२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेकपा एमालेको आन्तरिक कलह सुल्झाउने कार्यविधि बनाउन गठित कार्यदलको दोस्रो बैठक साँझ ७ बजे बस्ने भएको छ।
सो कार्यदलको मंगलबार पहिलो बैठक भएको थियो। सो बैठकमा पहिले कार्यदलको कार्यसूची, कार्यविधि र आचारसंहिता बनाएर एजेन्डागत काम थाल्ने निर्णय गरिएको थियो। त्यसैगरी पार्टीमा आपसी विवाद बढाउने गरी अभिव्यक्ति नदिने र त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको थियो। कार्यदलका सदस्य रघुजी पन्तले आज बुधबार साँझ ७ बजे सिंहदरबारमा बैठक बस्ने बताए।
फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरेपछि नेकपा एमालेभित्र विवाद चर्केको थियो। त्यसको विरोध गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो।
नेपाल पक्षले अदालतको फैसलाअनुसार पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण हुनुअघि अर्थात् २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचना ब्युँताउनुपर्ने बताउँदै आएका छन्।
सो विषयलाई अस्वीकार गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले केहि दिनपहिले सो प्रस्तावमा सिद्धान्ततः सहमति जनाएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक गृहकार्यका लागि कार्यदल गठन गरिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij