Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आशा मरेको छैन पासा !

आशा मरेको छैन पासा !


  • 9.2K
    Shares

    आशा मरेको छैन पासा !

    प्रिय पासा,
    हाम्रो भेट माओवादी जनयुद्धको समय ललितपुरको भट्टेडाँडा छेउतिर भएको थियोे । नेवारी मिसिएको तिम्रो बोली ‘त’ लाई ‘ट’ भनिरहेको थियोे । तिमी ‘जनयुद्ध’लाई ‘जनयुध’ भन्थ्यौ त्यहाँ ‘द’ छुटाउँथ्यौ । जसरी राजनीतिक आन्दोलनवाट सामाजिक, साँस्कृतिक, आर्थिक मुद्दा छुट्थ्योे त्यसैगरी कहिलेकाहीँ तिम्रो जिब्रोबाट केही शब्द छुट्थ्यो । तिम्रो मातृभाषा नेवारी यदी खस नेपाली मातृभाषा हुनेले बोले भने हरिबिजोग हुन्थ्यो होला । मातृभाषा बाहेकका भाषामा समस्या हुनु तिमी मौलिक हुनु हो । तिमी ‘अग्र्यानिक नेवार’ थियौ ।

    माओवादीहरूले सारा उत्पीडनलाइ मासेर मुक्तिको मखमली फुलाउने बाचा गरेका थिए । हो पासामा तिमीले पनि मखमली सपना देखेका थियौ । शहर कब्जा गरेर लालसत्ता ल्याउन तिमी लेलेको साग गोड्न छोडेर वा मज्जाको धान फल्ने खेतमा रोपाइँ गर्न छोडेर युद्धमा होमिएका थियौ । युद्धमा हुँदा केही पहाडीया कमरेडहरूले तिम्रो लवजमा खिसी गर्दा तिमीले भनेका थियौ– काठमाडौंका नेवारलाई नहेप । काठमाडौं नगइ सत्ता कब्जा हुन्न ।

    भट्टेडाँडामा ऐतिहासिक हमला हुँदा तिमी मकवानपुरको एउटा सैन्य ट्रेनिङमा थियौ । अर्थात् ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति तयार हुँदै थियोे । भेट्टेडाँडाको प्रहरी चौकीमा माओवादीले गरेको आक्रमणको बिषयमा समाचार लेखेवापत तत्कालीन सत्ताले कृष्ण सेन इच्छुकलाई बेपत्ता पारेको थियोे । महेन्द्र पुलिस क्लबमा उनको कुटीकुटी हत्या भएको थियोे । रातारात लास गायब पारिएको थियोे । त्यो घटनाले माओवादी पार्टीमा ठुलो हलचल ल्यायो ।

    जनादेशको तिमी नियमित पाठक थियौ । सेन दाइको कविता पढ्दा तिम्रो साँच्चै रगत उम्लन्थ्यो । कलेज पढ्न आरआर आउँदा सेन दाइ विद्यार्थीको केन्द्रीय नेता थिए । त्यतिबेला तिमीले विद्यार्थी आन्दोलनको महत्व बुझेका थियौ । सेन भन्थे विद्यार्थी आन्दोलन वास्तवमा नेपालको सबैभन्दा ठूलो आन्दोलन हो ।
    झडपहरूमा ढुंगा हान्ने नेतृत्व नै तीमि गथ्र्यौ । पासा भनेपछि प्रदर्शनीमार्गमा तहल्का मच्चिन्थ्यो ।
    तिम्रो परिवार २०४६ सालपछी एमालेको भोटर मात्र थिएन, बुवाले एमालेको तर्फबाट वडा अध्यक्ष नै जितेका थिए । एमालेका तत्कालीन नेता अमृत बोहरा, विद्यार्थी योगेश भट्टराई, रबिन्द्र अधिकारीसमेत तिम्रो घरमा आउँथे । तिम्रो एरियाबाट एमालेले सर्बाधिक मत ल्याउँथ्यो । नेवारहरूले भोट मात्र होइन छोरी समेत कम्युनिष्टलाई दिए ।

    रत्न काकाकोमा डेरा गरी बस्ने एक अखिल नेताले काकाकै छोरी बुद्धमायासँग गहिरो प्रेम मात्र गरेनन्, बुद्धमायालाई जीवन सङ्गिनी नै बनाए । त्यतिबेला अनेरास्ववियुका विद्यार्थी नेताहरू सबैलाई तपाईं हजुर भनेर सम्बोधन गर्थे । त्यही मीठो बोलीले बुद्धमायाको मन पगालेको थियोे । नाता झन् घनिष्ठ भएको थियोे । नेवारको ज्वाइँ भएपछी खान बस्न नो टेन्सन । अखिल नेताहरूलाई राजनीति गर्न ज्वाइँ हुनुले ठूलो मद्दत पुगेको थियोे ।

    तिमीले बुवाको राजनीतिक बिरासत छोड्यौ । नेकपा माओवादीको नारा, गीत, अपेरा, भाषण आदिले तीमिमा भूमिगत हुने सपना जागृत गरिदियो । बहुचर्चित उपन्यास ‘युवाहरूको गीत’को नायक जस्तै रुमानी क्रान्तिकारी सपनाले तिमीलाई निदाउन दिएन । नारायण गोपालको एउटा गीत जस्तै जिन्दगीले यसरी धोका दियो तिमीलाई । दुनियाँलाई फेर्न तिमी बन बस्यौ ।क्रान्तिको मैदानमा होमियौ ।

    मकवानपुर ,चितवन ,धादिङ ,नुवाकोट,गोर्खा आदि जिल्लाका फौजी मोर्चामा तिमी भयंकर लडयौ ।काँही त पानी समेत नखाइ लडयौ । घाइते सिपाहीहरू बोक्दै दगुर्यौ । आफ्नै साथीलाई चिहानमा गाडेर नरोइ हिडयौ । शोकलाई साँच्चै शक्तिमा बदल्न तिमीले सिक्यौ ।

    कमरेड पाशा,
    क्रान्तिपछी धेरैकुरा बदलियो । राजनीतिक परिवर्तनले गुणात्मक फड्को मा¥यो । सामाजिक परिवर्तन चाहिँ हुनै सकेन । साग बेचेर परिवार पाल्ने आमालाई दमले समातेको थियोे । बुवा थला परेका थिए । बहिनी एक माओवादी नेतासँग बिवाहा गरेर अर्कै जिल्लामा पुगेकी थिइ । जनयुद्धमा सुराकी बात लागेका भ्रस्टहरू सबै लाल झण्डा बोकेर हिँडेका थिए । कतिपय त वाई. सी. एल. नेता समेत भएका थिए । पासा तिमीलाइ यो चुनावमा जसरीपनि माओवादीलाई जिताउनु थियोे । ललितपुरलाई लालकिल्ला बनाउनु थियोे । बुवा भन्थे संसदीय राजनीतिबाट लालकिल्ला बन्दैन पासा । तर पासा तिमी निराश थिएनौ । इमानदार सिपाहीहरू कसरी निराश हुनु । तिमी निराश हुने जीव थिएनौ ।

    बाले भने जस्तै संसदीय राजनीतिले धोका दियो । धोकाले तिमीलाइ कतार जान भिसा दियो । दलालहरू समुल नष्ट गर्न हिँडेको तिम्रो दलाललाई मोटो रकम खुवाएपछी मात्र भिसा लाग्यो । भर्खरै बच्चा जन्मेको थियोे अभिभावकको दायित्व जिम्मेवारी सबै थियोे । देशमै केही गर्न सकेनौ वा चाहेनौ तिमी कतार हान्नियौ ।
    जनयुद्ध रोकिएपछि तिमीले रातो ललितपुर नामक पत्रिका पनि चलाएका हौ । बिज्ञापन पनि आएकै थियोे । तर जसले बिज्ञापन ल्यायो उसैले मोज गर्ने भएपछि पत्रिका चलेन । तिमीमा पनि आश मर्यो । कसैगरे पनि निराश नहुने तिमी कतार जाने लाइनमा उभियौ । परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखामा उभिंदा तिमी मैलो टिसर्ट, हात्तीछाप चप्पल र २९० मा पुरानो बसपार्कमा किनेको झोला बोकेर उभिएका थियौ । झोलामा तिमीले यसपटक प्रचण्ड सङ्कलित रचना होइन शिव खेडाको सफल कसरी हुने भन्ने पुस्तक बोकेका

    थियौ । आफू जस्तै जनमुक्ति सेनाले लेखेका स्मरण कथा कविताका केही थान किताब पनि थिए । एउटा सर्ट र कट्टु बोकेर तिमी शहरतिर भौतारिदै थियौ ।
    परराष्ट्रको लाइनमा तिमी मात्र थिएनौ, केही पुराना जनमुक्ति सेनाका साथीहरू पनि उभिएका थिए । तिनलाइ जसरी पनि पुग्नुथियो कतार । देशलाई पठाउनु नै थियोे रेमिट्यान्स । नेताहरूलाई भ्रष्ट बनाउन गर्नु नै थियोे सहयोग ।

    तिमी कतार गएपछि झन् बिग्रीयो राजनीति । सामाजिक परिवर्तनमा धमिरा लाग्दै गयो । नेताहरूले बर्ग परिवर्तन गरे । लेलेमा कति घाम कति झरी पर्यो होला । तर देशमा तुवाँलो लागिरह्यो ।

    त्यसपछि मैले शहरका आन्दोलनहरूमा एउटा जुझारु आन्दोलनकारी देखिन । एउटा इमानदार लेखक देखिन । एउटा लेख चाहियो भन्ने पत्रकार देखिन । सधैं उत्साहित तिमीसँग खाएको पाटनढोकानेरको मःमको स्वाद त भुलेंहूँला । तर तिमीलाइ कसरी भुल्न सक्थेें ?

    आज तिमी सम्झना आइरहेको छ ।

    हो पाशा लडाइँको तरिका त फेरियो होला । सङ्घर्षको बाटो फेरिएको छैन । यो शहरमा उत्साहित भएर केही गर्नु त छँदैछ । उज्यालो छर्नु छ । आशाको न्यानो घाम उदाउने छ ।

    आशा मरेको छैन पासा !

    प्रकाशित मिति :मंसिर ६ २०७७ शनिवार - २०:०९:३७ बजे
    प्रतिक्रिया

    रसुवाली कवि

    writer

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij