२०८२ माघ ८ गते बिहिवार
नेपाली राष्ट्रिय क्रिकेट टिमको महिला तथा पुरुष टिमले आज प्रतिस्पर्धा गर्दैछन्।
आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको पुरुष क्रिकेट टिमले दोस्रो वार्म अफ खेलमा ओमानसँग खेल्दैछ। नेपाली टिम यसअघि खेलेका दुई अभ्यास खेल र एक वार्म अप खेलमा पराजित भइसकेको छ।
नेपाल र ओमानबीचको खेल हरारेमा १२:४५ मा सुरु हुनेछ। यस्तै नेपाली महिला क्रिकेट टिमले आज वुमन्स इमर्जिङ टिम्स एसिया कपमा आफ्नो दोस्रो खेल खेल्ने तालिका छ।
हङकङमा भइरहेको प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। यद्यपी खेल चिसो मैदानका कारण सुरु हुन सकेको छैन। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो।
यता दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्समा रहेको नेपाली पुरुष फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
नेपाल र फिलिपिन्सबीचको खेल दिउँस ४:४५ बजे सुरु हुनेछ। नेपाली टिम फिलिपिन्ससँग खेलेपछि साफ च्याम्पियनसिप खेल्न भारत जानेछ।
साफमा नेपालको समूहमा भारत, पाकिस्तान र कुवेत छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij