Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

‘बिसौनी वल्तिर’ आधुनिक नियात्राको एउटा साक्ष्य

‘बिसौनी वल्तिर’ आधुनिक नियात्राको एउटा साक्ष्य


  • 15.0K
    Shares

    ‘बिसौनी वल्तिर’ आधुनिक नियात्राको एउटा साक्ष्य

                    यात्राका वैयक्तिक अनुभूतिलाई केन्द्रमा राखेर लेखिने निबन्धात्मक यात्रा संस्मरण नै नियात्रा हो । नियात्राको स्पष्ट रेखाङ्कन भएयता नेपाली/विदेशी भूगोलमा अनुभूत गरिएका यात्राका भोगाइ र तत्तत् सन्दर्भमा हाँसिल गरेका सामाजिक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक पक्षका यावत जानकारीलाई नेपाली सर्जकहरूले शब्दचित्रमा निरन्तर उतारिरहेका छन् । नियात्राकार भेषराज रिजालको बिसौनी वल्तिर(२०७७) यसैको एउटा साक्ष्य हो ।

    Cover.jpg

                    गीति कविता सङ्ग्रह ‘बालुवाको मुठ्ठी’,(वि. सं. २०५७) प्रकाशित गरेर नेपाली साहित्यिक फाँटमा कविको पहिचान स्थापित गरेका रिजालले र कविता सङ्ग्रहलाई नै निरन्तरता दिँदै ‘देश सधै रुने छैन’(वि. सं. २०५९) प्रकाशित गरेपछि तेस्रो कृतिको रुपमा पहिलो पटक ‘मेरा पाइलाहरू’ (वि.सं. २०६८) नियात्रा सङ्ग्रह प्रकाशित गरे । वि. सं. २०६९ मा ‘छरिएका पाइला कोरिएका डोब’(नियात्रा सङ्ग्र) लाई निरन्तरता दिएका उनले पुनः कविता सङ्ग्रह ‘अनमोल पुरस्कारहरू’ (वि. सं. २०७२) प्रकाशित गरे । पाँच वर्षको अन्तरालमा उनले फेरि एकपटक तेस्रो नियात्रा कृतिका रूपमा पाठकसमक्ष नियात्रा सङ्ग्रह, बिसौनी वल्तिर(वि. सं. २०७७) पस्केका छन् ।

                    वि. सं. २०४७ देखि २०५३ सम्म शिक्षकको अनुभव हाँसिल गरेका कृतिकार भेषराज रिजाल निजामति सेवामा सम्लग्न छन् । ‘राप्ती साहित्य परिषद’को आजीवन सदस्यसमेत रहेका उनले ‘नवप्रतिभा पुरस्कार– २०६१’ र लक्ष्मीप्रसाद देवकोटा एवम् ‘नन्दकला स्मृति सम्मान– २०७६’ ले समेत सम्मानित स्रष्टा हुन् ।

                    कूल १७६ पृष्ठको पूर्णाकारको बिसौनी वल्तिर छब्बीस वटा नियात्रा रचनाहरूले भरिएका छन् । मानौँ बिसौनी वल्तिर एउटा विशाल पुष्पवाटिका र यसमा सङ्ग्रहित नियात्राहरू यसभित्रका पुष्पाञ्जली हुन् । जसरी फूलहरू आ–आफ्नै सौन्दर्य र सुगन्धले शोभित हुन्छन्; त्यसैगरी कृतिकार भेषराज रिजालको बिसौनी वल्तिर चेतना, भावना, भावुकता, कल्पनाशीलता, सूचना, गतिमयता, जनजीवन एवम् सांस्कृतिक पक्षहरूको पर्यवेक्षण र काव्यरसयुक्त भाषाले शोभायमान छ ।

                    नियात्राकार भेषराज रिजाल जति कवि हुन् त्यति नै नियात्राकार पनि हुन् । कृतिका प्रकाशनको हिसाबले बिसौनी वल्तिर उनको छैठौँ कृति हो । यहाँसम्मको यात्राले उनी एक सशक्त हस्ताक्षर बनिसकेको यथार्थ नेपाली साहित्यमा छिपाउन सकिन्न ।

                    बिसौनी वल्तिर नियात्राकार रिजालको नितान्त मनमौजी यात्राहरूको उपज होे । उनले टेकेका प्रत्येक भूगोलमा आफ्नो पञ्चतङ्खवले स्पर्श गरेका छन्; आत्मीय भावनाले सुम्सुम्याएका छन् र प्राकृतिक र सांस्कृतिक छटा, मानव र समाज, ऐतिहासिक धरोहर र झाँकीहरुमा मानवीय संवेदना र अनुभूतिका फूलहरू  अपर्ण गरेका छन् । यसमा विगत, वर्तमान र भविष्यका विभिन्न सन्दर्भ र परिवेशहरूको सुन्दर प्रस्तुति रहेका छन् । यसर्थ बिसौनी वल्तिर उनको बहुआयामिक चेतनाका विस्तारित क्षितिज हो । यथार्थमा आधुनिक नियात्राको एउटा साक्ष्य हो ।

                    यस सङ्ग्रहले पाठकलाई भौगोलिक विचरणसँगै त्यसमा निहीत वैधिध्यतासँग साक्षाकार गराउँदछ । एउटा पाठक स्वयम् नियात्राकारले झैँ रमाउन, कल्पनामा सैर गर्न र भावनामा डुब्न सक्दछ । जस्तो कि– ‘अन्नपूर्णको आँगन’ शिर्षकको नियात्रा रचना । यसमा नियात्राकारले अन्नपूर्णा चक्रियमार्गमा पर्ने बेसीसहर/खुदीदेखि मनाङसम्मको यात्रामा देखे भोगेका कुराहरू कलात्माक रूपमा वर्णन गरेका छन् । अफरोडमा जीप यात्राको अनुभव ओकेलेका छन् । हिमाली मनोरम दृश्यहरू, अन्नपूर्णा– २, गङ्गापूर्णा, स्वर्गद्वारी, पिसाङ पिक लगायतका हिमशैलहरू देख्दा मन्त्रमुग्ध भएका छन् र मनाङको पुरानो बस्ती घ्यारुको उज्यालो सम्पदाले तानिएका छन् । यी यावत अनुभूतिहरूको रोचक प्रस्तुतिले अत्यन्तै पठनीय बनेको छ यो रचना ।

                    भावना अभिव्यक्तिको कलात्मक तरिका छ नियत्राकार रिजालको । यात्राका क्रममा सरसता, शीतलता र कोमलताले भिजेको नारायणी नदीमा डुबुल्की मार्न पुग्छन् उनी । पे्रमको प्राप्तिमा एउटा यायावर कति धेरै पुलकित हुन्छसक्छ भन्ने प्रमाण पनि हो यो । सप्त गण्डकीको सहस्रधाराले संतृप्त भएर बगिरहेकी नारायणीलाई साक्षी राखेर रिजालले आफ्नो कवि चेतलाई यसरी प्रष्ट्याएका छन्– 

    ‘बगुँ कि म पनि छोई सुस्तसुस्त
    लुकाउँ छातीमा कि लुकूँ त्यसैभित्र
    सधैँ बग यो मुटुमा भई नारायणी
    चुमी राख जीवनको खुसीको त्रिवेणी !’ ..............‘नारायणीको तिरैतिर’ (पृ. ९३)

                    ‘सगरमाथा छोएको क्षण’, र ‘टिम्बुरबोटेको बाटो’, एउटै यात्राका दुई नियात्रा रचना हुन् । यी रचनाहरूमा यात्राको क्रममा स्वतन्त्र दृश्यसँगै बुकुर्सिएका नियात्राकार ओखलढुङ्गा र सोलुको सिमानामा अवस्थित पत्तालेमा रोकिन्छन् र अर्को दिन टिम्बुरबोटे पुग्दा टिम्बुरबोटेको हुलिया देखेर वि. सं. २०३१ सालमा घटेको टिम्बुरबोटे हत्याकाण्ड सम्झँदै भक्कानिन पुग्छन् । पञ्चायत विरुद्ध गतिविधि गर्दा टिम्बुरबोटेमा मारिएका विद्रोहीहरूको लगत दिँदै सो काण्डको नालिबेलीसमेत प्रस्तुत गरेका छन् । उनी घटनास्थल भएको ओढारभित्र सहिदको आलो रगतको अनुभूत गर्छन् । भित्ताहरूमा गोलीको निशाना भएको अनुमान गर्छन् र सहिदहरूको चित्कारको कल्पना गर्छन् । यिनै प्रसङ्गले रचनाहरूलाई पठनीय बनाएको छ ।

                    खप्तड टेक्दाको दिन’, ‘प्रकृतिको फुलबारी’, ‘खप्तडी क्षितिजमा गरिबीको छाया’, पनि एकै यात्राका तीन नियात्रा रचनाहरू हुन् । पहिलो दिनको यात्रामा न्याउलीको विरही धुन सुनेर अचम्मित भएका छन् नियात्राकार रिजाल । लेकाली जुकालाई नुनको ढिकोले खुत्रुक्कै पारेको प्रसङ्ग चाखलाग्दो छ । त्यहाँका नागी र पाटन, गोठाला र गाईवस्तुसित साक्षात्कार गरेका छन् उनले । खप्तडका खर्कहरूमा दयनीय दैनन्दिन देख्दा नियात्राकारको विक्षिप्त मनले  यसरी चित्कार गर्छ–

                    ‘गरिबीको रूप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ?’ ......(पृष्ठ ७१)

                    ‘छोरीसँग चिडियाखाना’ यात्रा नियात्राकारको छोरीको अनुनयपूर्ण प्रस्तावको स्विकारनामा हो । सदर चिडियाखाना जावलाखेलमा छोरी भुल्दै गर्दा नियात्राकार बालवयमा वयली खेल्न पुग्छन् । ‘देवचुली’ टिकाराम धितालको आत्मिय साथमा र आफ्नी आमासमेतलाई गराइएको १,९३६ मि. उचाइमा अवस्थित देवचुली शिखरसम्मको यात्रा हो । देवचुली जाँदा वरचुलीको पनि आत्मिय निम्तो पाएका छन् उनले । ‘छोरीसँग चिडियाखाना’मा नियात्राकारले एउटा असल अविभावकको छाप छोडेका छन् भने ‘देवचुली’ एउटा असल छोराको । नियात्राकारले यी नियात्रामार्फत् परिवारको जिम्मेवार सदस्य हुनुको नाताले छोराछोरी र बाबुआमाको भावनालाई कदर गर्नुपर्छ सन्देश प्रवाह गरेका छन् ।

                    शुक्लाफाँटाको जङ्गलमा देखेका बुटावृक्ष, तालतलैया र घाँसे मैदानमा रमाइरहेका मृग, बाह्रसिङ्गा लगायतका जनावर एवम् मयुर र तित्रालगायतका पन्छीहरूसँगै रमाउँदाको क्षणहरू को सुन्दर प्रस्तुति हो ‘शुक्लाफाँटामा एकबिहान’ नियात्रा रचना ।

                    २०७२ साल बैशाख १२ गतेको महाभूकम्पपछि दोलखालाई गन्तव्य बनाएर असारको पहिलो हप्तामा गरिएको यात्रा वृतान्त हो ‘भूकम्प ओच्छिएको भूगोल’ । भूकम्पले पुर्याएको जनधनको क्षतिको मार्मिक प्रस्तुति छ यससमा । भूकम्पले क्षतविक्षत पारेको बस्ती र चरिकोटबासीको दयनीय अवस्था देख्दा भकान्निएका छन् नियात्राकार ।

                    साहित्यमा व्यक्त हुने भाव र विचार विशेष गरी भाषाकै माध्यमबाट प्रकट हुन्छ । स्थानीय भाषा र शब्दहरूलाई टपक्क टिप्दै आफ्नो नियात्राहरूमा प्रयो गरेका छन् उनले । यसरी स्थानीय भाषा र शब्दहरूको जलपले सुन्दर, श्रुतिमधुर र सुबोध्य बनेका छन् उनका नियात्रा रचनाहरू । एक दृष्टान्त–

                    ‘यो जागिर्या मान्ठाको लाइन हो, जन्ता लाइन धेक्या भया थाहा पाउँदा होउ ।’ ‘सिमिकोटे उचाइ’ (पृ. १६३)

                    नियात्राकार रिजालको यो नियात्रा सङ्ग्रहमा पाउन सकिने अर्को विशेषता भनेको विसङ्गति र अव्यवस्थाको  वोध पनि हो । उनले नियात्राको माध्यमबाट समाजमा देखिएका विकृति र विसङ्गतिमाथि थुप्रै चोटिलो व्यङ्य प्रहारहरू गरेका छन् । काठमाण्डौँ सहरका यात्रु, सार्वजानिक यातायातका अवस्था, र अव्यवस्थित ट्राफिक व्यवस्थापन देख्दा अप्रत्यक्ष रुपमा यसरी रोष प्रकट गर्छन् उनी–

                    ‘....धुवा धुलोले सजिएको सडक उसको कोलाहलले आह्लादित भएको छ । नाक छोपेर उभिइरहेका मान्छेहरूको भीड चोकचोकमा अल्मलिएको छ । बिछ्याउन बाँकी मेलँची खानेपानीका पायपहरू किनारमै छन् असरल्ल । के छैन र सडकसँग– पसल, अस्पताल,क्याम्पस, बैंक, बिमा......। सडकसँगै छ– मान्छेको माया, प्रेम र घृणा.....। मान्छेसँग सडकको पनि अपेक्षा होला– सद्भाव, आशा, भरोसा । साँच्चै हो वा अभिनय– सडकमा घन्किरहेथ्यो स्मार्ट सिटीको नारा ।’

                    आफैँमा एउटा प्रतीकात्मक छ– सङ्ग्रहको टाइटल ‘बिसौनी वल्तिर’ । र त्यत्तिकै प्रतीकात्मक छन्– ‘बिसौनी वल्तिर’सहित यसमा भएका नियात्राका शिर्षकहरू । ‘डुबेको मधेशका गढेका दर्दहरू’, ‘मनमा छरिएको उज्यालो’, ‘लेकाली धरोहर फलामेडाँडा’, ‘देवचुली’, ‘तालिएको सम्झना वेगिएको मन’, ‘कोशी किनारको एक झोक्का हावा’, ‘सिमकोटे उचाइ’, ‘भेरीको किनारै किनार’ यसैका उदाहरण हुन् ।

                    छोटा वाक्य संरचना र गरिहरा भाव बिसौनी वल्तिरका सौन्दर्यका पाटाहरू हुन् । बयानका सन्दर्भमा काव्यिक हरफहरुले पाठकको मन संवेदित पार्ने क्षमता राख्दछन् । प्रत्येक नियात्रामा घटनालाई चरित्रले डोहोर्याइ अभिव्यक्ति दिने सन्दर्भमा आख्यानात्मक शैली वरण गरिएका छन् ।

    जस्तै–

            ‘सम्झनाको सागरमा डुबेर निस्केँ म । सम्झनाको गहिराइबाट उत्रेपछि यथार्थको उचाइमा छुनसकेँ । सम्झनासँग सङ्लिन सके डुबिँदो रहेनछ ।’ बिसौनी वल्तिर(पृ. १०९)

                    यस कृतिमा प्रयुक्त भाषा झर्रो नेपाली शब्दहरुको उचित संयोजनसहित वर्णनात्मक अभिव्यक्ति शैलीले पाठकलाई निरन्तर आकर्षित गरिरहने क्षमता प्रदर्शन गरेका छन् ।

                    ‘घाम डुब्नलाई जाँदैछ पश्चिम, हामी अवतरण हुन पूर्वतिर । जून फुलिसक्यो आकाशमा र दुधिया उज्यालो झर्न थाल्यो धर्तिमा साँझको सन्नाटा र आकाशको सौन्दर्य छल्किरहेछ आँखा–आँखामा ।’ ‘गाइघाटे सम्झना’ (पृ.१३३)

                    चिन्तनको अनुभूति प्रस्तुतिमा सफल देखिन्छन् नियात्राकार । वर्तमान सचेत पाठकले आशा गरेबमोजिमका यात्रा साहित्यको सिर्जना गर्न सक्नु रिजालको खुबी हो । सहयात्री र स्थानीयसँगको उचित सम्वाद, व्याकरणीय तथा भाषाशास्त्रीय दृष्टिकोणले यो नियात्रा निश्चय नै एउटा नयाँ उचाइको कृति हो । फेरि पनि यसमा निहित गुणदोषलाई निष्पक्ष भएर विवेचना गर्ने दायित्व आम पाठकहरूलाई नै छ । नियात्राकार भेषराज रिजालबाट भविष्यमा हुने यात्राबाट अझै ओजपूर्ण नियात्राहरू सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । नियात्राकार रिजाललाई अनेक शुभकामना !

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - १२:०५:१८ बजे
    प्रतिक्रिया

    राजेन्द्रमान डंगोल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij