२०८२ भाद्र १० गते मंगलवार
बालबालिकाको सुताइको महत्व बाल्यावस्थाका लागि मात्रै होइन, वयस्क हुँदाका लागि पनि उत्तिकै हुन्छ। निद्रा पुग्ने गरी राम्ररी सुत्न नपाउनु र सुत्न नसक्नुले बाल्यावस्थाको शारीरिक, मानसिक र भौतिक विकासमा नकारात्मक असर पुर्याउँछ।
यस्तो असर उसको वयस्क अवस्थाको शारीरिक र मानसिक स्वास्थ्यमा पनि पर्छ। आनन्ददायी सुताइ वयस्क व्यक्तिका लागि पनि अपरिहार्य हुन्छ। यो लेखमा मैले बालबालिकाको सुताइको महत्व र सुत्ने वातावरणबारे चर्चा गरेको छु।
नवजात शिशु आमाबाबु र अभिभावकको नजिक रहन चाहन्छ। यी व्यक्तिहरू नजिकमा रहँदा, हलुका स्पर्श गरिदिँदा र बिस्तारै गुनगुनाउँदा शिशुले आफूलाई सुरक्षित महसुस गर्छ। रूँदै वा कराउँदै गरेको छ भने पनि शान्त बन्छ।साना बालबालिकाका लागि रूनु स्वतः सञ्चालित क्रिया हो। यसै कारण बच्चाहरू कहिलेकाहीँ कुनै खास कारणबिना पनि रून्छन्।
रूनु वा कराउनुमा मुख्य कारण चाहिँ आफ्नो अभिभावक आफूनजिक छैन भन्ने थाहा पाउनु हो। आमाबाबु वा कोही नजिक आएर स्पर्श गर्दा वा विस्तारै बोलाउँदा ऊ चुप लाग्छ। रूनुको अर्को कारण भोक हो। अघाएपछि शान्त रहन्छ।
जन्मको पहिलो महिनाभर शिशुले स्तनपानमा जोड गर्छ। ऊ छिटो बढ्न चाहन्छ। शिशुको सुत्ने, उठ्ने, खाने, दिसा–पिसाब गर्ने इत्यादि केही पनि रूटिन बनेको हुँदैन। उसको आफ्नो मापदण्ड पनि हुँदैन।
यस्तो जैविक प्रक्रियाको सामान्य रूटिन नबनुन्जेल खासगरी आमालाई अलिक बढी कठिन हुन सक्छ। आमा पनि राम्ररी सुत्न नपाउने अवस्था सिर्जना हुन सक्छ। यसबाट आमालाई पनि मानसिक असर पर्न सक्छ। यसकारण माथि भनिएको कुरामा बच्चाको सामान्य रूटिन नबनुन्जेल बाबु र अभिभावकले आमालाई सघाउनु पर्छ। शिशुको मात्रै होइन, आमाको पनि खानपिन र सुताइमा ध्यान दिनुपर्छ।
आमाबाबुसँग सुताउने चलन
नेपालमा बच्चालाई आमाबाबुसँगै सुताउने चलन छ। यस्तो चलन संसारभर विभिन्न देशमा छ। विशेष गरी बच्चालाई आमासँगै सुताउँदा स्तनपान गराउन सजिलो हुन्छ, राति बच्चा रोएको तुरून्तै थाहा हुन्छ, ओछ्यानबाट उठिरहनु पर्दैन। दिसा–पिसाब गरेको अवस्थामा पनि सजिलो गरी थाहा हुन्छ।
बच्चालाई न्यानो बनाइराख्न पनि सँगै सुताउनुपर्छ भन्ने धारणा छ। शिशुसँगको बलियो भावनात्मक पक्षले पनि सँगै सुताउन प्रेरित गर्छ।
हामी नेपाली जन्मदेखि बाल्यावस्थाको धेरै समय आमासँग सुत्छौं। बच्चालाई आमाको ओछ्यान सबैभन्दा सुरक्षित र प्यारो लाग्छ। हामी धेरैको अनुभव प्रायः यस्तै होला। युरोपको स्वीडेनतिर यस्तो चलन राम्रो हो कि होइन भनेर अनुसन्धान गरिएको छ। निष्कर्षले शिशुलाई कम्तीमा पहिलो तीन महिना एक्लै सुताउन सल्लाह दिएको छ।
नवजात शिशुको टाउको र शरीर संवेदनशील हुने भएकाले निद्राको असावधानीमा बच्चा पेलिन वा किचिन सक्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त बच्चाको ज्यानै जाने दुर्घटना पनि हुन सक्छ। यसकारण पहिलो तीन महिना शिशुलाई एक्लै सुताउन सल्लाह दिने गरिएको पनि छ।
बच्चा सँगै सुताउँदा आमाको हातले पनि थिचिन सक्ने सम्भावनातर्फ ध्यान दिनु जरूरी हुन्छ। सकेसम्म बच्चालाई आमाबुबाको नजिकै तर निद्राको असावधानीमा हात र शरीर चलाउँदा नभेटिने गरी सुताउनु उचित हुन्छ। बच्चालाई आमासँगै एउटै ओछ्यानमा सुताउँदा पनि बच्चाको वरिपरि लुगाको बार लगाएर सुरक्षित गर्नु राम्रो हुन्छ।
बच्चाको मस्तिष्क विकास हुन लामो समय लाग्छ। बच्चाले टाउको र शरीर एकसाथ चलाउन सक्दैन। यसकारण जन्मको पहिलो महिनाभरि बच्चा उचाल्दा र सार्दा उसको शरीर र टाउकोलाई एक साथ आड दिनुपर्छ।
यसपछि पनि ख्याल पुर्याउनु पर्छ।
कहिलेदेखि सँगै सुताउने?
बच्चा पाँच / छ महिनाको भएपछि आफैं पल्टन सुरू गर्छ। यसपछि ओछ्यानमा उसमाथि दुर्घटना हुन सक्ने सम्भावना धेरै हदसम्म कम हुन्छ।
यसपछि सावधानीका साथ आमासँगै सुताउन सकिन्छ। सँगै सुताउँदा पनि बच्चाको सुरक्षामा ध्यान दिनुपर्छ। बच्चा आफैं पल्टिने भएपछि खाटबाट लड्ने वा भुइँमा सुतेको भए चिसो भागतिर पुग्ने सम्भावना हुन्छ। सिरक, सिराने वा यस्तै नरम वस्तुको आड लगाएर सुरक्षित बनाउन सकिन्छ।
बच्चाको सुताइको महत्व
बच्चा आरामदायी तरिकाले सुत्न पाउनु उसको मानसिक र शारीरिक वृद्धि तथा स्वास्थ्यका लागि अपरिहार्य हुन्छ। जन्मको लगत्तैदेखि बच्चाको सुताइमा विशेष ध्यान दिन आवश्यक हुन्छ। बच्चालाई नरम र केही पातलो लुगा लगाइदिएर सुताउनु पर्छ। बालबालिकाको सुताइमा तातो–चिसो सावधानीपूर्वक मिलाउनु पर्छ।
मौसमअनुसार उपयुक्त ओढ्ने ओढाउनु पर्छ। मौसमअनुसार झ्याल केही खोलेर हलुका रूपले कोठामा हावा ओहोरदोहोर गर्न दिनुपर्छ। बच्चालाई दिन र रात थाहा पाउन कम्तीमा छ महिना लाग्छ। ऊ राति पनि उठ्छ, खान खोज्छ। बच्चाको तौल वृद्धि राम्रो भएको छ भने करिब छ महिनापछि क्रमशः राति नखाने बानी पार्दै जानुपर्छ।
बच्चा सुत्न शान्त वातावरण चाहिन्छ। हुर्किँदै गएपछि उसको सुत्ने समय हरेक दिन एउटै बनाउनु पर्छ। यसो भयो भने उसको सुताइ राम्रो हुन्छ। बच्चाको सुताइको आवश्यकता पनि फरक–फरक हुन सक्छ यद्यपि पछिल्ला केही अध्ययनहरूले सुताइको अवधि सिफारिस गरेका छन्।
पहिलो एक वर्ष १५ देखि १८ घन्टा सुत्न आवश्यक हुन्छ। त्यसपछिको दुई वर्ष १२–१४ घन्टा, त्यसपछिको तीन वर्ष ११–१२ घन्टा सुत्नु आवश्यक हुन्छ। यसपछि ६ देखि १२ वर्षसम्म १०–११ घन्टा र १२ देखि १८ वर्षसम्म ८–९ घन्टा सुत्न आवश्यक हुन्छ।
बच्चाको पर्याप्त र शान्त सुताइ उसको मस्तिष्क वृद्धि, सम्झनाहरू सञ्चय र शारीरिक विकासको लागि अपरिहार्य हुन्छ। हर्मोनहरू पनि सुतेका बेला मात्र बन्ने भएकाले सुत्नुको महत्व ठूलो हुन्छ।
बाल्यावस्थादेखि नै सुत्ने, खाने / पिउने, दिसा–पिसाब गर्ने जैविक प्रक्रियाको खास बानी वा रूटिन विकास गरिदिनु राम्रो हुन्छ। यस्तो रूटिन भएन भने बच्चाको सुताइ खल्बलिने डर हुन्छ।
सबै वातावरण अनुकूल हुँदा पनि बच्चा सुत्न सकेको छैन भने बिमारी भएको हुन सक्छ। यसतर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ।
आमाको सुताइ
बच्चाको जस्तै आमाको सुताइको पनि ख्याल गर्न आवश्यक हुन्छ। बच्चाको कारणले आमाले निदाउन नपाउने अवस्था भएमा बाबुले बच्चा स्याहारेर सुत्न दिनुपर्छ। आमाको निद्रा राम्रो नभए उनमा मानसिक असर पर्न सक्छ।
धूमपानको असर
अर्को महत्वपूर्ण कुरा आमाबाबु र अन्य अभिभावकको धूमपानको आदतसँग सम्बन्धित छ। आमाबाबु र अभिभावकले गरेको धूमपानको धुवाँले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ।
बच्चालाई नजिकमा राखेर र बच्चा बोकेर धूमपान गर्नु ऊ आफैंले धूमपान गरेसरह हो। असरको हिसाबले त्यो भन्दा पनि बढी हो। नजिकै धूमपान नगरे पनि धूमपानको लगत्तै बच्चाको नजिक जानु, उसलाई आफूसँग सुताउनु वा बोक्नु पनि उचित हुँदैन।
धूमपानजस्तै शिशुमा मदिरापानको पनि असर पर्छ। यी दुवै पक्षमा ध्यान दिनु आवश्यक छ।बच्चा राम्ररी सुत्न सकेको छैन भने त्यस्तो अवस्थामा तुरून्तै उपचार गराइहाल्नुपर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij