२०८३ भाद्र ४ गते बिहिवार
१. सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेनः मुख्यसचिव कार्की
मुख्यसचिव गोविन्दबहादुर कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सार्वजनिक खरिद प्रक्रियालाई थप सरल, प्रतिष्पर्धी र आधुनिक बनाउन नयाँ व्यवस्थाहरू समावेश गरिएको मुख्यसचिव कार्कीले जानकारी दिनुभयो ।
२. सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की
मुख्यसचिव गोविन्दबहादुर कार्कीले नेपाललाई सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति रहेको स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधारको कार्यसूची सुशासन र आर्थिक समृद्धिको मुख्य मार्गचित्र भएको बताउनु भयो ।
३. संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनैपनि सुधार नगर्नु नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान एक जीवित राजनैतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताउनुभएको हो । नेता साउदले संविधानको कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, संस्थागत कमजोरी र राजनैतिक अनुभवका आधारमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
४. वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । बहुमतको समर्थन प्राप्त भएपनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउँदै उहाँले यसलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो ।
५. लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको छ । राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’ मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिनुभयो ।
६. मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन परियोजना शुरु
नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय ) शुरु भएको छ । यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ । परियोजनाले त्यहाँको स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो उर्जा उपलब्ध गराउन सक्ने स्वच्छ उर्जा प्रविधिको पहिचान, परीक्षण र प्रवद्र्धन गर्नेछ ।
७. बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज सार्वजनिक
नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । परिसंघले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष वीरेन्द्रराज पाण्डेले नीतिगत घोषणाभन्दा पनि त्यसको परिणाममुखी कार्यान्वयनमा जोड दिनुभएको हो । परिसंघले यस वर्ष निजी क्षेत्र र आर्थिक क्षेत्रसँग सम्बन्धित ७० वटा बुँदाहरू पहिचान गरी विस्तृत ‘बजेट वाच’ दस्तावेज तयार पारेको जानकारी दिएको छ ।
८. प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ । चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताउनु भयो ।
९.पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा
पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैया बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलनटोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गर्नुभयो । पोखरा आफैंमा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हो ।
१०. गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको
नेपाली काँग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा आयोजित नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले निर्वाचनमा पराजित भएकाहरूले अरुमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो । नेता खड्काले पार्टी पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उहाँले कुनैपनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताउनु भयो ।
११. काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी
नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
१२. एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली
एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ । सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ । जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो । तेक्वान्दोले एक रजतसहित १४ पदक एशियाली खेलकुदमा जितेको इतिहास छ । तर एशियाली खेलकुदमा नेपालका लागि सबैभन्दा राम्रो नतिजा दिने दोस्रो सफल खेल पछिल्ला तीन संस्करणमा नतिजाविहीन बन्दै आएको छ । सन् २०१० को एशियाली खेलकुदयता नेपाली बक्सरले पदक दिलाउन सकेका छैनन् ।
१३. २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए
नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् । पहिरोबाट मात्रै १० जनाको मृत्यु, १२ सडक अवरुद्ध र ६ लाख ४७ हजारको अनुमानित क्षति
प्राधिकरणको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार देशका ४३ जिल्लामा विपद्का ५२ वटा घटना भएका छन् । ती घटनाहरूमा परी १३ जनाको ज्यान गएको छ भने ५ जना अझै बेपत्ता छन् । विपद्मा परी ४३ जना नागरिक घाइते भएका छन् भने ५ वटा चौपायाको क्षति भएको छ । विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
१४. १५ औं महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छुः शशांक कोईराला
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको हो । नेता कोईरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
१५. ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक’ लाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तिब्र बनेको छ । प्रदेश प्रमुखबाट केही बुँदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रवार संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो कदम केवल गाँजा खेतीलाई अनुमति दिनु मात्र नभई ग्रामिण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत रणनीतिक योजना भएको बताउनु भयो ।
१६. निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्युत उत्पादनसँगै व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन अपरिहार्य रहेको बताउनुभएको छ । इप्पानको आयोजनामा भएको फ्राईडे फोरममा उहाँले नेपालमा विद्युत उत्पादन र प्रशारण पूर्वाधार निर्माणमा निजी क्षेत्र सक्षम भइसकेकोले अब विद्युत व्यापारमा प्रवेश दिनुपर्ने बताउनुभएको हो । नेपालमा नीजी क्षेत्रले विद्युत उत्पादन, प्रशारण लाईन निर्माणमा सक्षम रहेको प्रमाणित गरिसकेको उहाँले बताउनु भयो ।
१७. ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन
ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रुपमा गर्नुभएको हो । महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठकाअनुसार यस परियोजनाको कुल क्षेत्रफल भने १३ रोपनी ६ आना २ पैसा ३ दाम रहेको छ । उक्त परियोजना करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो ।
१८. लामवद्ध नागरिकहरु भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ
खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास विक्री वितरण शुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिवारदेखि पाँच वटा स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ । विक्री केन्द्रअनुसार फरक–फरक ब्राण्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ ।
१९. विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी
ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रवल अधिकारीले विद्यमान विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नरोक्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उहाँले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्ने कानूनी आधार रहेको दाबी गर्नुभएको हो । विद्युत ऐन, २०४९ को दफा २१ र २२ ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन बाटो खुला गरिदिएको बताउनुभएको हो । उहाँकाअनुसार दफा २१ मा उत्पादित विद्युतको विक्री र दफा २२ मा विद्युतको आयात तथा निर्यातसम्बन्धी व्यवस्था छ । ऐनमा ‘विद्युत व्यापार’ भन्ने शब्द स्पष्ट रूपमा उल्लेख नभएपनि विद्युत खरिद, विक्री, आयात र निर्यातका विषय समेटिएको उहाँको भनाइ छ ।
२०. विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत व्यापार विस्तारका लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्त रुपमा अगाडी बढाउने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उहाँले विद्युत निर्यातको लागि नियामकीय तथा नीतिगत सुधारलाई समानान्तर रूपमा अघि बढाउने बताउनुभएको हो । उहाँले प्रशारण लाइनको राइट अफ वे, ह्विलिङ चार्ज, ऊर्जा व्यापार र लगानीसँग जोडिएका विषयलाई एउटै प्रक्रियामा सिमित नगरी समानान्तर रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । एउटा काम सकेपछि अर्को गर्छौं भन्ने ढाँचाले विद्युत क्षेत्रको विकासमा ढिलाइ हुने उहाँको भनाई छ ।
२१. विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन कानुन संसोधन गर्ने तयारी भईरहको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उहाँले विद्युत उत्पादनसँगै वितरण र व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन कानून संसोधन गर्न लागिएको बताउनुभएको हो । विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आवश्यक कानूनी गाँठो फुकाउन नेपाल ऐन संशोधनमार्फत अघि बढ्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यमान कानूनमा विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था छैन ।
२२. अष्ट्रेलियाली विदेशमन्त्रीद्वारा एकल सांस्कृतिक समाजको अवधारणाको आलोचनाः देश कमजोर बन्ने चेतावनी
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अष्ट्रेलियालाई एकल सांस्कृतिक समाज (मोनोकल्चरल सोसाइटी) बनाउने आह्वानले देशलाई कमजोर र थप जोखिमपूर्ण बनाउने चेतावनी दिनुभएको छ । शुक्रवार सिड्नीस्थित लोवी इन्स्टिच्युटमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै विदेशमन्त्री वोङले अष्ट्रेलिया सधैँ बहुसांस्कृतिक समाजका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले ‘एकल संस्कृतिको निराशाजनक कल्पना’ ले राष्ट्रलाई थप प्रतिकूल बनाउने बताउँदै यसले देशको हित नगर्ने तर्क गर्नुभयो ।
२३. इजिप्ट र पाकिस्तानका विदेशमन्त्रीबीच द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । सो क्रममा उहाँहरूले पछिल्लो क्षेत्रीय विकासक्रम, तनाव न्युनिकरणका प्रयास र क्षेत्रीय सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल गर्नुभयो । मिश्रको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई मन्त्रीहरूले साझा हितको प्रवद्र्धन र द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन सुरक्षा तथा रक्षा सहयोग अभिवृद्धि गर्ने उपायहरूबारे विचार आदानप्रदान गर्नुभयो ।
२४. टर्कीद्वारा सन् २०२७ को सुरुवातमै चन्द्रयान प्रक्षेपण गर्ने घोषणा
टर्कीले सन् २०२७ को प्रारम्भिक महिनाहरूमा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ । उद्योग तथा प्रविधिमन्त्री मेहमेट फतिह कासिरले बिहीबार यस ऐतिहासिक मिशनको बारेमा जानकारी दिँदै यो अभियान स्वदेशमै विकसित ‘हाइब्रिड प्रोपल्सन’ प्रणालीद्वारा सञ्चालित हुने बताउनु भयो ।
अनादोलु एजेन्सीकाअनुसार टर्कीले चन्द्र मिशनको प्रक्षेपण तालिकालाई अन्तिम रूप दिइसकेको छ र यानमा प्रयोग हुने स्वदेशी हाइब्रिड प्रोपल्सन प्रणालीको सम्पूर्ण परीक्षणहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
२५. पाकिस्तानी विदेशमन्त्रीद्वारा ‘इस्लामावाद समझदारी’ कार्यान्वयनमा जोड
पाकिस्तानी उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले अमेरिकाका कार्यवाहक राजदुत (चार्ज डी’अफेयर्स) नेटली ए. बेकरसँगको भेटवार्तामा गत जुन १८ मा हस्ताक्षर गरिएको ‘इस्लामावाद समझदारी पत्र’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार इस्लामावादमा भएको उक्त भेटवार्तापछि पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री डारले उक्त समझदारीलाई अक्षरसः पालना गर्नु नै अगाडि बढ्ने एकमात्र मार्ग भएको उल्लेख गर्नुभयो ।
२६. मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट (११.६८ अर्ब अमेरिकी डलर) बराबरको निर्माण कार्य सम्पन्न भएको छ । चालु वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रमा ८.५ प्रतिशतको वृद्धि देखिएको थियो, जसको तुलनामा दोस्रो त्रैमासको वृद्धिदर केही उच्च हो । विभागको वक्तव्यअनुसार विशेष व्यापार गतिविधि र गैर–आवासीय भवन उप–क्षेत्रमा भएको सुधारले समग्र निर्माण क्षेत्रलाई चलायमान बनाएको हो ।
२७. होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताउनुभएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij