२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । पीसीओएस र पीसीओडी अहिले धेरै सुनिएको समस्या मध्ये एक हो। सुन्दा सामान्य लागे पनि यी दुई समस्यामा केही फरक छ।
पीसीओएस भनेको पोलिसिस्टिक ओभरियन सिन्ड्रोम हो। पीसीओडी भनेको पोलिसिस्टिक ओभरियन डिजिज हो। महिलामा अहिले धेरै र आम रुपमा देखिएका समस्या हुन् यी। डिजिज र सिन्ड्रोममा फरक छ। डिजिजमा एक/दुई वटा मात्र समस्या हुन्छ। तर सिन्ड्रोममा धेरै समस्या हुन्छ।
पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक-एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।
महिला गर्भवती नभए अर्को महिना अर्को अण्डा निस्कन्छ। यसरी नै महिला हरेक महिना २८/२८ दिनमा महिनावारी हुन्छन्। पीसीओडीमा डिम्बासयबाट अण्डा निस्किँदैन। अण्डा निस्कने ठाउँमा स–साना सिस्टहरु बन्ने हुन्छ। एउटा अण्डा निस्कने ठाउँमा स–साना सिस्टहरु बन्छन्। अण्डा ननिस्किएपछि ओभुलेसन (अण्डा निस्कने प्रक्रिया) हुँदैन।
ओभुलेसन नभएपछि समयमै महिनावारीमा गडबडी हुने र समयमै नहुने समस्या हुन्छ। महिनावारी समयमै नभएपछि गर्भ बस्ने सम्भावना अत्यन्तै न्यून हुन्छ। डिम्बासयले हर्मोन निकाल्छ। जसले गर्दा महिनावारी समयै हुन्छ। डिम्बासयमै समस्या भएपछि हर्मोनमा पनि गडबडी हुन्छ। यही हर्मोनल गडबडीका कारण कुनै पनि महिलामा पीसीओडीको समस्या छ भने विभिन्न लक्षण देखापर्छ। आम रुपमा धेरै महिलामा देखिने लक्षणहरु निम्नलिखित छन्ः
अनियमित महिनावारी
हर्मोनल गडबडी भएपछि मुख्य रुपमा देखिने लक्षण भनेको अनियमित महिनावारी हो। किशोरावस्थाका महिलामा यो लक्षण पहिलो नम्बरमा आउँछ। ४० वर्षभन्दा मुनिका महिलामा पनि यो समस्या देखिन्छ।
अनावश्यक रौँ पलाउनु
जब शरीरमा यो हर्मोनल असन्तुलन हुन्छ, तब महिलाको भन्दा पुरुषको हर्मोन बढी हुन्छ। सामान्यतया महिलाको शरीरमा पुरुषमा हुने टेस्टोस्टेरोन हर्मोन थोरै मात्रा हुनुपर्छ। तर पीसीओडी समस्या भएका महिलामा यो हर्मोन अलि बढी भइदिन्छ। जसका कारण जुँगा आउने, अनुहारमा रौँ आउने, पेट, खुट्टाहरुमा रौँ पलाउने समस्या हुन्छ।
धेरै डण्डीफोर आउने
किशोरावस्थामा आउने डण्डीफोरलाई सामान्य रुपमा लिन सकिन्छ। तर पीसीओडी समस्या भएका महिलामा डण्डीफोरले धेरै नै सताउने गर्छ। जति उपचार गरे पनि डण्डीफोरको समस्या निको हुन निकै गाह्रो हुन्छ।
बच्चा नबस्ने समस्या
पीसीओडीले निम्त्याउने अर्को समस्या हो, बच्चा नबस्नु। धेरै महिला बच्चा नबसेको गुनासो लिएर आउनुहुन्छ। उहाँहरुसँग कुरा गर्दै जाँदा महिनावारी समयमा नहुने र अरु यस्तै समस्याहरु हुन्छन्। पीसीओडीले धेरै समस्या गराउँछ। कसैलाई माथि भनिएका यी समस्यामध्ये एक/दुई वटा मात्र हुन सक्छ। तर कसैलाई भने सबै समस्या भएको पनि पाएका छौँ। यी सबै समस्या हर्मोनल गडबडीका कारण हुन्छ। हर्मोनल गडबढी किन हुन्छ भन्ने कारण महत्वपूर्ण हो।
किन हुन्छ हर्मोनल गडबडी ?
हर्मोनल गडबडी हुनुमा धेरै कारण छन्। मुख्य कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। कतिपय अध्ययनले वंशाणुगत कारणले पनि हर्मोनल गडबडी हुने देखाएको छ। तर अहिले धेरैलाई यो समस्या देखिनुको कारण भने अस्वस्थकर जीवनशैली हुन सक्छ। जंकफुड खाने, निष्क्रिय जीवनशैली, मोटोपना, तनावले पनि हर्मोनल गडबडी हुन्छ। शरीर मोटो भए बोसो धेरै हुन्छ। र, बोसोले यो हर्मोनहरु निकाल्छ। पीसीओडीले गर्दा मोटोपना हुन्छ।
मोटोपनाले पीसीओडी पनि हुन्छ। बोसोले हर्मोनल गडबडी त गराउँछ नै मधुमेह पनि गराउँछ। त्यसैले एकआपसमा अन्तर सम्बन्धित छन्। यिनै समस्याहरु एक/दुई वटा मात्र भए पीसीओएस हुन्छ। तर धेरै समस्या भए पीसीओडी हुन्छ। हाम्रो शरीरमा धेरै हर्मोनहरु हुन्छ। तपीसीओडी-पीसीओएसमा हामीले चार वटा हर्मोन मात्र परीक्षण गर्छौं। ती हुन्ः
१.ल्युटिनाइटिङ हर्मोन (एलएच)
२.फोलिकल स्टिमुलेटिङ हर्मोन (एफएसएच)
३.प्रोल्याक्टिङ
४.थाइरोइड
यो समस्या भएका महिलामा यी चार हर्मोनमध्ये एलएच र एफएसएचको हर्मोनको अनुपातमा फरक आउँछ। सामान्यतया यी दुई हर्मोनको अनुपात समान हुन्छ। एउटा स्वस्थ महिलाको शरीरमा एलएच २ छ भने एफएसएच पनि १, २ या ३ नै हुन्छ। तर पीसीओडी भएका महिलामा एचएच १५-१६ हुने एफएसएच १, २, ३, ४ हुन्छ। त्यसैले यी दुई हर्मोनबीच दुई गुणा बढीले फरक भए त्यसलाई पीसीओडीको हर्मोन असन्तुलन भनिन्छ।
उपचार के ?
हर्मोनल गडबडीकै कारण पीसीओडी-पीसीओएस हुने भएकाले हर्मोनल सन्तुलन गर्नु नै यसको समाधान हो। हर्मोनल सन्तुलनका लागि हामीले औषधिको रुपमा हर्मोन नै दिन्छौं। यसले असन्तुलन भएको हर्मोनल गडबडीलाई विस्तारै सन्तुलनमा ल्याउँछ। तर कतिपयलाई औषधि खाने बेलासम्म मात्र ठिक हुने तर नखाएपछि पुन: समस्या आउने हुन्छ। किनभने, पीसीओडी भइसकेका महिलामा हर्मोनल गडबडी भइरहन्छ। मधुमेह, रक्तचाप भएजस्तै हो। त्यसैले आवश्यकता र समस्या अनुसार
उपचार गर्नुपर्दछ ।
कोही महिला अनियमित महिनावारीको समस्या लिएर आउँछन् भने महिनावारी नियमित बनाउने औषधि दिन्छौं। कसैको अनावश्यक रौँ आउने समस्या छ भने छाला रोग विशेषज्ञलाई रिफर गर्छौं। बच्चा नभएकाहरुलाई सोहीअनुसारको उपचार गर्छौं। त्यसैले बिरामीको समस्या र आवश्यकताअनुसार हामीले उपचार गर्ने हो। कसैलाई जीवनभर उपचारको खाँचो पर्छ भने कसैलाई उमेर बढ्दै गएपछि निको पनि हुँदै जान्छ।
पीसीओडीको समस्या बढ्नुमा मुख्य कारण अस्वस्थकर जीवनशैली पनि हो। त्यसैले जीवनशैली परिवर्तन गरे पनि यो समस्याबाट बच्न सकिन्छ। व्यायामले पनि शरीरमा हर्मोनल सन्तुलन राख्न मद्दत गर्छ। सन्तुलित खानपिन र व्यायाम यो समस्याको लागि मात्र नभई हरेक समस्यालाई ठिक पार्न मुख्य भूमिका हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij