२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ।
बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत नयाँ सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
नयाँ प्रणाली लागू भएसँगै अब प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डमार्फत नागरिक र लक्षित लाभग्राहीलाई सामूहिक रूपमा स्वास्थ्य बीमामा आबद्ध गर्न तथा नवीकरण गर्न सक्नेछन्।
त्यस्तै, स्थानीय तहले दर्ता सहयोगीमार्फत वा आफैँले डिजिटल प्रणालीबाट योगदान रकम भुक्तानी गर्न र त्यसको अभिलेख व्यवस्थापन गर्न सक्नेछन्।
बोर्डका प्रवक्ता डा. पवनकुमार साहका अनुसार यस सेवाले स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै समयसमेत बचत गर्ने अपेक्षा गरिएको छ।
बोर्डले नयाँ प्रणालीको अधिकतम उपयोग गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सबै प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij