Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

निजीले गर्यो सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द, नेपाल टेलिकमले के गर्दैछ?

निजीले गर्यो सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द, नेपाल टेलिकमले के गर्दैछ?


  • 652
    Shares

    निजीले गर्यो सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द, नेपाल टेलिकमले के गर्दैछ?
    images

    काठमाडौं । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक संघ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बहस भइरहेको छ । संघले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ।

    मध्यपूर्वको तनावपछि चुलिएको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिका कारण इलेक्टोनिक चिपसेटको मूल्य बढेको र यसबाट सेवा प्रदायकको सञ्चालन खर्चसमेत उठ्न नसकेको भन्दै संघले सुपथ मूल्यका प्याकेज बन्द गर्ने निर्णय गरेको थियो।

    संघको निर्णयसँगै निजी इन्टरनेट सेवा प्रदायकले सस्ता प्याकेजको बिक्री बन्द भएको घोषणा गरेका छन् । इन्टरनेट दैनिक जनजीवनको हिस्सा बनिरहँदा एक्कासि सुपथ मूल्यका प्याकेज बन्द हुँदा न्यून वर्ग इन्टरनेटको सुविधाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने आशंका बढेको छ।

    यही सन्दर्भमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का प्रवक्ता डा. कमल लामिछानेलाई के टेलिकमले पनि सुपथ मूल्यका साना प्याकेज बन्द गर्दैछ भनेर सोधिएको जिज्ञासामा भने, ‘टेलिकमले ग्राहकलाई जुन प्याकेज बिक्री गरिरहेको छ, त्यो निरन्तररूपमा चल्छ । अहिले मूल्य बढाउने सोच छैन, टेलिकमले ग्राहकलाई उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरको छ।’

    अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले सुपथ मूल्यमा वार्षिक र दुई वर्षको इन्टरनेट प्याकेज बिक्री गरिरहेको उनको दाबी छ। टेलिकमको फाइबर इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउँदै आएको कम्पनीले जनाएको छ । एक महिने र तीन महिने प्याकेजहरू पनि सञ्चालनमा रहेका छन्।

    ‘अहिले उपभोक्तालाई इन्टरनेट ब्यान्डविथ जे–जति दिएछौँ, त्योभन्दा बढी नै पाउनुहुन्छ, त्योभन्दा कम हुँदैन । बिलिङको पाटो पनि पारदर्शी छ,’ प्रवक्ता लामिछानेले भने । अझ दुई वर्षको प्याकेज एकैचोटी खरिद गर्दा एक वर्षको प्याकेजमा पाउने सुविधामा झन्डै १५ प्रतिशत सुहलियत उपलब्ध गराइएको टेलिकमको दाबी छ।

    अहिले टेलिकमले घरायसी ग्राहकलाई एक वर्षका लागि ५० एमबिपिएसको इन्टरनेट आठ हजार ४९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । दुई वर्षको सेवा एकैपटक लिँदा उक्त ग्राहकले जम्मा १४ हजार ९९९ रुपैयाँ मात्र तिर्नुपर्छ । एकैपटक वार्षिक शुल्क भुक्तानी गर्दा दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ।

    टेलिकमले ७५ एमबिपिएसको इन्टरनेटका लागि वार्षिक १० हजार ४९९, १०० एमबिपिएसका लागि ११ हजार ४९९, एक सय ५० एमबिपिएसका लागि १२ हजार ९९९ र २०० एमबिपिएसका लागि १६ हजार ४९९ शुल्क तोकेको छ । गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकको संख्या चार लाख दुई हजार ११० पुगेको छ।

    इन्टरनेट जडान र मर्मतसम्भारलाई थप व्यवस्थित बनाइएको टेलिकमले जनाएको छ । ‘इन्टरनेट जडान गर्न चाहने ग्राहकले कार्यालयमा आउनुपर्ने छैन, सिधैँ १९८ मा फोन गरेर ‘डिमान्ड’ लिन सक्नुहुन्छ,’ प्रवक्ता लामिछानेले भने, ‘उपभोक्तालाई चुस्त सेवा दिन सार्वजनिक बिदा तथा चाडपर्वमा पनि काउन्टर खुला राखेका छौँ।’

    हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झण्डै ४०० पालिका र पालिकाका केन्द्रमा पुगेको छ । यो सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ।

    ‘राष्ट्रिय आवश्यकताको हिसाबले लाभ र लागत नहेरी दुर्गम र अतिदुर्गम स्थानमा सेवा विस्तार गरिरहेका छौँ,’ प्रवक्ता लामिछानेले भने, ‘फाइबर इन्टरनेट नपुगेको स्थानमा ‘ब्रोडव्याण्ड इन्टरनेट’ सेवा उपलब्ध गराइरहेका छौँ। ’

    फाइबर इन्टरनेटसँगै मोबाइल डेटा र विभिन्न छुट हिसाब गर्दा उपभोक्तालाई इन्टरनेटको लगानी अत्यन्त न्यून पर्न जाने कम्पनीको दाबी छ।

    टेलिकमको फाइबरबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन हेर्न, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई ‘थ्री प्लस वान’ नामाकरण गरेको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - ०८:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij