२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।
चालु आव २०८०/८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।
वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।
गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।
कुन महिनामा कति ?
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।
विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जना रोजगारीका लागि विदेश गएका छन् । त्यस्तै माघमा ६२ हजार १४७ जना, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।
दक्ष कामदार कति ?
बैशाख महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । फागनुमा विदेश गएका ६५ हजार युवाहरू मध्ये ५२ हजार १ सय ७७ नेपालीले काम सिकेर गएको देखिएको छ ।
यस्तै, १२ हजार ६ सय १६ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ५ हजार ४ सय २० छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः ३ सय ५४ र ७० मात्र रहेको विभागको तथ्याङ्क छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij