले हामी अदालत गएका हौँ,’ देउवाले भने ।
अदालतको अन्तिम निर्णय आउन बाँकी रहेकाले यस विषयमा धेरै टिप्पणी नगर्ने भन्दै उनले अदालतको निर्णय आफूहरूले स्वीकार गर्ने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij