२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।
अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।
जेठ २८ गते गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्त थैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। उनको जेठ ३० गते उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त घटनालाई लिएर बिरामीका आफन्तले जेठ ३० गते (मंगलबार) बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै अस्पताल परिसरमा आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।
धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नारा जुलुस, हुलहज्जत गरी अस्पताले तोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।
यस्तो अवाञ्छित क्रियाकलापले स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी र कर्मचारीमाथि अपशब्द प्रयोग गरी नियमित सेवा प्रवाहमा बाधा पुगेको भन्दै अस्पतालको इमर्जेन्सी बाहेकको सेवा अवरुद्ध गरिएको प्रशासनले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij