२०८२ माघ २० गते मंगलवार
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२\८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
खुद ट्रान्सफर ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आयमा पनि सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
विप्रेषणको आप्रवाह बढ्दा यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । विशेषगरी चालु खाता र शोधनान्तर स्थिति बचतमा राख्न विप्रेषणको भूमिका उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालनमा पनि विप्रेषणको प्रभाव परेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij