२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईं आमा बनेकी छन्। चार वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग बिहे गरेकी दीपिकाले छोरा जन्माएकी हुन्।
आज बिहान दीपिकाले एक अस्पतालमा शल्यक्रियामार्फत पहिलो सन्तानलाई जन्म दिएकी हुन्। पहिलो सन्तान पाएपछि दिवाकरले श्रीमतीलाई महान् भन्दै भावुक स्टाटस लेखेका छन्।
'प्रिय बुडु! तिमी आमा भएकी छौ! महान् आमा! तिमीप्रति आभारी हुने र तिम्रो प्रशंसा गर्ने शब्दहरू कम छन् मसँग माया। के भनुँ जो आफू मृत्युसँग लडेर मलाई जीवन दिएकी छौ। यसको खुसी म कसरी तिमीलाई भनु', उनले लेखेका छन्, 'आज महसुस हुँदै छ, संसारमा आमा किन महान् हुन्छन्? खास त्यही महानताभित्र नै संसार अडेको रैछ! तिमी पनि त्यो महान् आमा भएकी छौ। र, मलाई बाबा बन्ने सौभाग्य दिलाएकी छौ। यसका निम्ति सदियौँसम्म म ऋणी छु।'
दिवाकर भट्टराईकै निर्देशनमा बनेको फिल्म ‘ऐश्वर्य’ डेब्यु गरेकी दीपिकाले छक्कापञ्जा-३, हेलो जिन्दगीलगायत फिल्म खेलेकी छन्। दीपिका दिवाकरकै निर्देशनमा बनेको 'मायवी'मा पल शाहको अपोजिटमा छिन्। जुन फिल्म रिलिजको पर्खाइमा छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij