Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मिस नेपालले ताज जितेपछि यस्तो भन्छिन्

मिस नेपालले ताज जितेपछि यस्तो भन्छिन्


  • 2.7K
    Shares

    मिस नेपालले ताज जितेपछि यस्तो भन्छिन्
    images

    मिस नेपालको ताज पहिरिएपछि तीनैजना सुन्दरीसँग गरिएको संक्षिप्त संवाद :

    आजको दिनलाई कसरी लिनुहुन्छ ?

    श्मा : बिहान आँखा खुल्ने बित्तिकै केही पोजेटिभ हुन्छ भन्ने पहिलो कुरा दिमागमा आएको थियो । दिनभर नै म सकारात्मक थिए । आज मेरो जीवनको ठूलो दिन हो भन्ने मनमा लागिरहेको थियो । त्यही भएर आजको लागि म असाध्यै उत्साही थिएँ । आजको मेरो दिन थकानले भरिएको त थियो नै, यहाँ बसिरहँदा त्यो थकान बिर्सिएजस्तो लागेको छ ।

    सुमना : मलाई केही एक सातादेखि नै केही राम्रो भइरहेको छ भन्नेजस्तो महसुस भइरहेको थियो । त्यो भित्री आवाज बलियो ढंगले आइरहेको थियो । आजको रात बिहानैदेखि महत्वपूर्ण छ भन्ने लागेको थियो ।

    करुणा : अडिसनदेखि नै म मिस इन्टरनेसनल नेपाल हुन्छु भनेर सोचेकी थिएँ । ट्रेनिङ सेसनहरुमा पनि मैले साथीहरुलाई दोहोर्‍याएर यो कुरा भनिरहेकी हुन्थें । यो ताज लगाउँदा मलाई सपनाजस्तो लागेको थियो र सपना पूरा भयो भन्ने लाग्यो ।

    तपाईंको लागि यो ताज के हो ?

    श्मा : मेरो लागि यो ताज मात्र नभएर उत्तरदायित्व पनि हो । जसरी हाम्रा पूर्वमिस नेपालहरुले आफ्ना प्रोजेक्ट अघि बढाएर राम्रोसँग नेपालको प्रतिनिधित्व गर्नुभयो, उहाँहरुकै ‘ब्युटी विथ पर्पस’ले कुनै गाउँमा पुल, स्वास्थ्य चौकी र बिजुली पुगेको छ । त्यही भएर म यसलाई उत्तरदायित्व मान्छु । यो प्रोजेक्ट र लिगेसीलाई अघि बढाउनुपर्छ भन्ने कर्तव्य ममा आएको छ ।

    सुमना : मिस अर्थको ताजलाई हामी अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्दैछौं । यो प्रतिस्पर्धा र क्राउनमार्फत वातावरण संकटबारे हाम्रो आवाज उठाउनेछौं । चाँडै यो परियोजना गर्नका लागि म उत्साहित छु ।

    करुणा : लिगेसीको कुरा गर्दा यसअघि प्रसिद्धिले जापानमा राम्रो प्रस्तुति दिनुभएको थियो । जापानमा प्रस्तुति दिन म उत्साहित छु । दुई महिनापछि हाम्रो फिनाले हुँदैछ । मैले मनले सोचेको कुरा प्राप्त गरें । धेरै खुसी छु ।

    ओभरनाइट सेलिब्रेटी हुँदा कस्तो महसुस गर्नुभएको छ ?

    श्मा : म सेलिब्रेटी नै भइसकेको अनुभव भएको छैन । मैले मिस नेपालको जर्नी सुरु गरेदेखि नै मलाई धेरै माया, सपोर्ट आइरहेको थियो । मलाई यो जर्नीमा यति धेरै माया दिनुभएकोमा धन्यवाद छ । जतिबेला मैले विश्व मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिरहेको हुन्छु, त्यतिबेला पनि यस्तै माया र साथ पाइराखुँ ।

    नेपाललाई यो प्लाटफर्मबाट कसरी चिनाउने धोको छ ?

    श्मा : प्राकृतिक र सांस्कृतिक सम्पदामा हाम्रो देश धनी छ । हाम्रो देशमा सगरमाथा छ, गौतम बुद्ध हुनुहुन्छ । हाम्रो देशमा सांस्कृतिक सम्पदा पनि छ । मलाई नेपालको मान्छेको न्यानो आतिथ्यता र दयालुपनलाई पनि विश्वभर चिनाउनु छ ।

    सुमना : यसको उत्तर मैले आजको दिनमै दिन नपाउँला । तर अहिलेको जल्दोबल्दो मुद्दामा आफू स्वास्थ्य व्यवसायी भएको नाताले पनि वातावरण र स्वास्थ्य एकअर्कामा अन्तरसम्बन्धित छन् भन्ने लाग्छ । यो क्षेत्रमा काम गर्न आतुर छु । आफ्नो ज्ञान र सीपलाई अझै निखार्नेमा आशावादी छु ।

    श्माजी के गर्दै हुनुहुन्छ ?

    म उद्यमी हुँ । म अहिले आयात निर्यातको व्यापार चलाइरहेकी छु । मैले १२ भन्दा बढी महिलालाई नेपालमै रोजगारको अवसर सिर्जना गरिरहेकी छु ।

    करुणाजी कसरी लामो समयदेखि अस्ट्रेलियामा बसेर नर्सिङ पेशा गरिरहनुभएको छ । मिस नेपाल इन्टरनेसनलको टाइटल जितेपछि नेपालमै बस्ने तयारी छ कि ?

    म अस्ट्रेलियामा रजिस्टर्ड नर्स भएर तीन वर्षदेखि कार्यरत छु । सोचेर नै म आएकी हुँ । सञ्जोग र भाग्यको खेल हो । मेहनत त छँदैछ । अहिलेको लागि योजना भनेको म नेपालमै बस्छु र मेरो प्रोजेक्टतर्फ नै लाग्दैछु । मेरो पूर्ण योजना भनेको नै मिस इन्टरनेसनलमा समय दिएर मेरो देशलाई कसरी प्रस्तुत गरौं भन्ने छ । नेपालमै बसेर काम गर्न चाहन्छु ।

    कतिपयले सुन्दरी प्रतियोगिताको विरोध पनि गरिरहेका हुन्छन्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

    करुणा : विदेशिएको मान्छे, अस्ट्रेलियामा नर्सिङ पेशामा रहेको मान्छे करिअर नै छाडेर मिस नेपालमा कत्तिको भूमिका खेल्न सक्दो रहेछ भनेर त्यही नै प्रमाणित हुन्छ । लाइफस्टाइल र करिअर जुन थियो, प्राज्ञिक र व्यावसायिक रुपमा पनि यी सबै छाडेर म आफ्नो देशमा फर्कन्छु र मिस नेपाल प्लाटफर्म जसले मलाई भ्वाइस दिन्छ, आज मिस नेपाल भैसकेपछि हामीले आज बोलेका धेरै कुरा सुन्नुहुन्छ । एक प्रतिशत मान्छेले परिवर्तन ल्याउन सक्छ ।

    मैले बोल्दा अब त सारा देशले सुन्नुहुन्छ । हामीले कुन विषयमा के बोल्दैछौं भन्ने कुरामा हामी विचारशील हुनुपर्छ । त्यो प्रभाव देखिएको छ । विगतमा हाम्रा मिस नेपालहरुले गर्नुभएको काम उदाहरणीय छ ।

    मिस नेपाल भएपछि तपाईं शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?

    श्मा : मेरो ड्याडी र मेरो ममी असाध्यै सपोर्टिभ हुनुहुन्छ । त्यसैकारण म यहाँ छु । सुरुमा त मनदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई यो स्टेजमा उभिएर उहाँसम्म आइपुग्ने लायक बनाउनुभयो । मिस नेपालको जर्नी सुरु भएदेखि नै मैले धेरै माया पाएको थिएँ । मिडियामा फलो गर्ने, मेसेज गर्ने र कमेन्टबाट प्राप्त प्रोत्साहनले मलाई अघि बढ्न मद्दत गर्‍यो । यो कुराले म मिस नेपाल बन्छु भनेर संकल्प लिन सजिलो भयो ।

    सुमना : परिवार, साथी र म जहाँ काम गर्छु मेरो प्रोफेसरहरु सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु । किनभने एउटा मान्छेको सफलतामा धेरै मान्छेको हात हुन्छ ।

    करुणा : सुरुमा म २५ जना कन्टेस्टेन सिस्टर्सहरुलाई धन्यवाद भन्न चाहन्छु । मेरो यो जर्नीमा उहाँबाट धेरै सिक्ने मौका पाएकी छु । नेपाली जो विश्वभर छरिएर बस्नुभएको छ, भोटिङको माध्यम होस् या सामाजिक सञ्जालबाट उहाँहरुले मेरो सपना पूरा गर्न जुन मेहनत गर्नुभएको छ, उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।

    प्रकाशित मिति :श्रावण २० २०८१ आइतवार - १३:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij