२०८२ माघ २० गते मंगलवार
काठमाडौं । चुनावमा बहुमत ल्याउने ध्येय बोकेको पार्टीका मुख्य कमाण्डर नै अचानक ‘गुमनाम’ हुँदा चासो र चिन्ता उत्पन्न हुनु स्वभाविक हो । सामाजिक सञ्जालमा कतिपयले व्यक्तिहरुले अनेकखाले ‘षडयन्त्रका सिद्धान्त’ आविस्कार गरिसकेका छन् ।
केहीले त उनी राजनीतिक नजरबन्दमा रहेको हुनसक्ने भनेर समेत लेख्न भ्याए । तर, निकट स्रोतका अनुसार रवि बाहिर ननिस्किनुको मुख्य कारण खुट्टाको चोट नै हो ।
झापामा भएको रास्वपाको जनसभास्थलमा जाने क्रममा पर्खालमा ठोक्किएर रविलाई खुट्टामा चोट लागेको थियो । त्यसबेला सामान्य ठानिएको चोटले उनलाई अहिलेसम्म दुख दिइरहेको छ । झापाबाट चितवन र त्यसपछि काठमाडौ आएका उनी अहिलेसम्म राम्ररी हिँडडुल गर्न सकेका छैनन् ।
घुँडाभन्दा मुनि लागेको चोट बढेर भित्री तहमा इन्फेक्सन भएपछि रवि अस्पताल नै भर्ना हुनु परेको थियो । उनी १३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भएर तीन दिनपछि डिस्चार्ज भए । त्यसपछि घरमै आराम गरिरहेका छन् ।
घाउ सुधार भइरहे पनि ठिक भइसकेको छैन । चोट लागेको ठाउँमा गहिरो खाल्डो बनेको छ । दिनैपिच्छे डे«सिङका लागि मेडिकल जाने गरेका छन् । निकटस्थका अनुसार उनलाई अहिले शौचालय जान पनि अरुको सहारा चाहिन्छ ।
‘चुनावको मुखमा घाउले धेरै दुख दियो, तर अब उहाँ बाहिर निस्किने तयारीमा हुनुहुन्छ,’ निकट स्रोतले भन्यो । रविले आजै चितवन जाने सोच बनाएका थिए । तर, चिकित्सकले नजान सुझाव दिएपछि उनी रोकिएका छन् । तर धेरै दिन रोकिने मुडमा छैनन्। भोली–पर्सीतिरै जानसक्ने बुझिएको छ ।
चितवनमा गएर पनि उनी चुनावी प्रचारमा हिँड्न सक्ने अवस्था भने छैन । तर उनले घरमा बस्नुभन्दा आफ्नो चुनाव क्षेत्रमै गएर रेस्ट गर्ने बताइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij