Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म


  • 2.2K
    Shares

    प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
    images

    गण्डकी । गायन तथा अभिनयमा रमाइरहेएका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन्। 

    निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे। काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो।

    सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए। ‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रुपमा देखिँदै छन्।

    ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए। चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अर्थ्याए।

    गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउथे। गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए।

    ‘अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो’, सपुतले भने, ‘पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु।’

    चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए। ‘चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ’, सपुतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ।’ चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ।

    सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए। विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको संघर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए।

    ‘मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ’, उनले भने, ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ।’ कथा, संगीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ।

    चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ। अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का छन्। चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ।

    गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए। ‘आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ’, उनले भने। 

    चलचित्रको कथा र संगीत पनि सपुत आफैले तयार पारेका हुन्। चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ। चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन्।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन्। 

    सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारंगत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्। सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ।

    विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट सांगीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन्। मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन्। 

    सांगीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ।

    – रामबहादुर थापा, रासस

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ०६:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij