२०८२ भाद्र २४ गते मंगलवार
फ्राइडे रिलिजअन्तर्गत शुक्रवार (आज) देखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले कृष्ण जन्माष्टमीको अवसर पारेर आफ्नो देशव्यापी प्रदर्शन आरम्भ गरेका हुन् ।
एकसाथ तीन नेपाली चलचित्रको प्रतिस्पर्धा कोरोनापछिकै पहिलो हो । तीन चलचित्रमा कुनले बढी दर्शक हलसम्म तान्न सफल हुने हो ? कुन चलचित्रको व्यापार माथि हुने हो ? निकै चासोका साथ हेरिएको छ ।
पुष्प र श्रद्धाको ‘कृष्ण लीला’
अभिनेता पुष्प खड्का र डेब्यू अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । सञ्चारकर्मीसमेत रहेका लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रले फरक खालको प्रेमकथा पेश गर्छ । निर्माण पक्षका अनुसार यो ‘अटिजम’ रोग पीडित युवकको प्रेम जीवनमा आउने उतार–चढावमा केन्द्रित चलचित्र हो । रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मीलगायतको शीर्ष भूमिका रहेको छ । चलचित्रका गीतहरू यसअघि स्रोता दर्शकले रुचाइसकेका छन् । चलचित्रलाई लिएर अभिनेता पुष्प, डेब्यू अभिनेत्री श्रद्धासँगै निर्माण टिम आशावादी देखिएको छ ।
सेरोगेसीको कथामा ‘माईकल अधिकारी’
सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’ सरोगेसी (कोख भाडामा दिने)को कथामा निर्माण भएको हो । रञ्जित रौनियारको निर्देशनमा तयार चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । सृष्टिले चलचित्रमा ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् ।
गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिसँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुवँर, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । ‘रोज’ निर्माणको केही वर्षपछि गोपीकृष्ण मुभिजले ‘माईकल अधिकारी’को निर्माण गरेको हो । चलचित्रले गत बुधवार प्रिमियर शोसमेत आयोजना गरेको थियो । जहाँ राजनीतिज्ञ एवं चलचित्रकर्मीहरूले चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए ।
दुई कालखण्डको रोचक प्रेमकथामा ‘प्रेमगञ्ज’
शुक्रवारदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो, प्रेमगञ्ज । परिच्छेद सेनको लेखन एवं निर्देशन रहेको चलचित्रले तीन पात्रको दुई कालखण्डको प्रेमकथालाई पेश गरेको छ ।
चलचित्रमा बेनिशा हमाल, सम्पदा बानियाँ, तेज गिरी, राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ । बैंकर रहेका तेजको ‘प्रेमगञ्ज’ डेब्यू चलचित्र हो । राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले पनि यसै चलचित्रमार्फत रजतपटमा डेब्यू गरेका हुन् ।
चलचित्रमा स्पटब्वाईका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ । अभिनेत्री सुरक्षा पन्त चलचित्रमा विशेष भूमिकामा प्रस्तुत छिन् ।
चलचित्रको गत मंगलबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ उपस्थितले चलचित्रलाई धेरैपछि आफूहरूले उत्कृष्ट लभस्टोरी चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका थिए ।
शुक्रवारदेखि यी तीन नेपाली चलचित्रसँगै पछिल्लो साता भारतमा चर्चा बटुलिरहेको हिन्दी डब चलचित्र ‘कात्तिकेय २’ पनि प्रदर्शनमा आएको छ । चन्दु मनदेती निर्देशित यस चलचित्रमा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरम र अनुपम खेरको प्रमुख भूमिका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij