२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बुधबार पदभार ग्रहण गरेका छन् । चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताए । चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको उनले बताए । सो अवसरमा केसीलाई कर्मचारी र अन्य पदाधिकारीले स्वागत गरे ।
बुधबारै बोर्डले अध्यक्ष केसीको स्वागतमा कार्यक्रम समेत आयोजना गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसी अध्यक्षमा नियुक्त भएका हुन् । बोर्डमा अध्यक्षमा नियुक्त भएपछि केसीलाई चलचित्रकर्मीहरुले बधाई दिइरहेका छन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका पिता तथा अभिनेता भुवन केसीलाई अभिनेता अनमोल केसी पनि सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । फिल्म ‘छड्के २’ को वर्कसपका लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली शुभकामना दिएका हुन् । शुभकामनामा उनले पिताको कार्यकालमा फिल्मको श्री वृद्धिमा हुने विश्वास समेत ब्यक्त गरेका छन् ।
उनले लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij