२०८२ भाद्र १० गते मंगलवार
गोरखा । गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा नेपाली सेनाले संचालन गरेको बृहत स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकासँग सहकार्य गरेर संचालन गरिएको शिविरमा ४ सय ८१ महिला र ३ सय ७२ जना पुरुष गरी कुल ८ सय ५३ जनाले स्वास्थ्य सेवा लिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम बिष्टले बताए ।
पालिकाभित्र बसोबास गर्ने विपन्न वर्गलाई लक्षित गरी संचालन भएको शिविरमा हाडजोर्नी, स्त्री रोग, चर्म रोग, नाक/कान/घाँटी, आँखा, जनरल ओपिडी लगायतका सेवाहरु प्रदान गरिएको थियो । ११ जना बिशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । शिविरमा सैनिक अस्पताल पोखरा, गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाबाट सहयोगस्वरुप प्राप्त औषधीहरु निशुल्क वितरण समेत गरिएको गणपति विष्टले जानकारी दिए ।
दुई दिनसम्म संचालन भएको शिविरमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखरा र नम्वर ३ बाहिनी अड्डाको संयोजन रहेको थियो । शिविरकै अवसर पारेर नेपाली सेनाको नाममा भच्चेकमा रहेको ५ आना दुई पैसा जग्गा पालिकालाई हस्तान्तरण गरिएको छ । भच्चेकबाट काँफलडाँडा हुदै लम्जुङ जोड्ने बाटो स्तरोन्नतीका लागी जग्गा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ । नम्वर ३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले एक कार्यक्रमका बीच उक्त जग्गा पालिकालाई हस्तान्तरण गरेका हुन् ।
शिविरकै अवसरमा पालिका भित्र रहेका बिभिन्न बिद्यालयका बिद्यार्थी लक्षित जनचेतनामूलक कार्यक्रम पनि संचालन भएको थियो । शिविर स्थलमा वृक्षारोपण समेत गरिएको सेनाले जनाएको छ । बिभिन्न प्रजातीका करिव दुई तीन सय बिरुवाहरु रोपिएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij