२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । अभिनेत्री मिरुना मगरको व्यस्तता देख्दा लाग्छ उनी दिनको चौबिसै घण्टा काम गर्छिन् । मिरुनाको एकपछि अर्को फिल्म प्रदर्शन भैरहेका छन् भने कुनै प्रदर्शनको क्रममा छन् ।
त्यसो त मिरुनालाई विभिन्न फिल्ममा विभिन्न भूमिकामा देख्न सकिन्छ, ती भूमिकामा उनी डुबेको समेत देखिन्छ । उनलाई प्रायः गाउँले परिवेश र भेषभुषामा देखिन्छ ।
यहि क्रममा उनी अहिले पनि ‘मनसरा’ फिल्ममा एउटा गाउँले एकल आमाको चरित्रमा प्रस्तुत भएकी छिन् । यहि वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनले निर्वाह गरेको भूमिकाका कारण मिरुनाको चर्चा चुलिएको छ ।
यो फिल्ममा मिरुनाले एउटी एकल महिलाले छोरा हुर्काउनका लागि गरेको संघर्षलाई कसरी जिवन्त बनाएकी छिन् ? भन्ने कौतुहलताको विषय बनेको छ । अविवाहित मिरुनाका लागि एउटा छोराको आमाको भूमिका निर्वाह गर्ने कुरा निकै चुनौतीपूर्ण थियो ।
देख्दा बाल कलाकार भए पनि आफूले भने जस्तो काम बच्चाबाट लिन सक्ने कुरा चानचुने भने कदापि होइन । नामै बच्चा, उनीहरुले आफ्नो मुड अुनसार काम गर्छन् । उनीहरुलाई न त फिल्ममा जम्नु पर्छ भन्ने लोभ हुन्छ, न त पुनः फिल्मका लागि अफर नआउला कि भन्ने डर ।
बाल कलाकारलाई काम गराउनु पर्ने चुनौती निर्देशकलाई मात्र नभएर बाल कलाकारसंगै अभिनय गर्ने कलाकारलाई पनि हुन्छ ।
यस्तै चुनौती मिरुनालाई पनि भएको थियो जब उनले नौ वर्षीय तान्छोको आमा बन्ने पक्का भयो । ‘मनसरा’ मा छोरा बनेका तान्छो अर्थात मेनाहाङ राईले आफूलाई आमा सम्झन हो कि होइन ? आफूसंग रत्तिने हो कि होइन ? भन्ने डर मिरुनामा उत्पन्न भइरहन्थो ।
त्यस्तै आफूले मात्र आमाको भूमिका राम्रो गरेर भएन, छोराले पनि आफ्नो अभिनयलाई जिवन्त बनाउन साथ दिने हो कि होइन भन्ने अनेक डर–त्रासबीच मिरुना तान्छोको आमा बन्न सफल भइन् ।
उनी फिल्ममा आमामात्र बनिन्, आमाको भूमिका निर्वाह गर्दा आमाप्रतिको आफ्नोे जिम्मेवारी पनि अझ बढी बुझिन् । तान्छोको आमा बन्नका लागि मिरुनाले फिल्मको छायांकन प्रारम्भ हुनुभन्दा धेरै अगाडिदेखि नै तान्छोलाई छोरा जस्तै व्यवहार गर्न थालेकी थिइन् । तान्छोलाई छोरा बनाउनका लागि उनी धेरैभन्दा धेरै समय तान्छोसंग बिताउन थालेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij