Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दैनिक कति पानी पिउने र कसरी पिउने ? यस्ता छन् जान्नैपर्ने कुरा !

दैनिक कति पानी पिउने र कसरी पिउने ? यस्ता छन् जान्नैपर्ने कुरा !


  • 2.8K
    Shares

    • images
    दैनिक कति पानी पिउने र कसरी पिउने ? यस्ता छन् जान्नैपर्ने कुरा !
    images

    काठमाडौं । पानीबिना जीवनको कल्पना पनि हुँदैन । मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुने वैज्ञानिकहरु बताउँछन् ।

    पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ । तर दैनिक कति पानी पिउने ? यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।

    पानी कति पिउनुपर्छ र कुन-कुन बेला पिउनुपर्छ ? भन्ने विषयमा केन्द्रित रहेर प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

    शरीरको लागि पानी कति महत्त्वपूर्ण छ ?

    पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ । त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।

    पानी कति पिउनुपर्छ ?

    दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ । साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।

    सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । कति पिउनेभन्दा पनि दैनिक कति पिसाब बन्नुपर्छ भन्ने कुरा अझै महत्त्वपूर्ण हो । २४ घण्टामा दुई लिटर पिसाब आउनुपर्छ ।

    पानी पिउने पनि खास खास समय होला नि ?

    बिहान खाली पेटमा एक लिटर पानी पिउनुपर्छ । यसले रातभरि शरीरमा भएको पानीको कमीलाई पूर्ति गर्छ । त्यसको बिहान पानी पिउँदा मलमूत्र निष्कासनमा पनि सहज हुन्छ । खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

    एकै पटक धेरै पानी पिउनु हुँदैन, थोरै-थोरै गरेर पिउनु राम्रो हुन्छ । दुई-दुई घण्टाको अन्तरालमा एक गिलास पानी पिउनुपर्छ । यदि त्यस्तो मिल्दैन भने बिहान खाली पेटमा र बेलुका कार्यालय वा कामबाट फर्किएपछि एक लिटर पानी पिउनुपर्छ ।

    कस्तो पानी पिउने ?

    शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो हो । जाडो मौसममा बिहानको समयमा अलिअलि तातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

    सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुन्छ । धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

    शरीरमा पानीको कमी हुँदा देखापर्ने समस्या के हुन् ?

    शरीरमा पानीको कमी हुँदा तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न समस्या देखा पर्न सक्छन् । डिहाइड्रेसन, टाउको दुखाइ, कब्जियत, युरिक एसिड, ग्यास्ट्रिक, पिसाबको इन्फेक्सन, पाचन प्रक्रियामा असन्तुलन लगायत समस्या पानीको कमीले देखिन्छन् ।

    दीर्घकालीन रूपमा मिर्गौलाको पत्थरी, युरिक एसिड, मुटुको रोग, छालाको चाउरीपन, शरीरको रोग प्रतिरोधात्मक समस्या कम हुने लगायत समस्या पनि देखिन्छ । यी सबै स्वास्थ्य समस्याको जोखिम कम गर्न दैनिक सन्तुलित रूपमा पानी पिउनुपर्छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १४:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij