२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिटेन्स सेवामा ६ वर्ष पूरा गरेको छ ।
एफवानसफ्ट ग्रुपअन्तर्गत सञ्चालित कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै डिजिटल प्रविधि, विश्वसनीय सेवा र ग्राहक केन्द्रित नवप्रवर्तनमार्फत नेपालको रेमिटेन्स क्षेत्रमा परिवर्तनकारी भूमिका निर्वाह गर्दै आएको जनाएको हो ।
कम्पनीका अनुसार हाल २०० भन्दा बढी देश र ६० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारमार्फत सेवा प्रवाह भइरहेको छ । सेवाग्राहीले १ करोड ९ लाखभन्दा बढी ईसवा वालेट प्रयोगकर्तामाझ प्रत्यक्ष वालेट ट्रान्सफर, बैंक खातामा रकम पठाउने तथा देशभर रहेका ११ हजारभन्दा बढी क्यास पिकअप केन्द्रमार्फत रकम प्राप्त गर्न सक्ने सुविधा पाउँदै आएका छन् ।
विगत ६ वर्षमा कम्पनीले लाखौँ रेमिटेन्स कारोबार सम्पन्न गर्दै नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय समावेशीकरणमा योगदान पुर्याएको जनाएको छ । जीसीसी राष्ट्र, युरोप, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालगायतका देशमा रहेका नेपाली समुदायमाझ कम्पनीले आफ्नो उपस्थिति विस्तार गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला ले डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्दै परम्परागत नगदमा आधारित प्रणालीलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न कम्पनीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले आगामी दिनमा अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्दै थप नवीन डिजिटल वित्तीय सेवामार्फत विश्वभर रहेका नेपालीलाई प्रभावकारी सेवा दिने लक्ष्य रहेको उल्लेख गरे ।
कम्पनीले विदेशबाट पठाइएको रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त रकम मोबाइल रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट, टेलिभिजन शुल्क भुक्तानीलगायत ६ हजारभन्दा बढी डिजिटल सेवामा प्रयोग गर्न सकिने व्यवस्था रहेको कम्पनीको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij