२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा यो गीत भाइरल छ । ‘पिरै पिर’ बोलको यो गीत गायक तथा म्युजिक कम्पोजर भूपू पाण्डेले अघिल्लो साता सार्वजनिक गरेका हुन् । गीतलाई थुप्रैले आफ्नो फेसबुक स्टोरीमा सजाएको देखिन्छ ।
‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमी छ’
देशको हालत, बेरोजगारी समस्या र युवाहरूको वर्तमान अवस्थाको कथाब्यथा निकै मार्मिक रूपमा गीतमा प्रस्तुत गरिएको छ । गीतमा युवाहरू विदेश पलायन, बेरोजगारी, उमेर ढल्किँदै जाँदा युवाहरूमा छाउने नैराश्यता समेत समेटिएको छ ।
प्रत्येक शब्द, शब्दले मनछुने गीतको अन्त्यमा मापसे गरेर सवारी नचलाऔँ र देश पनि मापसे गरे जसरी नचलाऔँ भन्दै व्यङ्ग्य गरिएको छ । गीतलाई सकारात्मक प्रतिक्रियाको ओइरो छ । धेरै यो गीत मात्रै नभएर एउटा युवाको जीवनको वास्तविक कथा भएको समेत बताएका छन् ।
गीतको भिडियोमा गायक पाण्डे, कमल गिरी, मिरज सेन ठकुरी, रवि राउत, सूर्या भाइ, अशोक गिरी लगायतको अभिनय छ । गीतको भाव अनुसार भिडियो बनेको छ । पाण्डेले नै निर्देशन गरेको भिडियोमा योगेश दाहालको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।
यसअघि पाण्डेका चम्पा, छाता, छोटो छ जिन्दगी, जाँदा जाँदै बन्दिपुर पुग्यो जस्ता थुप्रै गीत लोकप्रिय बनेका थिए । समाचार तयार गर्दासम्म गीतले एक मिलियन भन्दा बढी भ्युज पाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij