Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीमा ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए: ट्रक महासङ्घ

भोटेकोशी बाढीमा ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए: ट्रक महासङ्घ


  • 239
    Shares

    भोटेकोशी बाढीमा ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए:  ट्रक महासङ्घ
    images

    काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ।

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । 

    बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासङ्घले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

    भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठुलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण सङ्कलन गर्नुपर्ने महासङ्घको भनाइ छ । 

    महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

    बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

    मन्त्रालयले भदौ २६ गते मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

    समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि,मन्त्रीको सचिवालय, यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य रहेका छन्।

    मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधारसमेत तय गर्नेछ।

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १६:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij