Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टुरिजम फ्याम ट्रिप– २०२१

टुरिजम फ्याम ट्रिप– २०२१


  • 15.0K
    Shares

    टुरिजम फ्याम ट्रिप– २०२१

    “भनिहाल्ने कुरा चाहिँ होइन तर हाम्रा चेलीबेटीहरू ढिला त ढिलै हुन् है !”

    आशय गलत नभए पनि महिलाहरूको सुस्ताहट देख्दा ठाकुरप्रसाद सापकोटाको कानमा साउति मारेँ मैले ।

    “यो कुरा चाहिँ सही हो ।”

    मेरो भनाइ चित्त बुझेछ मित्रलाई ।

    “यस्तै ताल हो भने त आजको बास यतै हुन्छ ।”

     फुस्फुसाउँदै थिए गोविन्द पन्त ।

    Chautara.jpg

    रातो गलैँचा बिछ्याएजस्तै सुन्दर छ सेल्फीडाँडाको सतह । हतपती छाडिहालौँ जस्तो कहाँ लाग्छ र ! डाँडाको छेउछाउमा ठूल्ठुला ढुङ्गाहरू छन् । त्यसैमा भइरहेको छ फोटो सेसन । हिउँदे मुस्कान छरिरहेको प्रकृतिको काखमा लुटपुटिएर ऋतु ग्याम्दान, सुजना सिंखडा, लक्ष्मी कार्की, नीमा डिकी शेर्पा र रीता अधिकारीका अनुहारमा देखिन्छ सुखद अनुभूति । यात्रा भनेको उत्सव हो । यात्रालाई उत्सवकै रूपमा खुसीका साथ मनाउनुपर्छ भन्ने मान्यता राख्छु म आफैँ पनि । फेरि नारी भनेका देवी हुन् । देवीहरू खुसी हुनुपर्छ । नत्र अनर्थ हुन्छ । ‘माइन्ड’ गरेनौँ हामीले ।      

    20210208_115439 (1).jpg

    ‘छिटो गएर छिट्टै फर्कनुहोला ! तपाईंहरूलाई ताज रिसोर्टको लन्चले पर्खिरहेको हुनेछ । फेरि साँझ नपर्दै काठमाडौँ पुग्नु राम्रो ।’

    बोधराजजीले अथ्र्याएको कुरा सम्झेँ मैले ।

    हो, समयमै मूलकोट नछाडे घर पुग्दा रातको पहिलो प्रहर बितिसक्छ । साँझ परेपछि काठमाडौँको ट्याक्सी चढिसाध्य हुँदैन । मिटर भएर के गर्नू ! जान माने पो ! चार कि. मि. मात्र हो सोह्रखुट्टेबाट मेरो घर । तर ट्याक्सी चढ्ने बित्तिकै एक हजार चुना लाग्छ । पाएसम्म कसले धुत्दैन र नेपालमा ! इन्जिनियर होस् वा वकिल, प्राइभेट स्कूल होस् वा अस्पताल । सरकारी कार्यालयहरूको त झन् कुरै नगरौँ ! घुस नभए वरको सिन्को पर सर्दैन । मनोलाप गर्दै थिएँ म ।

    टाउको माथि आइपुगेको घामको प्रेमिल स्पर्शलाई छाडेर हामी हायसभित्र छि¥यौँ र उँधो लाग्यौँ उही बाटो भएर ।

    “सुनकोशी पारिको उः त्यो माझीगाउँ जाँदै छौँ हामी ।”

    गन्तव्य औँल्याए टीका गुरुङले ।

    माझीगाउँ हाम्रो यात्राको अर्को उत्कर्ष ।

    गाडी ओरालो लाग्दै गरेको भए पनि सुनकोशी तर्ने भनेपछि खुसीले अग्लिँदै गयो मेरो मन । अग्लिँदै गए– केस्रा–केस्रमा छुट्टिएका डुडेपुर, तीनखोप्रे, सोलीथुम्को, नाङ्गेडाँडा र परेडाँडा । कौतुकमय विविध भू–स्वरूपले आश्चर्य चकित भरहेथेँ म । खट्किरहेको थियो मैले वालवयमा देख्ने गरेको कालिका, मालिका, मदानपुर, बेलकोट र कविलासका डाँडाहरू ।

    फगत् चट्टान र माटोको थुप्रोमात्र होइन पहाड । मानवका लागि चुनौतीमात्र पनि होइन । यो त अद्भूत रहस्यहरूको अनुपम खानी हो । पहाड आफैँमा रहस्यहरूकै पनि पहाड नै हो । फेरि पहाड नहुँदो हो त धर्ती यति सुन्दर नै कहाँ नै हुन्थ्यो होला र !

    म सोच्छु– ‘के पहाडविनाको पृथ्वी जीवन्त रहन सक्छ त ?’

     सिन्धुलीको ढुङ्गा–ढुङ्गामा देवताको बास र प्रत्येक थुमहरूले स्वर्गको आभास गराउछ । ऐना डाँडाबाट झर्दै गर्दा गुन्गुनाएथेँ गायक ओम गुरुङले गाएको गीतका पङ्क्ति–

    ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ

    जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ......’

          शिव शक्तिको क्रिडास्थल हो सिन्धुली माझीगाउँ, रिठ्ठेडाँडा सुनकोशीको कथा हो सिन्धुली रावणले गरेको तीर्थ झम्केश्वरी देवीको बासस्थान सुनकोशीपारि रामेछापमा सयौँ शक्तिपीठ शिवालयहरू छन् सुनकोशीको पेरिफेरिमा त्यसो हजारौँ वर्षदेखि शैव योगतन्त्र साधनाको उर्वरा भूमि हो नेपाल शक्तिसङ्गमतन्त्र सहित चौसठ्ठी तन्त्रको उद्गम स्थल हो हाम्रै हिमालय क्षेत्र मूलकोटबाट एक कि. मि. पर छ– काठमाडौँको स्वयम्भूजस्तै झल्को दिने टापु, जहाँ मुकुटेश्वरी भगवतीले बास गरेकी छिन् पुण्यभूमी हो सिन्धुली जहाँ सिन्धुलीगढीजस्तो गौरवशाली इतिहास छ; रुनलाई सुनकोशी छुनलाई पुर्खाको रगत लागेको खुकुरी

    धार्मिक पर्यटनको प्रवद्र्धन हाम्रो आर्थिक समृद्धिको आधार हो । ताज रिसोर्टले सामाजिक र सांस्कृतिक समन्वय गर्न सके पर्यटकहरू कम्तीमा पनि तीन दिन रोकिन सक्छन् यो ठाउँमा । मनोलाप गर्दै थिएँ म ।   

    मूलकोट पुगेपछि रोकियो गाडी । धर्तीमा कालोपत्रे सडक । आकाशमा उत्ताउलो घाम । घामको उन्मादीले तातेको थियो सडक । त्यही बेला मैले सम्झेथेँ रसिलो जुनार । सुनेको थिएँ– जुनारको राजधानी हो सिन्धुली । जुनार पाकेपछि पहेँलपुर हुन्छन् महाभारत क्षेत्रका तीनकन्या, रतनचुरा, वाशेश्वर, जलकन्या, मझुवा, दुम्जा र भुवनेश्वरीका पखेराहरू । चाख्न त काठमाडौँमा चाखेकै हो सिन्धुलीको जुनार । तर जुनारको राजधानीमा जुनार देख्न नपाउँदा चाहिँ खल्लो लाग्दोरहेछ । बेला नहुँदै पो आइएछ त ! नत्र मूलकोटका पसलहरूमा चाङ लाग्थे होलान् जुनारका दाना । दुई–चार किलो कोशेली लान्थेँ हुँला म पनि ।

    हामी लाग्यौँ सुनकोशीतर्फ । सुनकोशीको छेवैमा पुग्दा नपुग्दै स्पर्श गर्न आएथ्यो एक झेक्का हावा । चिसो हावा पिउँदै पाइला उठायौँ हामीले । 

    तालिएको छ पुलमुनिको सुनकोशी र बगिरहेको छ शान्तभावमा । सुनकोशीलाई चलाउन खोज्दा तरङ्गहरू फैलिए मेरो हृदयसम्मै । सुनकोशीकै किनारबाटै तिर्खाएर उठेका छन् रामेछाप र सिन्धुलीका पहाडहरू । नाङ्गेडाँडा, परेडाँडा र रिठ्ठेभीरका दोछायाँ परेका छन् सुनकोशीमा । केही बेर त मैले पनि प्रतिविम्ब सजाएँ सुनकोशीको दर्पणमा । तर कहाँ अडियो र मेरो छायाँ ! पहाडजस्तै स्थिर कहाँ हुन सक्छु र म ? म हिँड्दा मेरै पछि लाग्यो मेरो छायाँ । छायाँ त छायाँ नै हो तर पहाडहरूको त्यो धूपछायाँ, मेरो यो रामछायाँ । कल्पना गर्न थाल्छु म ।

    आँखा चिम्लेर माछाको चालको चेवा गरिबसेका बकुल्लाहरूको ध्यान भङ्ग गराइरहेका छन्, दुई थान ट्रय्राक्टरले । फिस्टे चराका एकाध जोडीमात्र निस्किरहेका छन् हरिया काँसका गाँजहरूबाट । नदी किनारमा त अरु खालका चराहरू देखिनु पर्ने हो । खोइ त फ्यालफ्याले ? खोइ त पानीहाँस ? खोइ त जलपक्षी ? हुट्टिट्याउँधरि उडेका थिएनन् सुनकोशीको आकाशमा । चराहरू नदेखिनु कतै ट्य्राक्टरकै कर्कश आवाजले त होइन ? आफैँलाई पो सोध्छु म ।

    आर्फैँ कहिल्यैँ नजोडिने सुनकोशीको दुई किनारलाई जोडेको छ झोलुङ्गे पुलले ।

    वारि सिन्धुली, पारि रामेछाप; सेल्फी लिँदै पुल तर्दै । वाह ! छिनमै सिन्धुली, छिनमै रामेछाप । यही हो यात्राको गतिशीलता भनेको । यही हो गन्तव्य चुम्नुको मज्जा । 

    खुसीले बुर्कुसिएका छन् महिला सहयात्रीहरू । हुन पनि के विधि उत्साहित भएका ! सुस्त छ मेरो हिँडाइ । एकलासीमा रम्न खोज्दै छु म । यही बेला रित्तो डोको बोकेर आइरहेका होचो कद र छरितो ज्यान भएका एक अधबैँसे भेट्छु ।

    “घर कहाँ हो दाजुको ? अभिवादनसहित सोधनी गर्छु म ।

    “त्यही माथिल्लो गाउँ ।” श्वेत दन्तलहर फिँजाउदै उनी भन्छन् ।

    मिठो हुन्छ गाउँले मुस्कान । आत्मीयतापूर्ण मुस्कान र कुटिल मुस्कानको भेद पाउँछु म । मान्छेहरूको यस्तै मुस्कान मनपर्छ मलाई ।

     “तपाईंको नाम के हो ?”

    “कृष्णबहादुर श्रेष्ठ ।”

    काठमाडौँ खाल्डोका नेवार जाति नपुगेका पनि कहीँ छैनन् । पश्चिममा अल्मोडादेखि पूर्वमा वर्मा र उत्तरमा ल्हासासम्म । कहाँ पो पुगेका छैनन् र !

    “कति पुस्ता भयो यता आएको ?”

    “मसहित पाँच पुस्ता ।”

    ‘खला–मखु’ चाहिँ आउँदोरहेनछ उनलाई । त्यसैले त उनी प्रस्ट बोल्छन् खस भाषा ।

    “डोको त खालि छ नि ! कहाँ पुगेर आउनु भयो ?”

    “पारि खेतमा घाँस काट्न जाँदै छु ।”

    सुनकोशी पारि छ उनको खेत । हरेक दिन घाँसको भारी बोकेर सुनकोशीसित मुस्कान साट्छन् उनी । यद्यपि कृष्णबहादुरले बोकेको डोको विवशताको हो तर खुसी देखिन्छन् डोको, नाम्लो र हँसियासित जीवन साटिरहेका उनी । उन्नति गर्न नसके पनि अवनति नहुने पेशा हो कृषि । रहरहरू कुन्ठित होलान् तर एक पेट खान कहिल्यै समस्या पर्दैन किसानलाई । यो देशमा कोही खुसी छन् भने ती किसान मात्रै हुन् । यही त हो जीवनको सार्थकता !

    road.jpg

    मेरो विगतलाई सम्झाएथ्यो कृष्णबहादुरको डोकोले । प्रत्येक दिन बिहान स्कूल जानुअघि एक डोको घाँस काटेर ल्याउथेँ म । थाप्लोमा नाम्लो नपरेको दिन हुँदैनथ्यो । मल बोक्दा डोको, कोदो र मकै बोक्दा डोको । पहाडियाहरूको चिनारी र जीवनको अभिन्न अङ्ग हो– डोको, नाम्लो र हँसिया । जीवनको अर्ध–रिटायर क्षणमा आइपुगेको छु यति बेला । यसै पनि रिटायर जीवन त गाउँमा नै बिताउनु छ मैले । कोरोनाले पर्यटन फस्टाउन नदिए तुरन्तै गाउँ फर्कने सोच बनाइसकेको छु । फेरि उही घाँस–दाउरा गर्नु छ । मेलापात गर्नु छ । फेरि काँधमा उही कोदाली भिर्नु छ । गाउँ नै रमाइलो लाग्छ मलाई । आगामी जिन्दगी जिउने उपाय सोचिरहेको छु म ।

    सुनकोशीको किनारछेउछाउ उभिएका छन् उत्तिसका बोटहरू । वसन्तमा चिचिला लाग्ने आँपका बोटहरूले फूल खेलाइरहेका छन् । औषधिमूलक बेलका दानाहरू छरिएका छन् यत्रतत्र । अमलाका बोटले पनि हरियाली जगाउने कोशिस गर्दै छन् । पृथक रङ फ्याँकिरहेका छन् धयाँरो र धुर्सिलका फूलहरूले ।

    माझीगाउँर्फ सोझिएका छन् पाइला । म एकसाथ सुनिरहेको छु– सुनकोशीको सुसाइ र आफ्नै पदचापलाई ।

    बाहुनडाँडा, कामीडाँडा, फुयाँलडाँडा, घलेगाउँ, नेवारगाउँजस्ता गाउँहरू थुप्रै छन् नेपालमा । जुन जाति जहाँ बसेका छन् त्यसैको नाममा बस्छ ठाउँका नाम । माझीगाउँ भन्ने बित्तिकै माझीकै बस्ती हो भन्ने बुझ्न मलाई के कठिन भो र !

                    आदिबासी हुन् माझी । उनीहरू दुई हजार वर्ष अघिदेखि बसोबास गर्दै आएका तर सिमान्तकृत समूह । पृथक भाषा, पहिरन, संस्कृति र संस्कार भएको विशिष्ट जाति हो माझी । विडम्बना चाहिँ नेपाली समाजको अङ्गको रूपमा रहेको माझी जातिको मान्छेको उत्पतिको तथ्यपूर्ण अनुसन्धान हुन सकेको छैन । माझीहरू भारतको सिन्धु प्रदेशबाट नेपाल प्रवेश गरेको उल्लेख गरेका छन् साहित्यकार जनकलाल शर्माले । किंवदन्तीअनुसार सृष्टीक्रममा महादेवले आफ्नो शरीरको मयल डल्लो पारी नदी वारपार गर्न डुङ्गा चलाउनका लागि माझी जातिको सृष्टी गरेका रे । मान्छेहरूलाई नदी वारपार उनैले गराउँछन् । नदीसँग आत्मीय सम्बन्ध हुनु र नदी छेउछाउ उनीहरूको बस्ती हुनुले किंवदन्ती सही हो कि भनेझैँ लाग्छ । मूलतः सप्तकोशीका सहायक नदी माझीहरूको बसोबास क्षेत्र हो ।                

    पुगियो माझीगाउँ ।

    फराकिला छन् सुनकोशीको बेसी । पहाडको पैतालामा बसेको छ झुरुप्प बस्ती । बस्ती अगाडि छन्– पहेँला तोरीबारी । तोरीको पहेँलोले सूर्यभक्ति फूलको झझल्को दिन्छ । बारीका कान्लामा छन्– काप्राका वृक्ष । मकैका ढोँडलाई सञ्चित गरेका छन् त्यही काप्राका बोटहरूमा । हिउँदका बेला वस्तुभाउलाई खुवाउनका लागि जोहो गरेर राख्ने कस्तो राम्रो कायदा !

    20210208_120301.jpg

    बस्ती नजिकबाटै बगिरहेको छ सुनकोशी । गतिशील, कुलक्षणी र अनिश्चित शक्ति पनि हो नदी । लाभ या हानि भन्ने कुरा नदीप्रतिको हाम्रै व्यवहारबाट हुने हो  । वि. सं. २०६९ को बैशाखमा सेती नदीले विकराल रूप लिँदा भएको जनधनको क्षती सम्झेँ मैले । बैँसमत्त भएको बेला सुनकोशीले छक्याउँदैन त माझीगाउँलाई ? हठात् झस्किन पुग्छु म ।

    जाँदाजाँदैको पहिलो घर आउँछ जगमाया माझीको । पिँढीमा बसिरहेका थिए– जगमाया, शुशिला, सुभद्रा र एकबहादुर । मङ्गोलियन शारिरिक बनावट । गहुँगोरो वर्ण । मध्यम खालको उचाइ । शान्त र, लज्जालु स्वाभाव । मन्द मुस्काउँदै हामीलाई बस्न गुन्द्री ओछ्याइदिइन् जगमायाले । पाहुनाको मानभाउ राख्न जानेका छन् माझीहरूले । यथार्थमा यही हो नेपाली आतिथ्य !

    जगमायाको घरअगाडि निमार्ण भएको छ सजधजसहितको एकीकृत बस्ती । चिटिक्क परेका दुईकोठे भवन । कलेजी रङका जस्ता । गाडा क्रिम रङले पोतिएको भित्ता र कलेजी रङकै स्कर्टिङ । भवनहरूमा सौन्दर्य थपेको छ पिँढीले । हार मिलाएर सजाइएका सलाईको बट्टाजस्तै लाग्छन् दोहोरो लाइनका भवनहरू । निला रङका जस्ताले छाएका घरबाहेकै यस्ता बयालीस घर छन् माझीगाउँमा । रङको संयोजनले चम्किलो देखिन्छ बस्ती । साझा आँगन हुने गरी झुरुप्प घर बनाएर बस्नु माझीहरूको मौलिक शैली नै हो । त्यसैले त म नेपाली भाषा, सभ्यता, संस्कृति र परम्परागत वैभवप्रति आस्था प्रकट गर्न कवि देवकोटाका शब्दहरू सापटी लिने गर्छु–

    ‘सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र

    लुकेको स्वर्ग समुच्च जाति यस्का छन् विचित्र........’

    “कसको योगदान हो यो ?” जिज्ञासा राख्छु म ।

    “सरकारको ।” जवाफ आउँछ जगमायाको ।

    “आफ्नै सरकारले गरेको भन्ने सुन्न पाउदा पनि खुसी लाग्दो रहेछ हगि !” उत्पुलक भइन् लक्ष्मी कार्की ।

    “हस्तान्तरण भइसक्यो त?”

    “भखर्रै प्रदेश सरकारले गाउँपालिकालाई हस्तान्तरण त ग¥यो । निर्माण सम्पन्न हुन बाँकी छ । पीडितले स्वामित्व ग्रहण गर्न पाएका छैनन् । अब छिट्टै होला ।” 

    आजको दिनसम्म आइपुग्दा भूकम्पको घाउमा खाटा बसेको प्रतीत हुन्छ जगमायाको अभिव्यक्तिले ।

    भूकम्प गएको यतिका वर्ष बित्दा पनि विपद् व्यवस्थापन हुन नसक्नु दुःखद कुरा हो । काममा ढिलासुस्ती हुनु नौलो कुरा होइन नेपालमा । एक त राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने योजना सार्वजनिक भए पनि त्यसले मूर्त रूप लिन समय लाग्यो ।  अर्को त मूर्तता पाएपछि पनि प्राधिकरणले एकाग्र भएर काम गर्न पाएन । सरकार फेरिएसँगै  प्राधिकरणको नेतृत्व पनि फेरियो र काम प्रभावित बन्यो । त्यसैले त ‘नमुना बस्ती कागजमै सिमित भयो’, ‘पीडितहरू निराश भए’ भन्ने खबर सुन्थ्यौँ हामी । पीडा त माझीगाउँले सहेकै हो । तर खुसीको कुरा ढिलै भए पनि निमार्ण भएछ । त्यो पनि सरकारको पहलमा ।

    निर्माणाधीन एकीकृत बस्ती देखाए एकबहादुर माझीले ।

    “अस्पताल र चिल्ड्रेन पार्क पनि बन्दै छ ।” खुसीको कुरा सुनाए उनले ।

    “तपाईंको पेसा के हो ?” प्रश्न राखेँ मैले ।

    “पहिलेपहिले त डुङ्गा चलाउँथेँ । पुल बनेपछि डुङ्गाको काम आएन । जाल र ढडिया पनि खेलाउँछु नुनतेलको गर्जो टार्न । मुख्य पेशा त कृषि नै हो ।”

    नदी भनेको जलस्रोतमात्र होइन, मानवजातिका लागि आशाको बहार पनि हो । माझीगाउँका मात्र होइन, मुलुककै आशा हो सुनकोशी । एकबहादुर र एकबहादुरहरूको जीवन यात्राका सहयात्री हो सुनकोशी । सुनकोशीमै जीवन सङ्ल्याउँछन् । सुनकोशीमै पीडालाई थन्क्याउँछन् । सुनकोशीकै साथ लिएर दुःखको रिट्ठेभीर र सोलीथुम्को छिचोल्छन् र निर्जलीय रातमाटेडाँडामा आशाको फूल उमार्न पुग्छन् माझीगाउँवासीहरू ।

    सहयात्रीहरूले माझीगाउँ छाड्दा पनि एकबहादुरसँगै थिएँ म ।

    “तपाईंहरू कुन माझी हो ?” फर्कने बेला मैले उनलाई सोधेँ ।

    “हामी काँस कुशवार ।”

    मैले सुनेअनुसार माझीहरू नौ थरीका छन् । तराईको कुशवारले आफूलाई रामको सन्तान अर्थात् कुशको वंशज मान्छन् । मैले ठानेँ– उनीहरू पनि कुशकै वंशज होलान् ।

    आफैँमा सभ्यता हो माझीगाउँ । पृथक संस्कार र संस्कृति छ माझीहरूको । चितवनका रिसोर्टहरूले ‘थारु कल्चर प्रोगाम’को आयोजना गरेजस्तै ताज रिसोर्टले पनि ‘माझी कल्चर प्रोगाम’को आयोजना गरे भाषा, कला र साहित्यको विकासमा टेवा पुग्थ्यो कि ! माझीगाउँ छाड्दै गर्दा एकालाप गरेँ मैले ।

    मूलकोट पुग्दा सुनकोशीमा दुई थान डुङ्गा देखा परे । भवीश्वर शर्मा, तेज जर्गा, नवराज दाहाल हरिकुमार श्रेष्ठ, संगीता भट्टराई र वर्षा सिवाकोटीका टोली थिए ती । आफू किनारमा उभिएर उनीहरूलाई र्‍याफ्टिङ गर्दै आइरहेको देख्दा मैले सन् २००१ मा त्रिशूलीमा र्‍याफ्िटङ गर्दाको रोमाञ्चक क्षण सम्झेँ । ‘टिम वर्क’ हो र्‍याफ्टिङ । गाइडको नेतृङ्खव र निर्देशनमा प्याडल चलाउनुपर्छ र्‍याफ्टिङ गर्दा । नदीको बहाबअनुसार आदेश दिन्छन् गाइडले पछाडिबाट– ‘स्टप !’ ‘फरवार्ड !’ ‘राइट ब्याक !’ ‘लेफ्ट ब्याक !’

     वाफ् रे ! छालहरूमा डुङ्गा उफ्रँदा त सात्तोपुत्लो उडेथ्यो मेरो ! छालहरूको नाम पनि अनेकअनेक राखेका छन् र्‍याफ्टिङ गाइडहरूले । ‘ट्वीन रक’, ‘लेडिज डिलाइट’, ‘अपसेट’, ‘सरप्राइज’ केके हो केके ! र्‍याफ्टिङ सकिने वेलाका ‘सरप्राइज’ नामको छालमा पुग्दा डुङ्गा घ्वाप्लाक्कै घोप्टेपछि त साँच्चिकै सरप्राइज भएथेँ म ।

    सुनकोशीको किनारमा डुङ्गा उत्रिएपछि देखेँ– सबैले पाइन्ट लगाएरै र्‍याफ्टिङ गरेका रहेछन् । घामको रापले ज्यान गर्मिदै गएको त्यो बेला मेरो मनले भन्दै थियो– ‘बरु र्‍याफ्टिङ पो गर्नु पर्नेरहेछ !’

    लन्च गरुन्जेल मनमा लागिरह्यो– ‘मार्भलस मूलकोट, वान्स इज नट इनफ !’

    ‘मन्थली एअरपोर्टबाट लुक्ला उड्न आएँ भने ब्रेकफास्टका लागि त छिर्छु नै । सिन्धुलीगढी घुम्न र र्‍याफ्टिङ गर्नकै लागि मात्र पनि फेरि एकपटक ताज रिसोर्टमा मैले अर्को एक रात बिताउनुपर्ने भयो ।’

    मूलकोट छाड्नुअधि निमन्त्रणाको भकुन्डोलाई सञ्चालक मित्र बोधराजजीको कोर्टमा फ्याँके मैले ।

    20210208_130923 (1).jpg

    लन्च गरुन्जेल मनमा लागिरह्यो– ‘मार्भलस मूलकोट, वान्स इज नट इनफ !’

    ‘मन्थली एअरपोर्टबाट लुक्ला उड्न आएँ भने ब्रेकफास्टका लागि त छिर्छु नै । सिन्धुलीगढी घुम्न र र्‍याफ्टिङ गर्नकै लागि मात्र पनि फेरि एकपटक ताज रिसोर्टमा मैले अर्को एक रात बिताउनुपर्ने भयो ।’

    मूलकोट छाड्नुअधि निमन्त्रणाको भकुन्डोलाई सञ्चालक मित्र बोधराजजीको कोर्टमा फ्याँके मैले ।

    २०७७ माघ २७

     

     

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १४:२३:४४ बजे
    प्रतिक्रिया

    राजेन्द्रमान डंगोल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij