२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ।
पीडित भनिएका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्ति र गृह प्रशासनकै मिलेमतोमा आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।
भारतीय दूतावास अगाडि प्रदर्शन गर्दा पक्राउ निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो।
हिरासतमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको उनीहरूको दाबी छ।
निवेदकहरूका अनुसार गृहमन्त्रीसँगै आएका अपरिचित व्यक्तिहरूले कानुन हातमा लिएर हिरासतभित्रै चरम मानसिक दबाब दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएर थुनुवाहरूलाई आतंकित पारेको आरोप छ। प्रहरी प्रशासनकै लाचारीका कारण हिरासत जस्तो संवेदनशील क्षेत्रभित्रै यस्तो घटना हुनु अत्यन्तै गम्भीर भएको उजुरीमा उल्लेख छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij