२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले बिकाश गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गरेका हुन् ।
भृकुटीमण्डप स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा अर्यालले सो प्रणालीको उद्घाटन गरेका छन् । ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैको यथोचित भूमिकाको अपेक्षा गरिएको बताएका छन् ।
मन्त्री अर्यालले डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताएका छन् ।
विभागले सुरु गरेको प्रणाली अनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरे जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ ।
देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरूबाट सो प्रणाली लागु गरिएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई प्रभावकारी बनाउने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij