देश बनेन बनेन भन्दै गर्दा हामीले देश किन बनेन भनेर त्यसको जरो खोतल्दै जानु आवश्यक हुन्छ । यसरी जरो खोतल्दै जानेहो भने एउटा मूल प्रश्न उत्पन्न हुन्छ । त्यो हो– ‘श्रमजीवी कार्यकर्ताले बेरोजगार नेता र अपारदर्शी पार्टीहरूलाई लेवी बापत पैसा किन तिर्ने ? लोकप्रियत कमाउन या प्रचारका लागि वा परिणामका लागि ? या त सत्ता स्वार्थका लागि वा समाधानका लागि ?
बिदेशकै प्रसङ्गबाट : संयुक्त अरब इमिरेट्स(युएई)को बिकसित सहर दुबईको एउटा सार्वजनिक पार्कमा नेपालीहरूको बनभोज कार्यक्रम थियो । आफै एउटा समाजको बनभोज कार्यक्रम आयोजक भएको हुनाले म पनि त्यहाँ उपस्थित थिएँ । संयोग ४/५ वटा बनभोज कार्यक्रम एकै स्थानमा परेछ !
सबैभन्दा घतलाग्दो लाग्दो कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसको बिदेशमा रहेका संगठनको बनभोज कार्यक्रम एउटै स्थानमा रहेछ तर कार्यक्रम बेग्लाबेग्लै ! कम्युनिस्ट पार्टीको हँसिया र हथौड़ा अङ्कित झण्डा र काँग्रेसको चारतारे झण्डा मज्जाले फहराएको थियो । युएईको कानुन अनुसार कुनैपनि पार्टीको झण्डा, ब्यानरलाई सार्बजनिक ठाउँमा देखाउन पाइदैन । त्यति जानकारी पनि थिएन रहेछ ती कार्यकर्ताहरूलाई । पछि कसैमार्फत् थाहा भएपछि झण्डालाई निकालेर झोला राखिएको थियो र मलाई ती झण्डाहरू देख्दा साह्रै दुःख लाग्यो कार्यकर्ता देख्दा दया लाग्यो ।
चर्को भाषणगर्दै काँग्रेस पक्षकाले भने ‘केपी ओली, प्रचण्ड र माधव नेपालले गर्दा आज हामी बिदेशीन बाध्य भएका हौं ती नालायक हुन् ! कम्युनिस्ट पक्षकाले फर्काए – काँग्रेसको शेर बहादुर देउवाले गर्दा आज हामी यो खाडीमा आउन विवश छौं । यी कुरा सुन्दा कस्को कुरा ठीक, कसको बेठीक ?
भाषणको अन्त्यमा काँग्रेस पार्टीको नेता कार्यकर्ताले भने अब हाम्रो पार्टीलाई हामीबाट प्रत्येक सदस्यहरूले ५०/५० युएई दिर्हाम अर्थात प्रत्येकबाट नेपलाी रु. १ हजार पाँचसय जम्मा गरी पार्टीलाई दिनेछौं । कम्युनिष्ट कार्यकर्ता भन्नेहरूले अझै एक कदम अगाडि बढेर घोषणा गरे : हामी प्रत्येक पार्टी सदस्यहरूले १००/१०० दिर्हाम अर्थात् करिब नेपाली ३००० रूपैयाँको दरले पार्टीलाई लेवी बुझाउने छौं । अब तपाई आफै भन्नुस् यो पाराले देश समृद्ध बन्छ ?
आज काँग्रेसका शीर्ष नेतृत्व सेर बहादुर देउवा, रामचन्द्र पौडेल बिमलेन्द्र निधि लगाएतको ८/१० जना नेतालाई कसैले सोध्न सक्छ तपाईको आम्दानीको स्रोत के हो ? कसरी चलेको छ दैनिकी ? कसरी ठड्याउनु भयो राजनीति गरेकै भरमा आलिशान महल ? यस्तो प्रश्न नेकपा भित्रको केन्द्रिय सचिवालय सदस्यहरू प्रचण्ड, खड्ग ओली, माधब नेपाल, झलनाथ खनाल लगाएतको ९ जना नेताहरूलाई कम्युनिष्टको कुन चाहिँ कार्यकर्ताले सोध्ने हिम्मत गर्छ ? हिम्मत छैन ! हिम्मत त केवल ४०/५२ डिग्रीको तापक्रम भएको मुलुकमा काम गर्ने र पार्टीलाई लेवी बापतको ५०/१०० दिर्हामररियल पार्टीलाई तिर्नुमा मात्रै छ ।
तिनै ८/१० लाख कार्यकर्ताको परिश्रमले बनाएको प्रधानमन्त्री केपी ओलीले पानीजहाज कार्यालयको उद्घाटन गर्नु भो भोलिपल्टै उद्घाटन गर्दा राखिएको बोर्ड हटाउनु भो । गोबर ग्याँसको उद्घाटनका निम्ति मन्त्रीहरू र उच्चपदस्थ पदाधिकारीको लावालस्कर सहित विराटनगर पुगेर प्रधानमन्त्रीले उद्घाटनको लागि लाखौँ खर्च गराए पाइपबाट ग्यास आएको भन्दै टुक्का जोडेर आलोचक माथि बर्सिए तर, अहिले पाइपबाट चुलो–चुलोमा ग्यास पुर्याउने कुरा चाहिँ बिर्सिनु भएछ । काम देखाउन घरको धाराको टुटी उद्घाटनमा पनि मन्त्रीहरू पुग्न थालेका छन् । दसैँमा नेताले पिङ उद्घाटन गरेको समाचार आइरहेछ । मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने सपना बाँड्दा नजन्मिएको बच्चा यतिवेला तन्नेरी भए तर आज पसलको पानी नकिनी घाँटी भिजाउन पाइन्न कति शोषित छौं हामी राज्यसत्ताबाट । खै हामीले थाहापाएको ? खै हामीले चेतेको ? ए सर्वहारा जनता ! कर्मचारीले शोषण गर्ने पनि जनतालाई, ब्यापारीले शोषण गर्ने पनि हामीलाई । हामी जनतालाई ठेकेदारदेखि नेता कार्यकर्ताहरू सबैले शोषण गर्न थालपछि हामी बाँच्ने कसरी ?
यति हुँदाहुँदैपनि तिनैको भजन भजन गाउदै परिश्रम गरेर कमाएको पैसा भ्रष्ट नेताहरूलाई बुझाउन नछोड्नु विपरित बुद्धि होइन र ?
प्रचण्ड, खड्क ओली, झलनाथ खनाल, माधब नेपाल, सेर बहादुर देउवा लगाएत उच्च तहका नेताको आम्दानीको स्रोत के छ ? कसरी पुग्छ चुनावमा करोडौं खर्च गर्न ? कसरी पुग्छ बिदेशका महङ्गो अस्पतालमा उपचार गर्न ? कसरी पुग्छ बिलासी आरामदायी जीवन बिताउन ? यो सोध्नुको सट्टा आफ्नो छोराछोरीको गाँस काटेर राजनीतिक पार्टीलाई कार्यकर्ताहरू लेवी तिर्नेहरू भएपछि नेताहरूलाई हाईसञ्चै भइहाल्यो ।
दुःखको कुरा आफुलाई सु–संस्कृत रबैकल्पिक राजनीतिक पार्टी भन्ने रबिन्द्र मिश्र होउन् या डा. बाबुराम भट्टराई उहाँहरूको पार्टीभित्र पनि हालत त्यस्तै छ ।
जसले श्रम गरेर पार्टीलाई लेवी तिरेको छ, जसले बेरोजगार नेताहरू पालेको छ, उसैको छोराछोरीहरूलाई स्कुल भर्ना गर्न धौधौ छ ! भर्ना शुल्क महंगो छ, अस्पतालमा उपचार खर्च तिरीनसक्नु छ । तिनै बेरोजगार अपारदर्शी नेताहरू सत्तामा भएको हुनाले शिक्षा र स्वास्थ्यमा निजीकरण भएको पनि मज्जाले थाहा छ । विद्यालयमा शुल्क बुझाउने बेला र अस्पताल जान परेको बेला आक्रोश पोख्नुहरू पनि छन् तर बेरोजगार नेता र तिनका पार्टीलाई लेवी तिर्न भने छोड्दैनन् । यसरी आफ्नो हुर्मत आफैले लिएपछि केन्द्र होओस् या प्रदेश या स्थानीय तह कसरी बन्छ ?
कम्युनिष्ट पार्टी भन्छ हामीसँग नियमित लेवी बुझाउने पार्टी कार्यकर्ता ८/१० लाख छन् । काँग्रेस फुक्छ हाम्रो पनि ५/६ लाख छन् । अनि तिनै पार्टीका नेताहरू मन्त्री र प्रधानमन्त्री हुन्छन्, देश तिनैले लुटेर आफ्ना भजनमण्डलीलाई पोस्छन् अनि देशमा बिकास निर्माणको काम कसरी हुन्छ ?
यस्तै यस्तै विसंगतिले गर्दा राजनीतिशास्त्रले परिकल्पना गरेको नैतिकतामा आधारित स्वेच्छिक स्वयंसेवकहरूको राजनीतिक दल भेट्टाउन दुर्लभ हुँदै गएको छ । यस परिवेशमा ‘आदर्श प्रजातन्त्र’ त्यतात्यतै गायब भएको छ । जब प्रजातान्त्रिक आचरण भएका भनिने धेरैजसो नेता समेत राजनीतिक दलहरू निर्वाचनसँग सम्बद्ध व्यावसायिक मञ्चमा रूपान्तरण भइसकेका छन् तब के हुन्छ ? हामीले आज भोगीरहेका छौं । ए अन्धभक्त कार्यकर्ताहरू तिम्रो जिन्दगी तिमीहरूको जबानी खाडीमा गैंची र बेल्चा खेलाउँदैमा बित्यो ! सधैं कति दास बनिरहने ? हाम्रो परिवारका सदस्यहरू बिरामीपर्दा किन्ने औषधि कति महँगो छ थाहा छ ? छोराछोरी पढ्ने विद्यालयको शुल्कको पारो दिनरात चढ्दो छ यो कुरा बिर्सन मिल्छ ? तिमीहरूलाई थाहा छ कि छैन ? शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने मालिकहरू तिमीहरूले लेवी तिरेको पार्टी र भोट हालेका नेताहरू नै हुन् ! दुर्भाग्य ! अहिले नीति तथा कानुन निर्माणमा समेत अवान्छित स्वार्थ समूह हाबी भएका छन् । देशको नीति तथा कानुन निर्मार्णमै स्वार्थका झुण्डहरू हावी भएपछि त्यो भन्दा दुर्भाग्यपूर्ण अवस्था अरू के हुन सक्ला ?!
जबसम्म हामी कार्यकर्ताबाट रूपान्चरिच भएर नागरिक बन्दैनौं तबसम्म हाम्रै गल्तीका कारण देशमा समृद्धि आउनेवाला छैन ।