२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरुको व्यवस्थापनमा सरकार सकरात्मक देखिएको बताएका छन् । बिहीवार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटपछि सञ्चारकर्मीहरुसंँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिंहले रुग्ण ठेक्काहरुमा निर्माण व्यवसायीहरुले चाहेर पनि काम गर्न नसकिरहेको बताएका छन् । विभिन्न ऐन, कानून र नियमहरुले बाधा पु¥याएको, राष्ट्र बैकको ऐनअनुसार खाता संचालनमा समस्या र कालोसूचीमा परेका जेभी पार्टनरहरूको कारणले रुग्ण ठेक्काहरुमा समस्या उत्पन्न भएको बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिएका छन् ।
उनकाअनुसार हाल विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूले ठेक्का अन्त्य गर्ने आशयका सूचना जारी गरिरहेका छ । उनले सार्वजनिक खरिद ऐनको दफा ५९ (८) अन्तर्गत ठेक्का अन्त्य गर्ने प्रावधानलाई निलम्वन वा खारेज गर्नुपर्ने सुझाव दिएको बताए। अध्यक्ष सिंहकाअनुसार अर्थमन्त्री खनालले निर्माण क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिँदै ठेक्का अन्त्यका विषयमा सरोकारवालाहरुसंगको छलफल पश्चात विवेकपूर्ण निर्णय लिने आश्वासन दिएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले ग्यारेन्टी क्लेम बुझाउन नसक्ने अवस्था आउन नदिन, सार्वजनिक निक्षेप सुरक्षित राख्न र आर्थिक गतिविधि अवरुद्ध हुन नदिन पनि पहल गर्ने प्रतिवद्धता जनाउने अध्यक्ष सिंहको भनाई छ ।
सरकारले हाल लामो समयसम्म अलपत्र रहेका आयोजनाहरुको ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको छ । ठेक्का तोड्दा रुग्ण आयोजनाहरुमा निर्माण व्यवसायीहरुलाई सहुलियत दिनुपर्ने महासंघले माग राख्दै आएको छ । यस्तै निर्माण सम्पन्न हुन लागेका आयोजनाहरुमा एक पटकलाई म्याद थप गर्नुपर्ने महासंघको माग छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij