२०८२ माघ २४ गते शनिवार
बाबुराम भट्टाराईले गोरखा–२ मा लेखनाथ न्यौपानेलाई धोका दिन सक्दैनन् । यो कुनै भावनात्मक अनुमान मात्र होइन, यो राजनीति र संघर्षको गहिरो यथार्थ हो। किनकि लेखनाथ नौपाने बाबुरामका लागि केवल एक उम्मेदवार होइनन्, उनी एक यात्रा हुन्, एक इतिहास हुन्, र एक वैचारिक निरन्तरता हुन्।
लेखनाथ आकस्मिक रूपमा राजनीतिमा आएका पात्र होइनन्। उनी बाबुराम भट्टाराईकै विचार, मार्गदर्शन र नेतृत्वमा हुर्किएका चेला हुन्। राप, ताप, हावा, हुरी र आधीको घेराभित्र संघर्ष गर्दै खारिएका तरबार हुन् लेखनाथ। आन्दोलनको कठिनतम् घडीमा जो टिक्छ, जो भाग्दैन, जो डराउँदैन—त्यही पात्र भविष्यका भरोसा बन्छन्। लेखनाथ त्यही श्रेणीका नेता हुन् राजनीतिमा धेरै कुरा लेनदेनका आधारमा हुन्छन्।
आज मित्र, भोलि विरोधीः आज साथ, भोलि अलग—यस्ता दृश्य नेपाली राजनीतिमा नयाँ होइनन्। तर युद्ध र संघर्षको मैदानबाट निस्किएका सम्बन्धहरू त्यति सजिलै टुट्दैनन्। त्यहाँ साझा जेल जीवन छ, तेहा साझा भूमिगत दिनहरू छन्, तेहा साझा सपना र साझा घाउहरू छन्। बाबुराम र लेखनाथबीचको सम्बन्ध त्यही त्याग, तपस्या र बलिदानको रेखाले कोरिएको हो।
आफ्नो सन्तान जहाँ गए पनि, जे भए पनि, जस्तो भए पनि—सन्तानप्रतिको माया अरू कसैले गर्न सक्दैन। लेखनाथ न्यौपाने बाबुरामले हुर्काएको वैचारिक सन्तान हुन्। के बाबुरामको मनले आफ्नै सन्तानलाई सिध्याएर परायालाई अँगालो हाल्न सक्छ ? के जीवनभर अवसरवादविरुद्ध लडेको बाबुराम केही क्षणिक स्वार्थ, केही उधारो आश्वासन र केही चम्किला नाराले फकिने नेता हुन् ?
होइनन्। कहिल्यै होइनन्।
बाबुराम भट्टाराई त्यस्तो नेता हुन्, जसले सत्ता भित्र पनि देखेका छन् र सत्ता बाहिर पनि भोगेका छन्। उनले सत्ता भन्दा ठूलो कुरा सिद्धान्त हो भन्ने कुरा आफ्नै जीवनबाट प्रमाणित गरेका छन्। आज लेखनाथलाई समर्थन नगर्नु भनेको केवल एउटा चुनावी रणनीति बदल्नु होइन, यो आफ्नै वैचारिक इतिहासमाथि प्रश्नचिन्ह लगाउनु हो। त्यो जोखिम बाबुरामले लिँदैनन्।
गोरखा–२ कुनै साधारण निर्वाचन क्षेत्र होइन। यो क्रान्ति, परिवर्तन र चेतनाको भूमि हो। यही भूमिमा जनताको आशा र विश्वास जोडिएको छ। यही भूमिमा बाबुराम र लेखनाथले सँगै सपना देखेका थिए—शोषणविहीन समाजको, समानताको र न्यायको। आज त्यही सपना बोक्ने पात्र लेखनाथ न्यौपाने हुन्।
के बाबुरामले आफ्नो विगतलाई अस्वीकार गरेर भविष्य निर्माण गर्न सक्छन् ?
के आफ्नै संघर्षबाट जन्मिएको पात्रलाई छाडेर आयातित विकल्प अँगाल्न सक्छन् ?
उत्तर स्पष्ट छ—सक्दैनन्।
किनकी बाबुराम भट्टाराई कुनै उधारो लालीपप र कुनै उधारो सपनामा बहकिने नेता होइनन्। उनी युद्ध र संघर्षको मैदानबाट खारिएका पात्र हुन्। र यस्ता पात्रहरू आफ्ना चेला, आफ्ना सहयोद्धा र आफ्ना वैचारिक सन्तानलाई धोका दिँदैनन्।
त्यसैले गोरखा–२ मा बाबुराम र लेखनाथको नाता केवल राजनीतिक समीकरण होइन, यो संघर्षको निरन्तरता हो, बलिदानको सम्मान हो र इतिहासप्रतिको इमानदारी हो। यही कारणले बाबुराम भट्टाराईले लेखनाथ न्यौपानेलाई धोका दिन सक्दैनन्, दिने छैनन्। उहाको पूर्ण समर्थन लेखानाथलाई हुनेछ र गर्नुहुन्छ पनी
प्रकाश लामिछाने
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij