२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् ।
उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरैजसो सम्बन्धित रहेको उनले बताएका छन् । ऐन अनुसार बजेट सार्वजनिक हुनु भन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
अर्थमन्त्री वाग्लेले वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र त्यसपछि अर्थ मन्त्रालयले अन्तिम रूप दिने काम तिब्र बनाउने बताएका छन् । बजेट निर्माण अन्तिम क्षणसम्म चल्ने उल्लेख गर्दै उनले जेठ १५ गते बजेट प्रश्तुत हुने दिन मध्यरातसम्म समेत बजेट लेख्ने काम जारी रहने अनुभव सुनाएका छन् ।
उनले वर्तमान सरकारले बजेट प्रक्रिया शुरु भइसकेपछि जिम्मेवारी सम्हालेकाले परामर्श र तयारीका लागि समय केही कम भएको स्वीकार गर्दै पनि सांसदहरूका चासो र सुझावलाई सकेसम्म समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij