२०८२ माघ १४ गते बुधवार
हेटौंडा । राष्ट्रिय सभा सदस्यको लागि भएको उपनिर्वाचनमा मतदान जारी छ । ९ बजेबाट हेटौडामा सुरु भएको मतदान आज दिउसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएपछि बेलुका ५ बजेबाट मतगणना सुरु हुनेछ । मतदान स्थल भुटनीदेवी माविमै मतगणना हुनेछ । मतगणनाको नतिजा भर्चुअल जुम प्रविधिमार्फत गरिनेछ ।
निर्वाचनमा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । देवकोटालाई कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षको साथ छ । नेमकिपाका कृष्णबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन् ।
एमालेमा एकताको प्रयास भइहेका बेला नेपाल पक्षले देवकोटालाई भोट हाल्ने बताएपछि एमालेमा विवाद बढेको छ । यस अघि विवाद उत्कर्षमा पुगेका बेला कांग्रेस, माओवादी र एमालेको नेपाल पक्षले देवकोटालाई साझा उम्मेदवार बनाएका थिए । पछि एमालेमा विवाद साम्य हुने क्रम बढे पनि नेपालले देवकोटालाई नै आफ्नो पक्षले भोट हाल्ने बताउँदै आएका छन् । तर, अध्यक्ष केपी ओलीले एमालेका उम्मेदवार बादललाई भोट नहाले कारवाही गर्ने चेतावनी दिएका छन् ।
निर्वाचनमा वागमति प्रदेशका प्रदेशसभा सदस्य र स्थानी तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मात्र मतदाता हुनेछन् ।
निर्वाचनमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ मतदाता हुन्छन् । जसमा प्रदेशसभाका एक सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार एक सदस्यको १८ हुन्छ । यही मतभारको आधारमा नतिजा आउनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij