Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको २५ खबर एकै ठाउँमा

आज दिनभरको २५ खबर एकै ठाउँमा


  • 2.7K
    Shares

    आज दिनभरको २५ खबर एकै ठाउँमा
    images

    १. सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार र द्रुत गति आवश्यकः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन नीतिगत सुधार र द्रुत गतिको कार्यसम्पादन अनिवार्य रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । थापाले विगतमा आफूले कीर्तिपुरको सन्दर्भमा राखेको धारणा र त्यसपछि सिर्जित चर्चाबारे प्रस्ट पार्नुभयो । आफू सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शमा आईटी क्षेत्रमा नीतिगत सुधारको प्रयास शुरु गरेको उहाँले उल्लेख गर्नुभयो । सोही क्रममा आएका ६ वटा अध्यादेशमध्ये एउटा महत्वपूर्ण हिस्सा सूचना प्रविधि क्षेत्रको सुधार रहेको उहाँको भनाइ छ । उक्त सुधारमार्फत नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा विस्तार गर्न र नेपालमा वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियामा केही सहजता प्रदान गरिएको थापाले बताउनु भयो । 

    २. लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला

    लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छालि (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ । लुम्बिनी विकास कोष र युएनडिपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ । यसअघि गत पुस महिनामा १५ दिने आधारभुत तालिम सम्पन्न भइसकेकोमा, त्यसको प्रभावकारितालाई ध्यानमा राख्दै अहिले तीन महिने दोस्रो चरणको (एडभान्स) तालिम शुरु गरिएको हो । काठमाडौंबाट आउनुभएका ३५ वर्ष लामो अनुभव प्राप्त प्रशिक्षक सीताराम गोसाईले प्रशिक्षार्थीहरूलाई छालि कलाको प्राविधिक पक्षबारे तालिम दिइरहनुभएको छ । 

    ३. मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र

    पहिलोपल्ट सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका नेपालका स्केटिङ खेलाडी आगामी २०औं एशियन गेम्सको तयारीमा जुट्दा निकै उत्साहित छन् । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ७४ वटा खेल संघहरू आधिकारिक रूपमा दर्ता छन् । आगामी एशियन गेम्समा ४३ वटा खेल विधामा प्रतिष्पर्धा हुने भएपनि नेपालले २२ वटा खेलमा मात्र चुनौती प्रश्तुत गर्दैछ । एशियन गेम्स खेल्नु हरेक खेलाडीको सपना हुन्छ । तर सिमितले मात्र यो अवसर पाउँदैछन् । त्यस्तै अवसर प्राप्त गर्नेमध्ये एक स्केटिङ पनि हो । पछिल्ला समय यो खेल युवाहरूमा निकै लोकप्रिय बन्दै गएको छ । बालबालिकाहरू पनि यो खेलप्रति आकर्षित हुन थालेपछि व्यावसायिक रूपमा स्केट पार्कहरू पनि धेरै वटा स्थापना भइरहेका छन् । 

    ४. नेपाली कांग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला हुने

    नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गर्नुभएको छ । आईतवार काठमाडौंमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभयो । पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम शुरु गरिएको बताउनु भयो । देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । नेता महरले सुनसरीबाट शुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शिघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । नेता महरकाअनुसार साउन २० गते सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुनेछ । 

    ५. देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री

    गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताउनुभएको छ । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताउनु भयो । छलफलका क्रममा उहाँले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवालाहरूलाई आग्रह समेत गर्नुभयो । 

    ६. तीन दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने 

    नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिएको हो । काठमाडौंको बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा उक्त प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन् । साउन १९ देखि २१ गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिव पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरू राखिने भएको छ । विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृतिचिन्हहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एशियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ ।

    ७. डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गर्नुभयो । डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औँल्याउँदै उहाँले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताउनु भयो । उहाँले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा संसदमा रहेका सबै दलका सांसदहरू सहयोग गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो । 

    ८. डिजिटल अर्थतन्त्रका लागि ‘ग्राण्ड रिफर्म’ र नीतिगत स्पष्टता आवश्यकः गगन थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रको विकासका लागि व्यापक नीतिगत सुधार (ग्राण्ड रिफर्म) को आवश्यकता रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले स–सानो सुधारले मात्र यो क्षेत्रमा फड्को मार्न नसकिने उल्लेख गर्नुभयो । सभापति थापाले वर्तमान सरकार, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू सहभागी सरकारको डिजिटल अर्थतन्त्रप्रतिको धारणा र प्रतिवद्धतामा स्पष्टता खोज्नुभयो । सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी स्टार्टअपलाई प्रोत्साहन गर्न कर प्रणाली प्रतिस्पर्धी र अनुमानयोग्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली काँग्रेस राष्ट्रिय सभाको ठूलो दल भएको हैसियतले डिजिटल इकोनोमीसँग सम्बन्धित कानुनहरूलाई परिमार्जन गर्न नेतृत्वदायी भुमिका खेल्ने उहाँले बताउनु भयो । राष्ट्रिय सभाबाट कानुन संशोधनको प्रक्रिया अघि बढाएर प्रतिनिधि सभालाई समेत सहमत गराउन सकिने उहाँको भनाइ छ । 

    ९.गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता

    गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरुमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् । आईतवार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिव डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीकाअनुसार संगठनले यसअघि पेश गरेका १३ बुँदे मागहरूमा थप ६ बुँदा परिमार्जन र थप गरी नयाँ प्रश्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ । सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनु भयो । 

    १०. काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण

    नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताउनुभएको हो । नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाउनु भयो । उक्त समस्या विगत एक महिनादेखि देखिएको भएपनि जिल्ला प्रशासन, प्रहरी र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा दुर्घटना भएको उहाँको भनाइ छ । झन्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भएपनि सरकारले गोली चलाउनु विडम्बनापूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

    ११. २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले ज्यान गुमाए

    २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार यस अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । वैशाख यता ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन् । वैशाख १ देखि साउन १७ गतेसम्म ४ हजार ५३ वटा विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् । सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । ७ सय १६ सर्पदंशका घटनामा ७ सय १८ परिवार प्रभावित बनेको छ । 

    १२. इजरायली विस्फोटले कुटनीतिक प्रयास र प्रश्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ

    लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिण लेबनानमा इजरायलद्वारा गराइएका शक्तिशाली विस्फोटहरूले विद्यमान फ्रेमवर्क सम्झौताको कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना गरेको बताउनु भयो । रोममा आयोजना हुन लागेको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएका यी आक्रमणहरूले कुटनीतिक वार्तालाई जोखिममा पारेको उहाँको ठहर छ । शुक्रवार एक आधिकारिक वक्तव्य जारी गर्दै राष्ट्रपति आउनले भन्नुभयो, ‘त्रिपक्षीय फ्रेमवर्क कार्यान्वयनका विषयमा छलफल गर्न रोममा तय भएको सत्रको ठीक अगाडि यी आक्रमणहरू हुनुले नकारात्मक सन्देश प्रवाह गरेको छ । यसले स्थिरता सुदृढ गर्ने उद्देश्यले भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाएको छ ।’
    लेबनानको सरकारी समाचार एजेन्सीकाअनुसार शुक्रवार बिहान दक्षिण लेबनानको ऐतिहासिक ब्यूफोर्ट क्यासल वरपर इजरायलले शक्तिशाली विस्फोट गराएको थियो । उक्त विस्फोटका कारण नजिकैका सर्वसाधारणका घरहरूमा क्षति पुगेको छ भने दक्षिण लेबनानका ठूला हिस्सामा यसको कडा धक्का महशुस गरिएको थियो । 

    १३. नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ

    नाइजेरियाली सुरक्षा फौजले चालु जुलाई महिनामा देशका विभिन्न भागमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा १०२ जना संदिग्ध आतंककारीहरू मारिएका छन् । उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी अबुजामा आयोजित मासिक पत्रकार सम्मेलनमा नाइजेरियाली सेनाका प्रवक्ता माइकल ओनोजाले अन्य सुरक्षा निकाय र स्थानीय स्वयंसेवक समूहको समन्वयमा यी कारबाहीहरू सम्पन्न गरिएको बताउनु भयो । प्रवक्ता ओनोजाकाअनुसार यस अवधिमा ३९३ जना अपहरित व्यक्तिहरूको सफलतापूर्वक उद्धार गरिएको छ । ‘यस महिना हामीले १०२ आतंककारीहरूलाई निष्कृय पारेका छौँ भने ३४५ आतंककारी र अपराधीहरूलाई पक्राउ गरेका छौँ ।’ ओनोजाले भन्नुभयो । उहाँले सैन्य दबाबका कारण ५७ जना विद्रोहीहरूले आत्मसमर्पण गरेको र कारबाहीका क्रममा ५९ थान हतियार तथा १ हजार ८११ राउन्ड गोली बरामद गरिएको समेत जानकारी दिनुभयो । 

    १४. मध्य एशियाली मुलुक र अजरबैजानबीच क्षेत्रीय सहयोग सुदृढ बनाउने सहमति

    मध्य एशियाली मुलुकहरू र अजरबैजानका राष्ट्रप्रमुखहरूले क्षेत्रीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । किर्गिस्तानको पर्यटकीय सहर चोल्पोन–आटामा शुक्रवार सम्पन्न नेताहरूको अनौपचारिक बैठकले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । मध्य एशिया र अजरबैजानका राष्ट्रप्रमुखहरूको परामर्शदात्री बैठक’ लाई सम्बोधन गर्दै किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभले पछिल्ला वर्षहरूमा क्षेत्रीय सहयोगले नयाँ उचाई लिएको बताउनु भयो । सीमा विवाद समाधानका लागि भएका ऐतिहासिक सम्झौता र बढ्दो आपसी विश्वासले सहकार्यको वातावरण तय गरेको उहाँको भनाइ थियो । राष्ट्रपति जापारोभले अन्तर्राष्ट्रिय मञ्चहरूमा मध्य एशियाको साझा हित प्रवद्र्धन गर्न किर्गिस्तान निरन्तर प्रतिवद्ध रहने स्पष्ट पार्नुभयो । 

    १५. मध्यपूर्वमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वका सबै मोर्चाहरूमा जारी युद्ध तत्काल रोक्न आह्वान गर्नुभएको छ । खाडी क्षेत्रमा सैन्य तनाव बढेको ६ महिना पुग्नै लाग्दा, क्षेत्रीय द्वन्द्वका रूपमा शुरु भएको यो संकटले अहिले विश्वव्यापी अस्थिरता निम्त्याइरहेको उहाँले चेतावनी दिनुभयो । शुक्रवार आयोजित कार्यक्रममा बोल्दै महासचिव गुटेरेसले हर्मोज जलसन्धिबाट हुने व्यापार धराशायी भएको र ऊर्जा बजारमा व्यापक उथलपुथल आएको उल्लेख गर्नुभयो । द्वन्द्वकै कारण खाद्य सामग्री र प्रमुख रासायनिक मलको मूल्यमा भारी वृद्धि भएको तथा आपूर्ति शृङ्खला अवरुद्ध बनेको उहाँको भनाइ छ । 

    १६. मस्कोको एक रेस्टुरेण्टमा बम विस्फोट, तीन जनाको मृत्यु

    रुसको राजधानी मस्कोस्थित एक रेस्टुरेन्टमा भएको बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । रुसको राष्ट्रिय आतंकवाद विरोधी समिति (एनएसी) ले शनिवार यस घटनाको पुष्टि गरेको हो । एनएसीकाअनुसार मध्य मस्कोको कुद्रिन्स्काया स्क्वायर नजिकै अवस्थित एक रेस्टुरेन्टमा एक महिलाले घरेलु विस्फोटक उपकरण (आईईडी) लैजाने प्रयास गरेकी थिइन् । ती महिलाले रेस्टुरेन्टभित्र छिर्न खोज्दा उक्त उपकरण विस्फोट भएको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    १७. म्यानमारमा तटबन्ध फुट्दा ६ हजार ७ सय भन्दा बढी विस्थापित

    म्यानमारको एयारवाडी क्षेत्रमा पर्ने नवाउन नदीको तटबन्ध फुट्दा १ हजार ३ सय ३३ घरधुरीका कुल ६ हजार ७ सय ४७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । लेम्येथना टाउनसिप प्रशासन टोलीले शनिवार यस बारे जानकारी दिएको हो । प्रशासनकाअनुसार गत बिहीबार स्यान्ड बोइल्स (बालुवाको उफान) र जमिन भासिएका कारण तटबन्ध फुटेको थियो । यस घटनामा हालसम्म कुनै मानवीय हताहती वा घाइते भएको विवरण प्राप्त नभएको अधिकारीहरूले उल्लेख गरेका छन् । तटबन्ध फुटेपछि प्रभावित बनेका बासिन्दाहरूलाई विभिन्न राहत शिविरहरूमा सारिएको छ । 

    १८. सुडानको राजधानी खार्तुममा प्रचण्ड गर्मी र चर्को विद्युत कटौतीका कारण जनजीवन कष्टकर

    लामो समयदेखि युद्धको चपेटामा परेर तङ्ग्रिने प्रयास गरिरहेको सुडानको राजधानी खार्तुममा यतिबेला प्रचण्ड गर्मी र अनियन्त्रित विद्युत कटौतीले जनजीवन थप भयावह बनाएको छ । विद्युत अभावका कारण खाद्य भण्डारण, स्वास्थ्य सेवा र व्यावसायिक गतिविधिहरूमा गम्भीर अवरोध सिर्जना भएको छ । खार्तुमको दक्षिणी भेगका बासिन्दाहरू विद्युतीय उपकरण चल्न छोडेपछि गर्मीबाट बच्न घरबाहिर र खुला ठाउँमा बस्न बाध्य छन् । स्थानीय गृहिणी कौथर अहमदका अनुसार विद्युत कटौतीको समस्या कहिलेकाहीँ एक–दुई दिनदेखि महिनौँसम्म लम्बिने गरेको छ । ‘हामीलाई खाना सुरक्षित राख्न, पंखा चलाउन र मोबाइल चार्ज गर्न बिजुली चाहिन्छ । मेरो घरमा बिरामी भाइ हुनुहुन्छ, जसलाई शीतल हावा र चिसो पेय पदार्थको खाँचो छ, तर विद्युत् नहुँदा निकै समस्या भएको छ ।’ उहाँले भन्नुभयो । 

    १९. महिला र वृद्धवृद्धालाई निशाना बनाएर लुटपाट गर्ने ‘कर्मा समूह’ पक्राउ

    उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आईतवार सार्वजानिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नायिके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो । कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । 

    २०. रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु हिन्दुवादी अभियान्ता हुन पाउने बताउनुभएको छ । आईतवार जनकपुरमा पत्रकारहरुसँग कुराकानीका क्रममा उहाँले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताउनुभएको हो । हिन्दु सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजानिक भएपछि रास्वपाको आलोचना भएको थियो । सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनु भयो । पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाई छ । उहाँले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी गर्नुभयो । उहाँले रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी गर्नुभयो । हिन्दु सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडी बढ्ने उहाँको भनाई छ ।

    २१. विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह

    सार्वजानिक विदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीहरुको भीड लागको हो । विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक विदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आईतवार सार्वजानिक विदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आईतवार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरुको विभागमा भीड लागेको छ । विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गनुर्भयो । 

    २२. आन्तरिक र बाह्य शक्तिहरुको चलखेलका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्योः नेकपा नेतृ राई 

    नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद जयन्तीदेवी राईले आन्तरिक तथा वाह्य शक्तिहरुको चलखेलको कारण पार्टी र मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संगठनको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राष्ट्रिय स्वाधिनतासँगै लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता समेत कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले लामो समयको संघर्षबाट प्राप्त महिला अधिकार खोसिने डर रहेको भन्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो । राईले मुलुकमा आत्महत्याका घटना, सामाजिक हिंसा तथा जातीय र धार्मिक तनाव बढ्दो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि समाजमा शान्ति र मेलमिलापको वातावरण निर्माण गर्न आवश्यक सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो । 

    २३. नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको बताउनु भयो । उहाँले नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न नसक्ने, इतिहासमा योगदान गर्ने व्यक्तिहरूलाई चिन्न र कदर गर्न नसक्ने अवस्था देखिएको भन्दै समाजले कस्तो पुस्ता हुर्काइरहेको छ भन्ने विषयमा आत्ममन्थन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सहसंयोजक नेपालले गत वर्षको भदौमा जेनजी आन्दोलनको क्रममा अरुको घर जलाउने, परिवारका सदस्यहरूमाथि आक्रमण गर्ने र अंगभंग गर्ने जस्ता घृणित कार्य भएकोप्रति आपत्ति समेत जनाउनु भयो । यस्ता कार्य आफ्नै परिवारमाथि भएको भए कस्तो अवस्था सिर्जना हुन्थ्यो भन्ने हेक्का राख्नुपर्ने उहाँको भनाइ छ ।

    २४. मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल

    पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गर्नुभएको छ । आईतवार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ । उहाँले नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताउनु भयो । उहाँले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताउनु भयो ।

    २५. सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्नुभएको छ । आईतवार तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताउनु भयो । उहाँले  संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले तुल्सीलाल अमात्यले स्थापित गरेको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १९:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij