२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी भइरहेको छ । मधेश सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । अब घटाएर ९ वटा कायम गर्ने सरकारको तयारी छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई र नेकपा एमालेका एक गरी तीन मन्त्रीलाई हटाउने गरी मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहेको स्रोत बताएको छ । दुई दिनभित्रै सत्ता गठबन्धन दलका नेता बसेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने र ९ वटा मन्त्रालय कायम गर्ने कामलाई मूर्तरूप दिने तयारी भइरहेको एक मन्त्रीले बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारमा अहिले तीनवटै दललाई चार–चार वटा मन्त्रालय भागबण्डा गरिएको छ ।
कांग्रेससँग मुख्यमन्त्रीसहित चार मन्त्रालय छ । मुख्यमन्त्री बाहेक कांग्रेसको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।
नेकपा एमालेको भागमा पूर्वाधार विकास मन्त्रालय, समाज कल्याण तथा खेलकुद मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा संस्कृति मन्त्रालय रहेका छन् ।
यस्तै नेकपाको भागमा अर्थ, ऊर्जा सिंचाइ तथा खानेपानी, उद्योग, वाणिज्य तथा पर्यटन र गृह, सञ्चार तथा कानुन मन्त्रालय छन् ।
अब कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार, नेकपा एमालेको तीन र नेकपाको दुई मन्त्रालय भागमा पर्ने एक नेताले बताए ।
मन्त्रालयको संख्या घटाउन अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकनसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले असार १८ गते मुख्यमन्त्रीसमक्ष ९ मन्त्रालय राख्न सिफारिसहितको सुझाव पेस गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij