२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक तथा मौद्रिक लक्ष्यहरूको कार्यान्वयन स्थिति सार्वजनिक गरेको छ।
सार्वजनिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका अधिकांश प्रमुख आर्थिक सूचकहरू लक्ष्यको परिधिभित्रै देखिएका छन्। सरकारले चालु आर्थिक वर्षका लागि उपभोक्ता मुद्रास्फीति (महँगी) ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिएको थियो।
राष्ट्र बैंकको समीक्षा अनुसार आर्थिक वर्षको दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत मात्रै रहेको छ, जुन लक्ष्यभन्दा निकै कम हो। यद्यपि, २०८३ बैशाख महिनामा मात्रैको वार्षिक विन्दुगत मुद्रास्फीति भने सामान्य बढेर ५.०४ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ।
केन्द्रीय बैंकले विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत रहने प्रक्षेपण गरेकोमा २०८३ बैशाखको तथ्याङ्क अनुसार विन्दुगत आधारमा यसको वृद्धिदर लक्ष्यभन्दा बढी अर्थात् १५.२ प्रतिशत पुगेको छ। तर, बजारमा माग बढ्न नसक्दा कर्जा प्रवाहमा भने मन्दी देखिएको छ। मौद्रिक नीतिले निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरेको भए तापनि बैशाख मसान्तसम्म विन्दुगत आधारमा यस्तो कर्जा विस्तार लक्ष्यको झण्डै आधा अर्थात् ६.५ प्रतिशतमा मात्र सीमित भएको छ।
मुलुकको बाह्य क्षेत्रको स्थिति भने निकै मजबुत देखिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिले कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएको थियो। तर, राष्ट्र बैंकको समीक्षा अनुसार २०८३ बैशाख मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ, जुन निर्धारित लक्ष्यको तुलनामा निकै धेरै हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij