२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कमेडी च्याम्पियनका पछिल्ला केही एपिसोडमा तपाईंले मनोज गजुरेललाई ‘बाल्ड लुक’ मा देखिरहनु भएको छ । तर, आज प्रशारण हुने नयाँ एपिसोडमा उनको लुक्समा बदलाव पाउनुहुनेछ ।
निर्देशक विशाल भण्डारीसहित टिम चढेको गाडी दुर्घटना हुँदा कमेडी च्याम्पियनको पछिल्ला दुई एपिसोड रोकिएको थियो । यस रियालिटी शोका एक जज प्रख्यात कमेडीयन गजुरेलले यही बीचमा आफ्नो टाउकोमा ‘रोपाईं’ गर्न भ्याएका छन् । यसअघि ‘विग’ लगाएर हिँड्ने गरेका गजुरेल त्यो झण्झटबाट मुक्त भए ।
गजुरेलका अनुसार ३०–३२ वर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । जवानीमै तालुखुइले देखिन थालेपछि एकपटक उनी डाक्टरकहाँ पनि गए । डाक्टरले एउटा औषधि लेखिदिए । गजुरेलले सोधे, ‘यसले केही साइड इफेक्ट त हुँदैन नि,’ डाक्टरले नहुने भनेर पठाए । तर, त्यो औषधिले कपाल झर्न रोकिनुको साटो झनै समस्या बढ्यो । टाउकोको मध्यभागमा अझै ठूलो क्षेत्रफल खाली हुन थाल्यो । त्यसपछि उनी आत्तिएर डाक्टरकहाँ गए ।
‘तपाईंले साइड इफेक्ट हुँदैन भन्नुभएको थियो, तर झन् धेरै कपाल झर्न थाल्यो त,’ गजुरेलले गुनासो गरे । डाक्टरले जवाफ दिए, ‘साइड इफेक्ट पो हुँदैन भनेको हो त, तपाईंको त सेन्टर इफेक्ट भएछ । साइडको कपाल त सद्दे नै छ ।’
मनोजले सुनाएको यो गफ रियल हो कि गजुरियल हो उनै जानुन् । तर, उनले आफ्नो टाउको र कपालमाथि अरु पनि जोक्स बनाएका छन् । विग लगाएर हिँड्न थालेपछि धेरै मान्छेले सोधेर हैरान गरे, ‘तपाईंको कपाल नक्कली कि सक्कली ? रोपेको हो कि पालेको ? एक्कासी कसरी कपाल पलायो ? आदि इत्यादी । आखिर गजुरेलले यसलाई पनि जोकमा ढाले । ‘यो कपाल पालेको होइन, टालेको । रोपेको होइन छोपेको । ट्रान्सप्लान्ट होइन टाँसप्लान्ट हो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij