Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इमानमा बाँचेको एउटा जीवन

इमानमा बाँचेको एउटा जीवन


  • 4.3K
    Shares

    इमानमा बाँचेको एउटा जीवन

     

        ‘उक्लँदा उक्लँदै उकालोमा

         उक्लेको बाटो नै ओर्लेपछि

         उक्लनेको पनि केही लाग्दोरहेनछ...’

         हो, कवि तुलसी दिवसको यो कविता जस्तै भएथ्यो उनको जीवनमा पनि । जीवनमा अनगिन्ती उकाली–ओराली आउँछन् । यात्राका प्रत्येक उकालोको टुप्पामा पुगेपछि नचाहेर पनि ओरालो झर्नैपर्छ । आम मान्छेले जीवनमा गर्ने अनुभूति पनि हो यो ।

         बुवा चन्द्रप्रसाद रिमाल र माता धनकुमारी । जन्म– मिति २०१९ भदौँ २४ गते । जन्मस्थान–हालको त्रिपुरासुन्दरी गाउँपालिका– ३ धादिङ. । सरल स्वभाव, मिठो वचन । सकारात्मक सोच र सहयोगी भावना । सत्य र इमानदारिता उनको गहना । उनी अर्थात् ज्ञानप्रसाद रिमाल । सम्बोधान गरिने लोकप्रिय नाम हो– ‘ज्ञानुदाइ’ ।

         उनले धर्तीमा पाइला टेक्दा नेपालमा भर्खरै पञ्चायत व्यवस्थाको प्रादुर्भाव भएको थियो । त्यो समय नेपालमा सीमित विद्यालय थिए ऊ बेला, ती पनि राजधनीमा मात्र । बाहिरी जिल्लामा पनि पञ्चायतले शिक्षाको उज्यालो फैलाउने कोशिस भने गर्दै थियो । किन्तु धादिङको त्रिपुरासुन्दरीसम्म त्यो लहर पुगिसकेको थिएन । कारण– भौगोलिक विकटता । पढ्नका लागि कि काठमाडौँ जानुपथ्र्यो कि त भारतको वनारस ।

         बुवा भारतीय सेनामा नायक सुवेदार । कार्यरत थिए । मिलिट्री इन्जिनियरिङ सर्भिस(एमईएस)का पूजारी । पण्डित भएपछि सीधै नायक सुवेदार सरहको पद पाउने व्यवस्था थियो र अद्यापि छ, भारतीय सेनामा ।

          पढ्नका लागि ज्ञानु रिमालले पाँच वर्षकै उमेरमा बुवासँगै भारतको पुरानो राजधानी कलकत्ता जाने मौका पाए । त्यति बेलाका बालबालिकाका लागि स्कुल टेक्न पाउनु सौभाग्यको कुरा हुन्थ्यो । उनले कलकत्ताको सेन्ट थोमसबाट प्राथमिक शिक्षा हासिल गरी आदर्श हिन्दी हाई स्कुल, मोलिनपुरबाट म्याट्रिकसम्मको अध्ययन पूरा गरे ।

         बेलाबखत धादिङ आउनेजाने त हुन्थ्यो नै । साँच्चै भन्ने हो भने उनले बालवयमा आफू जन्मेको माटोसँग धीत मर्ने गरी खेल्न पाएनन् । स्कुल टेक्न पाउनु भाग्य थियो भने सानैमा गाउँ छोड्न पर्नु दुर्भाग्य । शिक्षा हासिल गर्न, उन्नति एवम् प्रगति गर्नका लागि माटो छोड्नै पर्ने जस्तो अवस्था पर्दोरहेछ । वर्तमान नेपालको कटु यथार्थ पनि हो ।

         मान्छे जुन कुरामा रुची राख्छ, स्वाभाविकरूपमा ऊ त्यसैमा पोख्त हुन्छ ।सानैदेखि फुटबलमा रुची राख्ने उनले आफूलाई अब्बल खेलाडीका रूपमा आफूलाई सावित गरी छाडे । उनी पढेको विद्यालयमा उत्कृष्ट खेलाडी सावित मात्र भएनन्  । त्यर्स आधारमा भएपछि उनलाई कलकत्ताको वेस्ट बेङ्गाल बोर्डले आमन्त्रण गÑ¥यो र त्यहाँको जुनियर टिममा अनुबन्ध हुने अवसरसमेत  पाए । उनले करिब साढे दुई वर्ष खेले र, उत्कृष्ट खेलाडीको पुरस्कार पनि हासिल गरे ।

         उनी वि. सं. २०३७ मा कलकत्ताबाट काठमाडौँ आए । काठमाडौँमा उनी शाही नेपाल वायु सेवा निगमको कार्यालय पछाडि सङ्कटा मन्दिर वरपर बस्थे । उनको एक मात्र ध्येय भनेको फुटबल खेल्ने नै थियो । तत्कालीन अवस्थामा काठमाडौँमा केही व्यावसायिक क्लबको विकास हुँदै थियो । यसैबीभ उनको ज्ञानु रिमालको सङ्कटा क्लबका खेलाडी जीवन शाहीसँग चिनाजानी भयो । शाही तत्कालीन राष्ट्रिय खेलाडी पनि थिए । उनले रिमाललाई सङ्कटा ल्कबमा अनुबन्ध गराउने कोशिस गरिरहेका थिए । त्यही बेला रिमाल काठमाडौँको ठमेल सरे ।

         नेपाली काङ्ग्रेसका नेता बलदेव प्रधानसँग रिमालको चिनाजानी भयो । रिमालले नेता प्रधानसँग राम्रो सम्बन्ध स्थापित गरे । प्रधान असल नेता थिए । उनकै सिफारिसमा रिमालले ‘ठमेल– एघार’का नामले चिनिने ठमेलको क्लबबाट फुटबल खेल्ने मौका पाए । अनेकन प्रतियोगितामा  सहभागी भई खेलेर दर्शकमाझ आफ्नो बेजोड कला प्रदर्शन गरे ।

     

         अन्य आयस्रोविना खेलेर मात्र खान नपुग्ने । तसर्थ  रिमालको अन्य आयस्रोत थिएन । हातमुख जोर्नका लागि कुनै न कुनै काम त गर्नै पथ्र्याे । उनै नेता प्रधानकै कारण रिमालले ठमेलको ‘केसिज रेस्टुरेन्ट’ बेयराको काम पाए । रिमाल फुटबलको राम्रो खेलाडी भएकाले मान्छेमा उनीप्रति माया र सम्मानभाव हुन्थ्यो । रेस्टुरेन्टका साहुसाहुनीले पनि निकै सम्मान गर्थे । उनीहरू रिमाललाई सँगै राखेर खाना खुवाउँथे । तर उनलाई भने आफूले मान्नु पर्ने मान्छेहरूसँग बसेर खाँदा कताकता असजिलो महसुस हुन्थ्यो । अतः उनले त्यहाँ काम छोडे । तत्पश्चात् उनी ठमेलकै अर्को रेस्टुरेन्ट ‘पिस प्लेस इन’मा काम गर्दै फुटबल खेललाई जारी राखे ।

         कलकत्तामा पढेका ज्ञानु रिमालको अङ्ग्रेजीमा राम्रो दखल थियो । त्यति बेला उनका खलकी दाजु हरि रिमालले ‘नेपाल हाइकिङ’ नामको ट्रेकिङ कम्पनी चलाउँथे । उतिखेर ट्रेकिङ गाइडको कमी हुन्थ्यो । अझ धाराप्रवाह अङ्ग्रेजी बोल्न सक्ने गाइड पाउनु त झन् मुस्किल । उनको अङ्ग्रेजी राम्रो भएकोले हरि रिमालले आफ्नो कम्पनीमा ट्रेकिङ गाइडका रूपमा नियुक्त गरे ।

         ज्ञानु रिमालले पहिलो पटक नेदरल्यान्ड्सका एक प्रख्यात फिल्मी कलाकारको गाइड भएर ट्रेकिङ गर्ने मौका पाए । उनले गरेको पहिलो ट्रेक थियो– कास्कीको सारङ्कोट । टी–हाउस ट्रेकको अवधारणा आइनसकेको त्यो बेला क्याम्पिङ ट्रेक मात्र चल्थ्यो । दोस्रो पटक भने शिवपुरी ट्रेक गरे । ट्रेकिङ गाइड पेशाप्रति उनको लगाब बढ्दै थियो । त्यसपछि उनले फ्री–ल्यान्स गाडड गर्न थाले ।

         चन्द्र श्रेष्ठ नाम गरेका व्यक्ति होटल ब्लु एन्जल्समा काम गर्थे । उनले रिमाललाई फ्रेन्च नागरिक चेरी बुर्जवासहित दुई जनासँग परिचय गराइदिए । रिमालले तिनै फ्रेन्च नागरिक चेरीलाई घोरेपानी ट्रेक गराए ।

         मान्छेको जीवन आफैँमा पनि एउटा संयोग हो । कसैले कसैलाई भेट्नु अर्को संयोग । चेरी बुर्जवासँगको भेट एउटा सुखा संयोग थियो, ज्ञानु रिमालको । यही संयोग नै उिनकोे पर्यटन क्षेत्रमो प्रस्थानबिन्दु बन्न पुग्यो ।

         घोरेपानीको उकालो चढ्दै गर्दा चेरीले रिमाललाई आफैँले कम्पनी खोल्ने सल्लाह दिइन् । तर भर्खरभर्खर गाइड गर्दै गरेका ज्ञानुका लागि तत्काल कम्पनी खोल्न असम्भवप्रायः थियो । कम्पनी खोल्न सक्ने आर्थिक हैसियत नभएको कुरा उनले निःशङ्कोच  बताए चेरीलाई । उनी मिहिनेती मात्र नभई  ड्युटीमा अनुशासित र मयार्दित थिए । त्यसैले उनको स्वभाव विदेशीले मन पराउँथे । सहयोगी स्वभाव भएकै कारण चेरीले ज्ञानुलाई कम्पनी खोल आर्थिक सहयोग गरिन् ।

    वि.सं. २०४० मा ‘गणेश हिमाल हाइकिङ’ सुरु गरे उनले । विना अनुमति–पत्र पर्यटकीय गतिविधिलाई निरन्तरता दिन सम्भव थिएन । पञ्चायतकालीन समयमा उद्योग दर्ता गर्न पञ्चायतले चिनेका व्यक्ति वा राजनीतिकर्मीको संलग्लनतामा मात्र सम्भव हुन्थ्यो ।

         संयोगवस रिमालको परिचय धादिङका हरिबहादुर थापासँग थियो । उनी धादिङका तत्कालीन जल्दोबल्दो पञ्च । २५ वर्षसम्म निरन्तर राष्ट्रिय पञ्चायत सदस्यमा प्रतिनिधित्व गर्ने कमैमध्येका एक । विभिन्न मन्त्रालय सम्हालेका उनी ‘मिस्टर हरिबहादुर थापा’का नामले चिनिन्थे । उनै मिस्टर हरिबहादुर थापाको संलग्नतामा रिमालले २०४१ सालमा गणेश हिमाल ट्रेकिङ विधिवत् दर्ता गरे । त्यति बेला श्रीप्रसाद बुढाथोकी पर्यटन मन्त्री थिए ।

         त्यसैताक शिव प्रसाईंले स्टुडेन्ट ट्राभल दर्ता गराएका थिए । उनको ट्राभलमा ज्ञानु रिमाल र ज्ञानु रिमालको ट्रेकिङमा प्रसाईंको आवद्घता थियो ।

         अब उनी ट्रेकिङ गाइडबाट एकाएक ट्रेकिङ व्यवसायी बन्न पुगे । श्रमिकबाट सीधै मालिक बन्नसक्ने उद्योग भनेकै पर्यटन उद्योग हो । उनको कार्यक्षमता, लगन, सत्यवादिता र इमानदारीले कम्पनीले उचाइ लिँदै गयो ।

         उनले त्यति बेला व्यवसाय सुरु गरे जतिबेला अहिलझैँ इमेल र इन्टरनेटको सुविधा थिएन । विदेशीसँग चिठीपत्रमार्फत् सम्पर्क हुन्थ्यो । पदयात्रामा जाने विदेशीहरू भेट्ने ‘मिटिङ प्वइन्ट’ होटलहरू हुन्थे ।

         ज्ञानु रिमाल ‘भिजन’ भएका व्यवसायी थिए । सबैभन्दा पहिलो पटक ‘टुरिस्ट बस टु पोखरा’को अवधारणा ल्याउने उनै थिए । स्विस टा«भलले कालो प्लेटमा टुरिस्ट बस चलाउँथ्यो । पर्यटक सवारीमा हुने हरियो नम्बर प्लेटको अवधारणा पनि उनैको थियो । स्टुडेन्ट ट्राभल र गणेश हिमाल मिलेर हरियो नम्बर प्लेटमा काठमाडौँ–पोखरा–काठमाडौँ टुरिस्ट बस सेवा सञ्चालनमा ल्याए जो ठमेल चोकबाट छुट्ने गथ्र्यो ।

         चालीसको दशकमा कुनै पनि ट्रेकिङ कम्पनीले कमिसन दिने गर्थेनन् । होटललाई कमिसन दिँदा व्यवसायको आयतन पनि बढ्ने हुनाले उनले २५ प्रतिशत कमिसन दिने चलन चलाए । यसरी चलेको कमिसनको चलनले उनको व्यवसायको आयतन मात्र बढेन, होटल वा होटलका ‘होटल प्रतिनिधि’का रूपमा काम गर्ने श्रमिकहरू लाभान्वित हुन थाले । लाभांश बाँडचुड गरेर खाने यो राम्रो कायद पनि थियो ।

         बहुलदीय व्यवस्थाको पुनर्बहालीपछि संघसंस्था खोल्न सहज भयो । ट्रेकिङ कम्पनीहरू च्याउसरी खुल्न थाले । जसले उनकै पदचप पछ्याए । तीमध्ये धेरैजसो कम्पनी गणेश हिमाल ट्रेकिङका श्रमिकहरू नै थिए र आजसम्म पनि छन् । यसरी उनी आफू मात्र कम्पनीको मालिक भएनन् । आफूसँग काम गर्ने सबैलाई मालिक बन्ने हैसियत बनाइदिए । नेपालको पर्यटन प्रवद्र्घन, यसका मूल्य र मान्यता स्थापित गर्ने सवालमा ज्ञानु रिमालको प्रत्यक्ष÷परोक्ष महत्वपूर्ण योगदान रह्यो । यति मात्र होइन, उनले पर्वतीय पर्यटनमा गैरशेर्पाले पनि योगदान पु¥याउन सक्छ भन्ने मान्यता स्थापित गराइदिए ।

         यसैबीच रिमालले ‘होटल गणेश हिमाल’ पनि सञ्चालनमा ल्याए । होटलमा दुई रात बस्दा ग्राहकले एक रात बस्दा तिरेको पूरै रकम गाहक ल्याइदिने साथीभाइ(गाइड वा ड्राइभर)लाई दिन्थे । विनालगानी लाभान्वित हुन्थे उनीहरू । यतिमात्र होइन, उनले बढी संख्यामा गाहकी ल्याइदिने साथीभाइलाई काठमाडौँ–बैङ्कक टिकट वा त्यो बराबरको रकम दिने व्यवस्था पनि गरे ।  सजायको भय वा इनामको आशाले गरेका थिएनन् उनले यी काम, बरु धर्मको आधार नै सत्य र दान हो भन्ने ठानेर ।

         भातृप्रेम र मित्रवत व्यवहार गर्न जानेका थिए ज्ञानु रिमालको नजरमा समान थिए । सबैप्रति उत्तिकै माया र सम्मानभाव । हरेकखाले अवसरमा सबैसँग भेटघाटको आयोजना गर्थे । एअरपोर्टका प्रायः विदेशी ल्याउने चालक र होटलका प्रतिनिधीहरू एवम् फ्रिल्यान्स गाइडका प्रिय बनेका थिए रिमाल । र, त उनले ट्रेकिङ र होटलमा ‘अफ सिजन’ भोग्नु परेन । उनको होटल र ट्रेकिङ कम्पनीमा कुनै बेला यस्तो दृश्य पनि देखिन्थ्यो कि– कमिसन लिनेहरू लिँदै गरेका र पाहुना ल्याइदिनेहरू ल्याउँदै गरेका । यसरी धेरैका च्यातिएका जीवनका पानाहरूलाई उनले प्रेमपूर्वक टाँसे र एउटा अमूल्य पुस्तकसरि बनाइदिए ।

         ट्रेकिङ कम्पनी त छँदै थियो । होटल गणेश हिमालपछि उनले होटल रिमाल सञ्चालनमा ल्याए  । लगभग बाह्र वर्षसम्म होटल चलाए । यो अन्तरालमा उनले कहिल्यै पनि यौन गतिविधिका खातिर कोठा बेचेनन् । ठमेलका कतिपय मसाज सेन्टरका नाममा हुने यौनजन्य गतिविधिहरूलाई उनले रुचाएनन् किनकि यस्ता विसङ्गतिप्रति उनी सचेत थिए । महिलालाई यौन सन्तुष्टिको वस्तुको रूपमा हेरिनु हुन्न भन्ने उनको धारणा थियो । यसले समाजमा धेरै महिला र पुरुषहरूको परिवारलाई बर्बाद पार्ने बुझाइ थियो उनको । भविष्यमा बालिका बेचबिखनमा परेर समाजमा अपराधिक घटनाको बढोत्तरी हुने चिन्ता थियो उनमा ।

         बलदेव प्रधानसँगको सङ्गतले रिमालको भेटघाट गणेशमान सिंहसँग पनि हुने गथ्र्यो । प्रारम्धमा उनी नेपाली काङ्ग्रेस पार्टीको समर्थक भए । गणेशमान सिंहको प्रशंसक पनि । मिस्टर हरिबहादुर थापा कम्पनीका साझेदार र प्रभावशाली राजनीतिकर्मी भएकोले स्वभाविकरूपमा उनको प्रभावमा पर्ने नै भए । यसै पनि समाज सेवा रिमालको सोख थियो । जुन पार्टी विशेषमा लागे पनि आखिर निःस्वार्थ समाज उनको अभिष्ट थियो ।

         बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी(थापा)सित निकट भए । प्रजातन्त्र पूनर्बहालीपछिको पहिलो स्थानीय निर्वाचनमा त्यही पार्टीको टिकटमा भाग लिई वडा अध्यक्ष निर्वाचित भए । पछि धादिङ जिविस उपसभापति बने । उनका लागि त्यो चुनौती र अवसर दुवै थियो । उनले पदमा रहुन्जेल न तलबभत्ता लिए न त सरकारी गाडी नै प्रयोग गरे । बरु सुविधाको गाडी सुत्केरी महिला र बिरामीका लागि प्रयोग गराए । राज्यले दिएको तलबभत्ताले नपुगेर भष्ट्राचार गर्नेका लागि शालीन चड्कन थियो उनको यो सत्कर्म । यस्तो विचार र भावना भएका नेताहरू बिरलै थिए र छन् नेपालमा ।

         पछि दुई राप्रपा ‘थापा’ र ‘चन्द’ एकीकरण भई राप्रपा बन्यो । दत्तचित्त भएर देश र जनताप्रति उत्तरदायी हुँदै गर्दा २०५१ को मध्यावधि निर्वाचनमा होमिए । विडम्बना नै भन्नुपर्छ, अन्य दलहरूको तिकडमका अगाडि सत्य र निष्ठाका राजनीति गर्ने राप्रपाका रिमाल झिनो मतान्तरले पराजित हुन पुगे ।

         निष्ठाको राजनीतिले पराजय भोग्ने हाम्रो कन्दर्भमा ज्ञानु रिमाल पनि अपवाद हुन सकेनन् । त्यसो त एन्फाको सदस्य हुँदा तत्कालीन अध्यक्षले व्यापक आर्थिक अनियमिता गरेको थाहा भएपछि मतभेद हुँदा उनले राजीनामा नै थमाएका थिए । व्यक्तिगत स्वार्थका लागि कुनै भ्रष्टसँग कुम जोडेर नबस्न दृष्टान्त पेश गरे उनले ।

         केशव स्थापित खेलकुद परिषद्को सदस्य सचिव हुँदा गणेश थापालाई एन्फाको अध्यक्ष र ज्ञानु रिमाललाई सदस्य नियुक्त गरेका थिए । फुटबललगायत समग्र खेलकुद बुझेका मान्छे चाहिन्छ भनेर स्थापितले ‘राइट म्यान, राइट प्लेस’को ज्वलन्त उदाहरण पेश गरेका थिए ।

         त्यो बेला एन्फाको आर्थिक अवस्था नाजुक थियो । एन्फाले राजा वीरेन्द्रको स्वर्ण जन्मोत्सवको अवसरमा फुटबल म्याचको आयोजना गर्दा एकैपटक रू. बाईसलाख उठाउन सफल भयो । पहिलेपहिलेका टुर्नामेन्टहरूमा टिकट अगाडिदेखि नै बिक्री गर्ने प्रचलन हुँदा कर्मचारीहरूले नै नक्कली टिकट बनाएर बेच्ने गर्थे । त्यसो गर्दा रङ्गशाला टनाटन भए पनि एन्फा चाहिँ सधैँ घाटामा हुन्थ्यो । त्यो पटक म्याच हुने दिन गेट खोलेपछि मात्र टिकट वितरण गर्ने चलाखी गरेका थिए ज्ञानु रिमालले । खेलाडीहरूलाई स–सम्मान विदाइ गर्ने अवधारणा पनि उनैले ल्याएका थिए । एन्फालाई आर्थिकरूपमा समृद्घ बनाएपछि एन्फाकै निजी भवन पनि बन्यो उनकै सक्रियतामा ।

    ०००

         ‘समयले मान्छेलाई कहाँ कहाँ पु¥याउँछ, कहिले हसायाछ कहिले रुवाउँछ’ भनेझैँ कमाएको पैसा राजनीति र समाज सेवामा सकेपछि ‘हात लाग्यो शून्य’को स्थितिमा पुगे उनी । र, पनि कुनै ग्लानी भएन उनलाई न त विचलित नै भए । समय आउँछ तरे फर्कंदैन वा आए पनि त्यो समय अनुकूल नरहन सक्छ । यस्तै भइदियो ज्ञानु रिमालका सवालमा पनि ।

         एउटा फुटबल खेलाडीले बललाई ‘फ्री किक’ हान्दा अकासिन्छ र निश्चित उचाइमा पुगेपछि फेरि मैदानमै खस्छ । त्यस्तै हो– मान्छेको जीवन पनि ।

         मुलुकको राजनीतिक अवस्थाका कारण सफलताको टाकुरो भुमेका धेरै व्यवसायीको भिजन र मिसनले काम गरेन त्यति बेला । मुलुकको पर्यटनमा प्रत्यक्ष÷परोक्ष रूपमा प्रभावित हुँदा अछुतो रहन सकेनन् उनी पनि । उनमा आर्थिक विचलन आउनुको कारण नै यही थियो । ठीक त्यही बेला पनि उनले तीन चिजमा भने हेक्का राखे । ती हुन्– महान लक्ष्य, कडा मिहिनेत र दृढता ।

         अन्ततः सन् २००४ जनवरी १९ का दिन अमेरिका उडे उनी । त्यहाँ पुगेको पर्सिपल्टदेखि नै उनी यसरी काममा खटिए कि लगातार एकहजार पैँतीस दिनसम्म काम गरे । मान्छेले काम त गर्छन् तर यसरी खटेर काम गर्ने मान्छे सायदै होलान् । सङ्घर्ष उनको जीवनले माग गरेको कुरा थियो किनकि उनका पछाडि उनमै आश्रित थियो उनको सिङ्गो परिवार । जिन्दगीमा जित्नका निम्ति कसैको साथभन्दा पनि आफैँमा साहस हुनुपर्छ भन्ने सिद्घ गरे उनले । अर्थात् जति कठिन सङ्घर्ष उति सानदार जित ।

         मानिस आफैँमा असन्तोषी प्राणी हो । यथार्थ के होला भन्न सकिन्न तर उनलाई देख्दा यस्तो लाग्छ– एउटा मान्छेले कठोर पहाड चढेर भन्ज्याङ पुगेपछि गर्ने आनन्दानुभूति गरिरहेका छन् उनी अहिले ।

         छोराछोरी आ–आफ्नै खुट्टामा उभिएका छन् । बस्नलाई बास त आयआर्जनका लागि व्यवसाय । यही हो जीवनको सफलता । समाजको एउटा आदर्श पात्र र इमानमा बाँचेको एउटा जीवन हुन् उनी ।

         “जीवन भनेको प्रकृतिले मान्छेका लागि तोकिदिएको जन्मदेखि मृत्यपर्यन्तको कालावधि हो । दुःख, सुख, सद्भाव, सम्बन्ध, माया र ज्ञान यही अवधिमा हुन्छन् ।” सामान्य अर्थमा जीवनको परिभाषा दिन्छन् उनी ।

         उनी थप्छन– “हामी आफैँले सोचेभन्दा धेरै समर्थवान् छ पञ्चतत्वले बनेको यो शरीर । असम्भवलाई सम्भव तुल्याउन सक्ने क्षमता छ । त्यो क्षमतालाई पहिचान गरेर समग्र मानव जीवनलाई  उन्नयन गर्न सक्यौँ भने त्यो सार्थक जीवन हो ।”

         हुन पनि उनी सबैको खुसी लेख्ने सिसाकलम र दुःख मेट्ने मेटक बनेरै बिताइरहेछन् यहासम्मको जीवन ।

         केही यादगार सम्झना साँचेर राखेका छन् ज्ञानु रिमालले ।

         उनको जीवनमा यस्तो दिन पनि आएथ्यो– ट्याक्सी चढ्ने पैसा नहुँदा ठमेलदेखि घरसम्म र घरदेखि ठमेलसम्म हिँड्थे । दुःख कसैलाई सुनाएनन् । त्यसैले त कहिलेकाहीँ उनको यही अवस्थालाई बुझेर पकेट खर्च थमाइदिने मित्र सीताराम सापकोटालाई बिर्सन सक्दैनन् उनी ।

         छैटौँ साफ गेममा भारतको मद्रास जाँदा भएको भव्य स्वागतलाई जीवनको अविस्मरणीय क्षण मान्छन् उनी । प्रहरी निरिक्षक नै गार्ड र प्रत्येक देशका खेलाडीहरूका लागि छुट्टाछुट्टै आवासको व्यवस्था गरेकी थिइन्, तत्कालीन मुख्यमन्त्री जय ललिताले । तामिल गुरिल्लाको ज्यान मार्ने धम्कीका बाबजुद पनि उनले छ महिनामा नयाँ रङ्शाला बनाई प्रतियोगिता सम्भव गराएकी थिइन् ।

         सीधा प्रकृतिका मान्छे हुन् रिमाल । तर उनी अन्याय सहन सक्दैनन् । स्कुले जीवनमा कलकत्तामा कुनै नेपालीलाई भारतीयहरू हेपेको सहन नसकी हातपात गर्दा तत्कालै बीसजना स्थानीयको पिटाइ खाए । फलतः निधारमा बसेको खत निशानी बनेको छ उनको जीवनमा । यस्तै घटना एक अमेरिकी निग्रोसँग पनि भएको पनि ताजै छ उनको स्मृतिमा ।

          खेलाडीमा पेलेको जादु र राजनीतिमा सूर्यबहादुरको चलाखी हो उनलाई मन पर्ने । दक्षिण अफ्रिकाका रङ्गभेद विरोधी नेता नेल्सन मण्डेला, नेपालका किसुनजी र गणेशमानको विशेष सम्झना गर्छन् उनी ।

         मातृभूमि नेपाल र नेपाली शब्द नै स्नेहिलो लाग्छ उनलाई । राष्ट्रियता त झन् प्राणभन्दा प्यारो ।

         एउटै मात्र भावी योजना छ उनको । त्यो हो– विधिवत् रूपमा अमेरिकी नागरिकता त्याग्ने र निःश्वार्थ भएर पहिलेझैँ समाजसेवामा समर्पित रहने ।

    प्रकाशित मिति :बैशाख ९ २०८० शनिवार - २०:०९:२१ बजे
    प्रतिक्रिया

    राजेन्द्रमान डंगोल

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij