Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘सकम्बरी’बारे अमेरिकाबाट आयो प्रकाश सपुतको यस्तो पत्र

‘सकम्बरी’बारे अमेरिकाबाट आयो प्रकाश सपुतको यस्तो पत्र


  • 3.7K
    Shares

    ‘सकम्बरी’बारे अमेरिकाबाट आयो प्रकाश सपुतको यस्तो पत्र
    images

    पछिल्लो समय गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’का कारण चर्चा र विवदाको केन्द्रमा छन्। उनको त्यो गीतको विरोध र समर्थन दुवै भइरहेको छ। थुप्रै विज्ञले उनको गीतबारे प्रतिक्रिया दिइरहेका छन्। यही चर्चा र विवादका कारण रिलिजको सातौँ दिनमै उनको गीतले करोड भ्युज क्रस गरिसकेको छ। 

    गीतको विरोध गर्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले विज्ञप्ति नै निकालेर गायक प्रकाशसमक्ष विभिन्न प्रश्न तेर्स्याएको छ। युट्युबलगायत सामाजिक सञ्जालबाट गीत हटाउनै उसले माग गरेको छ। प्रकाश सपुतको ‘सकम्बरी’प्रति रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति, भिडिओ हटाउन माग

    यसैबीच उक्त विज्ञप्तिलाई सम्बोधन गर्दै गायक प्रकाशले आफ्नो गीत ‘सकम्बरी’बारे यसरी स्पष्टीकरण दिएका छन्।

    अमेरिकाबाट फेसबुकमा प्रकाश लेख्छन्-

    सात दिनमा करोडपटक हेरिएको छ। धेरैले गीत सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ। केहीले यसको विषयवस्तुलाई गम्भीर रूपमा मनन गर्नुभएको छ र हामीलाई धन्यवाद दिनुभएको छ। अलिकतिले चाहिँ यसका केही कमजोरीहरू औँल्याउनुभएको छ। यति धेरै माया, प्रश‌ंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईंहरूको सहभागिता साँच्चिकै म्याजिकल छ। अमूल्य छ। सबैखाले प्रतिक्रियालाई मनन गरेको छु। माया र प्रशंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ। तपाईंहरू सप्पैलाई एकमुस्ट रूपमा धन्यवाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है! 

    तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नुभएकाले यो विषयलाई चाहिँ सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो...

    श्री अध्यक्षज्यू!

    रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ, काठमाडाैँ  

    पछिल्लो गीत ‘सकम्बरी’ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो। यो सबै क्षेत्रमा छ। अझ भनौँविश्वव्यापी छ। यो व्यक्तिविशेष छ, दृष्टिविशेष छ, प्रवृत्ति विशेष छ। त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो। र, कुनै अर्को क्षेत्रमा छँदैछैन भन्नु पनि अपत्यारिलो हो। तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ। यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया हो। यसलाई कुनै आधिकारिक रिपोर्ट सामग्रीजस्तो गरी नबुझिदिनुहोला।

    यसलाई कथा वा कला सामग्रीका रूपमा बुझिदिनु होला। यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिएँ। म सधैँ ऋणी छु। आभारी छु। र, साथै इमान्दारिताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैथ्यो भने ‘सकम्बरी’को कथा पनि मसँग हुँदैनथ्यो। गीत र भिडिओलाई  लिएर प्रेस विज्ञप्ति र अन्तर्वार्ताहरू आएपछि म  सुरुमा अलिकति झस्किएँ। तर अहिले म खुसी छु। तपाईंहरू रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनुभएको रहेछ। ५ वर्ष साँझमा काम गर्दैगर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु। थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु। तर त्यहीँबाट मजस्तै थुप्रैले आफ्नो जीवनको लय भेट्टायौँ र अगाडि बढ्यौँ। त्यसैले समग्रमा क्षेत्र राम्रो/नराम्रो भन्दा पनि हामी भित्र पनि राम्रा/नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि  बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपात छ। 

    ठूलो समस्या छ। यसरी  समस्या सबैतिर छ। त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो। मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो। यसमा अझै धेरै भूमिका राज्यको हुन्छ। हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो। हामीजस्तो समाजमा बस्छौँ, त्यस्तै चेतना बन्छ। त्यस्तै दृष्टिकोण बन्छ। सिर्जना त्यस्तै बन्छन्। त्यसैले यो देशकै समस्या हो। 

    खैर, मेरो सिर्जनाले प्रत्यक्ष/अप्रत्यक्ष जो, जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु। मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन। समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन। म पनि यही समाज र परिवेशको उत्पादन हुँ। मेरो चेतना पनि यहीँ निर्माण भएको हो। त्यसैले  कमजोरी छैन भन्दिनँ। छ। तर सकिनसकी/जानिनजानी गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने  हो। रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होइन, देशका सबै क्षेत्रलाई, सबै अंगलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाईं हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। 

    बाँकी, म फर्किएपछि  दोहोरी साँझमा बसेर समीक्षा गरौँला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म...कुनै मिठो भाका छान्दै गर्नुहोला। धन्यवाद! 

    प्रकाश सपुत, अमेरिकाबाट

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १०:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij