२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।
कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडिओ अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रूचाउने अपेक्षा कम्पनीको छ ।
टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ ।
सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम एप बन्न सक्ने कम्पनीको भनाइ छ ।
यस एपमा भिडिओ निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको प्रेस नोटमा उल्लेख छ ।
प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले यस एपलाई विकास गर्दै लैजाने जनाएको छ। रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने छन् ।यस एपलाई हाल गुगल प्लेस्टोरमा उपलब्ध छ भने केही दिनमै आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ । एण्ड्रोइड मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij