२०८३ आश्विन १ गते बिहिवार
१. साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीका बिदाइ
शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ । यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली टोलीको बिदाइ गरेका हुन् । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले नेपालका खेल संघहरू सरकारसँग नै मिलेर अगाडि बढ्ने संघ रहेको र त्यसमा एन्फा पनि प्रतिबद्धका साथै इमानदार हुने बताएका छन् । साफमा नेपाल समूह ‘ए’ मा छ ।
२. विपद् जोखिम न्युनिकरणका लागि समुदायस्तरको सचेतना र पूर्वतयारीमा मुख्यमन्त्री पाण्डेको जोड
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्युनिकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा राख्नुभएको हो । उहाँले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो । यस्ता जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद व्यवस्थापन र न्युनिकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको पर्यटकीय राजधानी पोखरा तालैतालको शहरका रूपमा परिचित रहेको स्मरण गराउँदै मुख्यमन्त्रीले यहाँका तालहरूले पर्यटन र आर्थिक गतिविधिमा ठूलो योगदान पु¥याएको बताउनु भयो । साथै पर्यटकीय क्षेत्रमा हुने सम्भावित दुर्घटनाहरू रोक्न र नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको तत्परता र उद्धार क्षमता अभिवृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
३. विपक्षी दलहरुको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीवार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रतिपक्ष दलहरुको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
४. वित्तीय समानीकरण अनुदान कटौतीले स्थानीय तह संकटमाः प्रमुख सचेतक ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताउनु भयो । प्रमुख सचेतक ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेको उल्लेख गर्दै अनुदान कटौतीले उक्त आयोगको औचित्यमाथि नै प्रश्न खडा गरेको तर्क गर्नुभयो । सरकारले स्थानीय तहलाई पठाउने सिलिङमा १० देखि २५ प्रतिशतसम्म कटौती गर्दा कार्यसम्पादन भइसकेका आयोजनाहरूको भुक्तानी रोकिएको र यसले स्थानीय सरकारहरू ठूलो आर्थिक मारमा परेको उहाँको भनाइ छ । उहाँले सरकारको ‘नो फाइल’ अभियान र अनुदान कटौतीको विरोधाभासपूर्ण नीतिले सुशासनमा बाधा पु¥याएको टिप्पणी गर्नुभयो ।
५. राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीवार आयोजित एक विशेष समारोहका बीच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदुतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न मुलुकका राजदुतहरूले आ–आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने नियमित कुटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।
६. भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासिन भएको सांसद शर्माको आरोप, तत्काल अनुदान उपलब्ध गराउन माग
नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौँ नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उहाँले सदनलाई जानकारी गराउनु भयो । सांसद शर्माले प्राकृतिक विपत्तिबाट प्रभावित जनतालाई राज्यले अभिभावकीय भूमिका प्रदान गर्नुपर्नेमा वर्तमान सरकार गैरजिम्मेवार र मूकदर्शक बनेको आरोप लगाउनु भयो । संघीय सरकारले खटाएको प्राविधिक टोलीको विस्तृत क्षति मूल्याङ्कन (डीभीए) प्रतिवेदनअनुसार रुकुम पश्चिममा मात्रै १४ हजार ५ सय ७९ घर पुनर्निर्माण र ११ हजार ५५९ घर प्रवलीकरण गर्नुपर्ने देखिएको उहाँले उल्लेख गर्नुभयो । साथै, ५ हजार ४९६ घर अझै प्रणालीमा समावेश हुन बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले समस्याको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गर्नुभयो ।
७. ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नागरिकता सुनिश्चित गर्न सांसद लिम्बूको माग
श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले यस्तो माग राख्नुभएको हो । सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराउनु भयो । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको सन्दर्भमा संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नागरिकता कायम राख्ने व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु ।’
८. प्रधानमन्त्रीसँगको प्रश्नोत्तर माग गर्दै विपक्षी दलहरूद्वारा संसद अवरुद्ध
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संसद अवरुद्ध गरेका छन् । प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई प्रश्नोत्तरमा सहभागी गराउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले रोस्टम घेराउ (वेल घेराउ) गरेपछि सदनको कारबाही प्रभावित भएको हो । बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए । प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र संसदीय नियमअनुसार प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने अडान विपक्षी दलहरूको छ । यसअघि आजै दिउँसो बसेको बैठकमा पनि विपक्षी दलहरूले सोही माग राखेर अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको थियो । स्थगित बैठक पुनः शुरु भएपनि विपक्षी दलहरूको विरोध र नाराबाजी यथावत छ ।
९.प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलहरुले संसदमा खोजे प्रधानमन्त्री
प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न आग्रह गरेका छन् । सदनको बिहीवारको बैठकमा बोल्दै विभिन्न राजनीतिक दलका सांसदहरूले संविधानको धारा ७६ (१०) र नियमावलीको व्यवस्थालाई स्मरण गराउँदै सरकारले संसदीय गरिमा र विधिको शासनको उपहास गरेको आरोप लगाएका छन् । सांसदहरूले जनसरोकारका विषयमा प्रधानमन्त्रीलाई सिधै प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् । नेकपा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ उद्धृत गर्दै प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरिनुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो । जेठ ७ गते भइसक्दा पनि प्रधानमन्त्री सदनमा उपस्थित नभएकोमा उनीहरूले आपत्ति जनाउनु भयो ।
१०. नेपालगञ्जमा अनियमित विद्युत कटौती रोक्न सांसद राईद्वारा सरकारको ध्यानाकर्षण
नेकपा एमाले सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताउनु भयो । अत्यधिक गर्मीको समयमा विद्युत सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उहाँले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँके लगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गर्नुभएको छ ।
११. ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा १५ लाखको चलखेल र बाँदर नियन्त्रणका लागि अनुसन्धानको माग
प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको ‘कालो प्लेट’ (नम्बर प्लेट) वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताउनुुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गर्नुभयो । सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताउनु भयो । यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुनसक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग गर्नुभयो ।
१२. जेन–जी अन्दोलनमा अत्यावश्यक सवारी साधनहरू जलेपछि आपत्कालीन उद्धारमा समस्या भयोः सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उहाँले उल्लेख गर्नुभयो ।
१३. खेलकुदमन्त्रीले भन्नुभयो– ‘सिमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ’
शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उहाँले यसतो बताउनुभएको हो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताउनु भयो । मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गर्नुभयो ।
१४. इण्डोनेसियाको केन्द्रिय बैंकद्वारा ब्याजदरमा वृद्धि, ५.२५ प्रतिशत कायम
इण्डोनेसियाको केन्द्रीय बैंक बैंक इण्डोनेसिया ले बुधवार आफ्नो बेन्चमार्क ब्याजदर (बीआई–रेट) मा ५० आधार विन्दुले वृद्धि गरेको छ । बैंकले ब्याजदर बढाएर ५.२५ प्रतिशत पु¥याएको हो, जसले विगत आठ महिनादेखि कायम स्थिर ब्याजदरको शृङ्खलालाई तोडेको छ । मे १९ र २० मा बसेको केन्द्रीय बैंकको सञ्चालक समितिको दुई दिने बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो । मध्यपूर्वमा जारी तनावका कारण सिर्जित प्रतिकूल विश्वव्यापी परिस्थितिका बीच इन्डोनेसियाली मुद्रा रुपैयाँको स्थिरता कायम गर्न ब्याजदर वृद्धि गरिएको बैंकले जनाएको छ । बैंककाअनुसार यो वृद्धिले सन् २०२६ र २०२७ का लागि तय गरिएको मुद्रास्फीतिको लक्षित सीमा (२.५ प्रतिशतमा १ प्रतिशत बिन्दु तलमाथि) भित्रै रहने सुनिश्चितता प्रदान गर्नेछ ।
१५. इण्डोनेसियाद्वारा आगामी वर्षका लागि ६.५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य सार्वजनिक
इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सन् २०२७ का लागि मुलुकको समष्टिगत आर्थिक ढाँचा र वित्तीय नीतिका लक्ष्यहरू सार्वजनिक गर्नुभएको छ । यस नीतिमा आर्थिक वृद्धिलाई ६.५ प्रतिशतसम्म पु¥याउने र वित्तीय घाटालाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.४ प्रतिशतभन्दा तल राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हाउस अफ रिप्रिजेन्टेटिभ्सको पूर्ण बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सुबियान्तोले मुद्रास्फीति दरलाई १.५ देखि ३.५ प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य रहेको बताउनु भयो । यस्तै इण्डोनेसियाली मुद्रा रुपैयाँको विनिमय दरलाई प्रतिअमेरिकी डलर १६ हजार ८ सयदेखि १७ हजार ५ सयको बीचमा स्थिर राख्ने सरकारको योजना छ । सरकारी ऋणपत्रको प्रतिफल ६.५ देखि ७.३ प्रतिशतको दायरामा रहने प्रक्षेपण गरिएको छ । उहाँले मुलुकको मुद्रालाई विश्वका अन्य मुद्राहरूको तुलनामा स्थिर राख्न वित्तीय र मौद्रिक रणनीतिहरू सक्षम हुनुपर्नेमा समेत जोड दिनुभयो ।
१६. इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी) को अवस्थामा नपुगेको स्पष्ट पारेको छ । बुधवार आयोजित एक पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिनुभएको हो । मंगलवार बसेको डब्लूएचओको आपतकालीन समितिको बैठकले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डामा देखिएको इबोलाको वर्तमान अवस्थालाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा व्याख्या गरे पनि यसलाई विश्वव्यापी महामारी मान्न नसकिने निष्कर्ष निकालेको हो ।
१७. इरानसँगको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी उपराष्ट्रपतिको दाबी
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको शान्ति सम्झौताका लागि भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले दुवै पक्ष सैन्य कारबाहीलाई निरन्तरता दिन इच्छुक नरहेको उल्लेख गर्नुभयो । भान्सकाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन बमोजिम अमेरिकाले इमानदारीपूर्वक वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ । उपराष्ट्रपति भान्सले वार्ता सफल नभएमा विकल्प बी समेत तयार रहेको चेतावनी दिनुभयो । वार्ताको मुख्य एजेण्डाबारे प्रष्ट पार्दै भान्सले इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाउने अमेरिकी अडान दोहो¥याउनु भयो । रुसले इरानको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिने भनी सार्वजनिक भएका केही प्रतिवेदनहरूलाई भान्सले अस्वीकार गर्नुभएको छ । उहाँले यस्तो विषय अमेरिकी सरकारको हालको योजनामा नरहेको र इरानी पक्षले पनि यसमा चासो नदेखाएको प्रष्ट पार्नुभयो ।
१८. ओमानको खाडीमा अमेरिकी सेनाद्वारा इरानी तेल ट्याङ्कर नियन्त्रणमा लिई खानतलासी
ओमानको खाडीमा अमेरिकी सेनाले इरानी झण्डावाहक एक व्यापारिक तेल ट्याङ्करलाई नियन्त्रणमा लिई खानतलासी गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम) ले बुधवार सो जानकारी दिएको हो । सेन्ट्रकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी ३१ औँ मरिन एक्सपिडिसनरी युनिटका मरिन कमान्डोहरूले एमटी सेलेस्टियल सी नामक तेल ट्याङ्करमा बोर्डिङ गरी खानतलासी गरेका हुन् । उक्त जहाजले अमेरिकी नाकाबन्दीको उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ जान खोजेको आशंका गरिएको थियो । अमेरिकी सेनाले जहाजको खानतलासी गरेपछि चालक दललाई मार्ग परिवर्तन गर्न निर्देशन दिँदै सो ट्याङ्करलाई मुक्त गरिदिएको छ । सेन्ट्रकमले नाकाबन्दीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने क्रममा हालसम्म ९१ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराइएको समेत उल्लेख गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ स्थगित गरे पनि जारी युद्धविरामका क्रममा इरानविरुद्धको वृहत्तर नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताउनुभएको थियो ।
१९. नेटो अभियानअन्तर्गत जर्मनीले टर्कीमा ‘प्याट्रियट’ रक्षा प्रणाली तैनाथ गर्ने
क्षेत्रीय तनावका बीच टर्कीको वायु रक्षा प्रणालीलाई सुदृढ तुल्याउने उद्देश्यका साथ जर्मनीले नेटो अभियानअन्तर्गत टर्कीमा ‘प्याट्रियट’ वायु रक्षा प्रणाली तैनाथ गर्ने भएको छ । टर्कीको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएअनुसार आगामी जुन महिनादेखि ६ महिनाका लागि यो प्रणाली परिचालन गरिनेछ । रक्षा मन्त्रालयका प्रवक्ता जेकी अक्तुर्कले दिएको जानकारीअनुसार जर्मनीको यो प्रणालीले हाल टर्कीमा तैनाथ नेटोको अतिरिक्त प्याट्रियट प्रणालीमध्ये एकलाई प्रतिस्थापन गर्नेछ । यो प्रणालीले टर्कीमा पहिलेदेखि नै रहेको स्पेनी प्याट्रियट प्रणालीसँग समन्वय गरी कार्य गर्नेछ । दक्षिण–पश्चिमी शहर इज्मिरस्थित एक सैन्य आधारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अक्तुर्कले वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै नेटो सहयोगी राष्ट्रहरूसँगको समन्वयमा यो तैनाथीको निर्णय लिइएको स्पष्ट पार्नुभयो ।
२०. परिवारसँगको पुनर्मिलनका लागि सीमा नाका खुला गर्न गजाका महिलाहरूको माग
गजापट्टीमा अड्किएका दर्जनौँ प्यालेस्टिनी महिलाहरूले विदेशमा रहेका आफ्ना पतिहरूसँग पुनर्मिलनका लागि सीमा नाकामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न माग गर्दै प्रदर्शन गरेका छन् । मध्य गजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा भेला भएका प्रदर्शनकारीहरूले सीमा नाका खोल, पतिसँग बस्न र शान्तिपूर्ण जीवन बिताउन पाउनु हाम्रो अधिकार हो तथा गजाका महिलाहरूको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी २८ वर्षीया गदिर अल–अहमदले आफू र आफ्ना छोराछोरी स्विडेनमा रहेका पतिसँग जान चाहेको बताइन् ।
२१. पूर्वी टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) काअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महशुस गरिएको थियो । प्राधिकरणले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्रविन्दु बट्टालगाजी जिल्लामा जमिनको सतहबाट ७.०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का मालत्याका साथै वरपरका अन्य छिमेकी प्रान्तहरूमा पनि महशुस गरिएको थियो ।
२२. फ्रान्सको लियोनमा लागुऔषध विरुद्धको कारबाहीः १ हजार सुरक्षाकर्मी परिचालन, ६५ जना पक्राउ
फ्रान्सेली अधिकारीहरूले देशको दोस्रो ठूलो महानगरीय क्षेत्र लियोनमा लागुऔषध तस्करी र त्यससँग सम्बन्धित हिंसा नियन्त्रण गर्न व्यापक सुरक्षा कारबाही शुरु गरेका छन् । ठूलो स्तरको अपरेसनमा करिव १ हजार प्रहरी र अर्धसैनिक सुरक्षा बल (जेन्डरम्स) परिचालन गरिएको छ । लागुऔषध ओसारपसार र यसका कारण बढ्दो आपराधिक घटनाप्रति सरकारले गम्भीर चासो देखाउँदै यो कदम चालेको हो । रोनका प्रिफेक्ट एटिएन गुयोटकाअनुसार यस अन्तर–मन्त्रालय कारबाहीमा प्रहरी, भन्सार, धोखाधडी नियन्त्रण दस्ता र सार्वजनिक वित्त विभाग जस्ता राज्यका विभिन्न निकायहरूलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूले प्रहरी क्षेत्रका १७६ र जेन्डरमरी क्षेत्रका २४ गरी कुल २०० वटा चेकपोइन्टहरू खडा गरी कडा निगरानी गरिरहेका छन् । हालसम्मको कारबाहीमा ६५ जना संदिग्धलाई पक्राउ गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। यस क्रममा करिब १०० किलोग्राम लागुऔषध (गाँजा) र ७ वटा हतियार समेत बरामद गरिएको छ ।
२३. राउल क्यास्त्रो विरुद्धको अभियोगपछि ट्रम्पको भनाइः ‘क्युवासँगको तनाव बढ्ने छैन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाली क्रान्तिका नेता राउल क्यास्त्रो विरुद्ध अमेरिकी अदालतमा अभियोग दर्ता भएपनि क्युवासँगको तनाव नबढ्ने बताउनुभएको छ । क्यारिबियन क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत पुगेको र क्यास्त्रोमाथि अभियोग लागेको पृष्ठभूमिमा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले तनाव नबढ्ने बताउनु भयो । त्यसको आवश्यकता नै नरहेको उहाँको भनाइ छ । अमेरिकी साउदर्न कमान्डले निमिट्ज क्यारियर स्ट्राइक ग्रुप क्यारिबियन क्षेत्रमा आइपुगेको घोषणा गरेलगत्तै ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो । उक्त स्ट्राइक ग्रुपमा विमानवाहक युद्धपोत, एयर विङ र कम्तीमा एउटा गाइडेड–मिसाइल डिस्ट्रोयर संलग्न छन् ।
२४. सांसदहरु भन्छन्, ‘विस्थापित सुकुम्बासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो’
राष्ट्रिय सभाका सांसदहरुले सरकारले काठमाडौंको सुकम्बासी बस्तीबाट हटाइएका नागरिकहरुलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्युनतम व्यवस्था समेत नगरिकन राखेको आरोप लगाएका हुन् । दुवै समितिले नागार्जुनको ईचङ्गुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विस्थापित परिवारको अवस्था दयनिय देखिएको सांसदहरुको भनाई छ । बैठकमा सांसदहरुले सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानमाथि तिब्र असन्तुष्टि जनाए । वैकल्पिक पुनस्र्थापनाविना डोजर चलाइएको उनीहरुको आरोप छ । सर्वोच्च अदालतको आदेश विपरित अझै पनि सुकम्बासी बस्तीमा डोजर चलाउने अभियान चलिरहेको भन्दै उनीहरुले रोक्न सरकारसंग माग गरे । वैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुम्बासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको बताउनु भयो ।
२५. ‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुरु, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य
महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम ‘१०० वोमन इन विजनेस’को औपचारिक रुपमा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा ‘१०० वुमन इन विजनेस’को शुभारम्भ गरिएको हो । फरक–फरक पृष्ठभुमिका १०० जना महिलाहरूलाई एउटै टिममा आवद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्ने यस व्यवसायिक सहकार्यको उद्देश्य रहेको सिस्टरहुड क्लोथिङकी अञ्जना शाहीले बताउनु भयो । महिलाहरुबीच व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको शुरुवात गरिएको श्रेष्ठको भनाइ छ । उहाँकाअनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गरिनेछ ।
२६. अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीवार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार सम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताउनुभयो । अब कुनैपनि नागरिकले आफूले लिन चाहेको सेवाबारे जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने समेत उहाँले दाबी गर्नुभयो उहाँका अनुसार टाइम कार्ड लागू भएसँगै विभागमा कार्यरत कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
२७. भिजिट भिसाको नाममा भइरहेको विकृति र विसंगति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी
अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ । बिहीवार ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले भिजिट भिसाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको उल्लेख गर्नुभयो । उहाँले अध्यागमनसँग सम्बन्धीत समस्याहरु अध्यागमको कार्यशैली र कानून कार्यान्वयनको कमजोरीको कारण उत्पन्न हुने गरेको भन्दै त्यसतर्फ अध्यागमन सचेत भएर लागेको समेत बताउनु भयो । उहाँले विभागले विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी गर्न थालेको बताउनुभयो ।
२८. एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ । सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै उहाँले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताउनुभएको हो । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । उहाँले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनि प्रश्न समेत गर्नुभयो । सांसद राईले भन्नुभयो,‘यदि कोही मानिसले बदमासी ग¥योभने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले् सयौ मानिसहरुलाई बसाँई उठाईसक्यो । सयौँ मानिसहरुले दाल, भात, तरकारी खान पाएनन । यसबारेमा सरकार किन सिरियस हुँदैन ? म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरुमा सबै भन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको बाँदर छ ।
२९. प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
विपक्ष दलहरुले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र साहसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालसँग माग राख्दै विपक्ष दलका सांसदहरुले उठेर अवरोधगरेपछि बैठक स्थगित गरिएको हो । सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताउनु भयो ।
३०. प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राख्नु भएको हो । संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो,‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु । मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरु राखेका थिए ।
३१. प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गर्नुभयो । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो ।
उहाँले भन्नुभयो,‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है ।
३२. प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै विपक्ष दलद्वारा संसद बैठक अवरुद्ध
विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्ष दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । बिहीवार हरेक महिनाको शुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् । सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताउनु भयो ।
३३. सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छः काँग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहनुभएको आरोप लगाएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाउनुभएको हो । उहाँले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाईनेतर्फ समेत ध्यानाकर्षण गराउनु भयो । उहाँले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भएपनि प्रश्न समेत गर्नुभयो ।
३४. सरकारले बाल अधिकार परिषद खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छः इन्दिरा रानामगर
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ । बाल अधिकार संरक्षण, बालबालिकाको हक अधिकार जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनैपनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चिन नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।
३५. सरकारले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्नुपर्दछः डा. तोसिमा कार्की
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाई थियो । उहाँले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रुपमा असफल भएको हुने तथ्य पनि उल्लेख गर्नुभयो ।
३६. सरकारसँग सांसद अधिकारीको मागः किसानले १५ दिनभित्र भुक्तानी अनिवार्य रुपमा पाउने गरी कानूनी व्यवस्था गरियोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । रोल...
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गर्नुभएको हो । सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले किसानले समयमा आफनो वस्तुहरुको उचित मूल्य नपाउँदा युवाहरु उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो,‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँशुले माटो भिजिरहेको छ । मकवानपुरका दुध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकि छ । यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय ।
३७. कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई विज्ञहरुको सुझाव
अर्थ समितिमा बजेटमाथिको छलफलमा विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन भ्याट दर १३ प्रतिशतबाट घटाउन, व्यक्तिगत आयकर छुटको सीमा बढाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योगमैत्री वातावरण कमजोर बनेको भन्दै आगामी बजेटमार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनुभएको हो । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा करविद् रुप खड्काले अर्थतन्त्रमा माग वृद्धि र सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न मूल्य अभिवृद्धि कर (भ्याट) को दर घटाउने विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भयो । अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा उहाँले वर्तमान १३ प्रतिशत भ्याट दरलाई घटाएर १२, ११ वा १० प्रतिशतसम्म ल्याउनु उपयुक्त हुने बताउनु भयो ।
३८. निजी लगानी आकर्षित गर्ने खालको बजेट आउछः अर्थसचिव उपाध्याय
अर्थसचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याउने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उहाँले सरकारले मात्र खर्च गरेर उत्पादनशीलता वृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रको लगानी आकर्षित गर्ने ‘उत्प्रेरक’ भूमिकामा केन्द्रित भएर बजेट ल्याइने बताउनु भयो । उहाँकाअनुसार सरकारको प्रत्येक एकाइ खर्चले निजी लगानीलाई ‘क्राउड इन’ गर्दै उत्पादन र रोजगारी सिर्जनामा योगदान पु¥याउनुपर्छ । विगतमा सिमेन्ट उद्योगसम्म पहुँच मार्ग र विद्युत् प्रसारण लाइन पु¥याउने सरकारी नीतिकै कारण नेपाल सिमेन्ट र विद्युतमा आत्मनिर्भर बन्न सफल भएको उदाहरण दिँदै उहाँले यस्ता सहजीकरणकारी नीति अन्य क्षेत्रमा पनि विस्तार गर्नेगरी सरकारले बजेटमा काम गरिरहेको बताउनु भयो ।
३९.घरेलु मैदान र दर्शकको साथले टोलीको मनोबल उच्च छ, भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्यः कप्तान निरुता ठगुन्ना
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् । छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबीचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो बनेको उनले उल्लेख गरिन् । टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुन्नाले तयारी निकै राम्रो भइरहेको बताइन् । अनुभवी र युवा खेलाडीहरूको समिश्रणले टिममा राम्रो कम्बिनेसन मिलेको र आफ्नो उत्कृष्ट प्रदर्शन मैदानमा देखाउन आतुर रहेको बताइन् । घरेलु मैदानमा खेल्न पाउनु टोलीका लागि ठूलो अवसर र ऊर्जाको स्रोत भएको उनले बताइन् । नियमित रूपमा सोही मैदानमा अभ्यास गरिरहेकाले पनि खेलाडीहरूलाई वातावरणसँग घुलमिल हुन सहज भएको उनको भनाइ छ । नयाँ जिम्मेवारी र टोलीको नेतृत्वका विषयमा बोल्दै निरुताले कप्तानको रूपमा आफूलाई कुनै दबाब महशुस नभएको स्पष्ट पारिन् । टिमका सबै सदस्यहरू लामो समयदेखि सँगै खेल्दै आएका र प्रशिक्षकहरूको पूर्ण सहयोग रहेकाले पनि नेतृत्व गर्न सहज भएको उनले बताइन् । हाल टोलीलाई मुख्य प्रशिक्षकसहित तीन जना प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् ।
४०. प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा आउनुहुन्छः रवि लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ? भनेर प्रश्न गरेका थिए । जवाफ सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागि हुने बताएपनि कहिले सहभागि हुनेबारे खुलाउनुभएन । उहाँले भन्नुभयो, ‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ । आएपछि तपाईंहरुले सबै कुरा थाहा पाइहाल्नुहुन्छ । पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि । हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि ।’फरक प्रसंगमा बोल्दै सभापति लामिछानेले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्नुभयो ।
४१. अबको समय युवाकोः अभिनेता उप्रेती
अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको घेरालाई फराकिलो बनाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । एक कार्यक्रममा बोल्दै उहाँले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताउनु भयो । उप्रेतीले कलाकार र पत्रकार एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्नुभयो । कलाकारलाई पत्रकारको र पत्रकारलाई कलाकारको अभाव खट्किने भन्दै उहाँले दुवै पक्षबीचको सम्बन्ध कहिलेकाहीँ उतारचढावपूर्ण देखिए पनि यो अटुट रहने धारणा व्यक्त गर्नुभयो । देशको वर्तमान अवस्था र व्यवस्था परिवर्तन भइरहेको सन्दर्भमा अबको समय युवाको भएको उहाँको तर्क छ । राजनीतिमा युवा शब्दको दुरुपयोग भएकोप्रति संकेत गर्दै उहाँले चलचित्र क्षेत्रमा भने युवाहरूको जोश र जाँगरले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनु भयो ।
४२. कलाकार र पत्रकार एकअर्काका परिपूरकः अभिनेतृ मानन्धर
अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काको परिपूरक रहेको बताउनुभएको छ । विगत लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रलाई दर्शकसम्म पु¥याउने मुख्य माध्यम नै सञ्चार जगत भएको उल्लेख गर्नुभयो । अभिनेतृ मानन्धरले ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातदेखि नै चलचित्र र पत्रकारिता क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको बताउनु भयो । पत्रकार र कलाकारको सम्बन्धलाई ‘प्रहरी र जनता’ को मित्रतासँग तुलना गर्दै उहाँले पत्रकारहरू नै चलचित्र र दर्शकबीचको सेतु भएको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि क्षेत्रको स्वरूप र छवि जनतामाझ कस्तो बनाउने भन्ने कुरा पत्रकारितामा निर्भर रहने धारणा राख्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij