२०८२ फाल्गुण २३ गते शनिवार
विश्वका सबैभन्दा वृद्ध पुरुषका रुपमा चिनिएका व्यक्तिको मृत्यु भएको छ। ११४ वर्षको उमेरमा उनको ज्यान गएको हो। भेनेजुएलाका हुवान भिसेन्ट पेरेज ११२ वर्षको हुँदा २०२२ मा सबैभन्दा वृद्ध पुरुष घोषित भएका थिए। गिनिज वर्ल्ड रेकर्डले उनलाई सो खिताब दिएको थियो।
‘कठोर मेहनत, बिदाको दिन आराम, चाँडै सुत्ने बानी, हरेक दिन एक गिलास रक्सी र ईश्वरको भक्ति’ लाई उनले आफ्नो दीर्घ जीवनको रहस्य मानेका थिए। २७ मे १९०९ मा जन्मेका पेरेजले एडियोफिना डेल रोजारियो गार्सियासँग विवाह गरेका थिए। दाम्पत्यको ६० वर्षपछि उनकी पत्नी १९९७ मा बितेकी थिइन्।
उनीहरुले साथमा ११ सन्तान जन्माएका थिए। ६ छोरा र ५ छोरी। पछि उनीहरुका ४२ नातिनातिना, १८ पनाति–पनातिनी र १२ खनाति–खनातिनी जन्मिएका थिए। दुई महायुद्धदेखि कोभिड महामारीसम्म झेलेका उनको मृत्युमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले समवेदना दिएका छन्।
उनीपछि सबैभन्दा वृद्ध पुरुष जापानका गिसाबुरो सोनोबे हुन्। उनको उमेर ११२ वर्ष पुगेको छ। यद्यपि गिनिजले त्यसलाई पुष्टि गर्न बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij