Logo

२०७९ आषाढ १३ गते सोमवार

images

स्मृतिचित्रमा कीर्तिशेष क्याप्टेन

स्मृतिचित्रमा कीर्तिशेष क्याप्टेन

माधव घिमिरे 'अटल'

२६ जेठ २०७९
  • 3.3K
    SHARES
  • images
    स्मृतिचित्रमा कीर्तिशेष क्याप्टेन
    images

    ज्येष्ठ मासको पन्ध्र गते आइतबार । सदाझैँ आफ्नै शिक्षण धन्दामा तल्लीन छु म । आकाश रूँदिएको छ किन्तु बुँद झरेका छैनन् नेपाल खाल्डोको सेरोफेरोतिर । यसैबीच भुसको आगोझैँ फैलिएको छ विमान बेपत्ता भएको अपुष्ट परन्तु एउटा अप्रिय खबर । अलिक केही वर्ष भएको थियो विमान खसेका दुःखान्त समाचार सुन्नु परेको थिएन । रैबारे बनेका अनलाइनका भित्ताहरू रङ्गिएका छन्- 'जोमसोमतर्फ उडान भरेको तारा एयरको विमान सम्पर्कविहीन ।' मित्र गोपालकृष्ण अधिकारी फोन गरेर सुनिश्चितता खोज्छन्- ' क्याप्टेन प्रभाकर घिमिरे श्रीमञ्जाङका बासिन्दा रे । को हो केही जानकारी छ ?' नि:शब्द र निरीह म नाजवाफ हुन्छु । क्षणभरमै विमान चालकको वतनको भेउ पाउँछु । १९ घण्टाको पट्यारिलो र सकसपूर्ण प्रतीक्षापछि बल्ल थाहा लाग्छ दुर्घटनास्थल । घटनाको प्रकृति हेर्दा विमानका पखेटा अन्दाजी ४२०० मि• उचाइमा अवस्थित छङ्गाछुर पहाडमा ठोक्किएर खोंचमा खसेझैँ प्रतीत हुन्छ । छरपस्ट छन्, चिसिइसकेका मानवहरू सानोसरे भीरको पखेराभरि । चिर निद्रामा लीन छन् तमाम अभागीजन । छ केही भने एकाध यार्सा खोज्न गएका मान्छे नत्र सन्नाटै सन्नाटा जताततै ।

    * * *

    'जीवनमा मती सही राख, गतिको चिन्ता नलेऊ' भन्ने भनाइसँग बहुत तादात्म्य राख्थ्यो प्रभाकरको जीवनदर्शन । 'परिवारको कान्छो सन्तान । लाडप्यारमै हुर्किए राजधानीमा । बुवा सरस्वतीप्रसाद त्रिविका विद्वत प्राध्यापक । शैशवकालदेखि नै कला र कौशलका पारखी । चित्रकलाप्रति असीम लगाव । सङ्कटा क्लबका क्याप्टेन एवं चर्चित फुटबल खेलाडी । लिग च्याम्पियनमा अनेकौँ पटक पुरस्कृत ।' सङ्गीत साधक साहिँला दाजु ज्योति घिमिरे भावुक हुँदै सम्झन्छन् कान्छा भाइ प्रभाकरलाई । 'पठनमा निकै तेजिला । हर क्षेत्रमा पुनर्ताजगी खोज्ने जुझारू व्यक्तित्व । मूलतः सत्कर्मलाई धर्म सम्झी सकसमा परेका सारा जनहरूमाथि सक्दो सहयोग गर्न दत्तचित्त ।' आफ्ना अनुभूति ओकल्छन् माहिला दाजु किरण घिमिरे । 'अनेक विधा अध्ययन गर्ने एक साधक किन्तु परिवारलाई त्रास नहोस् भनेर आफ्ना पेसागत दुःख परिवारबीच फिटिक्क मन्थन नगराउने एक मीतभाषी ।' उनीबारेको जिज्ञासा शमन गराउँछन् अर्का दाजु उत्तम घिमिरे । प्रभाकर अर्थात् सूर्य । कठोर सङ्घर्षबीच आभा फैलाउन सक्ने सबल व्यक्ति थिए उनी । वाणिज्य शास्त्रमा स्नातक गरेपछि लोकसेवा समुत्तीर्ण गरी एयर ट्राफिक कन्ट्रोलर बनेका घिमिरेलाई त्यहीँबाट विमान चालक बन्ने अवसर जुर्यो । 'उनी उच्च हिमाली भागमा उडान भर्ने सर्वाधिक अनुभवी विमान चालक बन्न सफल मात्र भएनन् चालक प्रशिक्षकसमेत बन्न भ्याए । कैयौँ पटक निर्भयतापूर्वक नै परीक्षण उडान भरे उनले । अपर्झट उडान वा उद्धार गर्नुपर्दा सबसे बढि सम्झने नाउँ थियो प्रभाकर । जिम्मामा आएको काममा राम्रो दक्खल राख्ने उनी दबाबमा काम गर्न भने इन्कारी हाल्थे ।' प्रभाकरसँगका अनुभव सुनाउँछन् यती एयर सम्बद्ध भर्भराउँदा तरुण एवं समाजसेवी राजु शर्मा जो यती एयरसँग सम्बद्ध छन् । पितासँगका अविस्मरणीय क्षणबारे जानकारी लिने दर्मियानमा भक्कानिन थालिन् ज्येष्ठ सुपुत्री सुभूति घिमिरे । भक्कानोले नै धेरै कुरा बोलिरहेको थियो । मूलतः पितृवियोगको असह्य क्षण । सहन गर्न कम्ता सकस थिएन । प्रेम र समभाव राख्ने पिताको चिन्तनसँग उनको पूर्ण सम्मति थियो भलै पितृ ममता नियतिले सदाका निम्ति बलात् खोसेको नै किन नहोस् ।

    ***

    पुत्ताइरहेथ्यो धुवाँ आर्यघाटको ब्रह्मनालमा ! बौद्ध गुरुहरुदेखि आफन्तजनको भीड थामिनसक्नु थियो । सङ्कटा क्लब र टेवहालका उनका मित्रहरू कसैका आँखा ओभाना थिएनन् । अवरुद्ध थिए सबैका गला । एक विमानचालकको भौतिक देह निमेषभरमै खाक बन्यो परन्तु उनका अनेकानेक सुकर्म झनै देदीप्यमान भएझैँ आभास हुन्थ्यो, त्यसैत्यसै उर्लिएको शोकाकुल विशाल जनसागर देख्दा । त्यसो त सङ्घर्षपूर्ण यात्राबाट बिसौनी खोज्दै आर्यघाटमा बिलाइरहेथे बेहिसाब देहहरू जसको आजसम्म कुनै लेखा छैन; संभवतः भोलि पनि रहने छैन ।

    आर्यघाटमा यत्रतत्र बजिरहेका थिए शङ्ख, घण्ट तथा वेदनाका बाँसुरीहरू । अविरल अश्रुपात भइरहेथे, अनेक जोर आँखाका पलकमुनिबाट । पहिरिएझैँ भान हुन्थ्यो तिनका प्रफुल्लताका पहाड । भाँचिएझैँ प्रतीत हुन्थ्यो जिन्दगीको बैशाखी । पुत्पुताएको धुवाँसँगै कैयन् जीवनहरू निथ्रिएका थिए । अधिकांशले अमिट यादहरू छोडेर गएका थिए, आआफ्ना हैसियतअनुसारका । बग्दै जाने जिन्दगीका भँगाला एकाएक अलप भएका थिए, त्यतैकतै आर्यघाटका तप्त बगरमा । विशाल पुस्तकका पढ्न नभ्याइएका ठेलीझैँ लाग्थे, लहरै लडाइएका निर्जीव कायाहरू ।

    ***

    तथ्याङ्क बोल्छ- सतसट्ठी वर्षे उड्डयन इतिहासमा एक सय आठ चिलगाडी दुर्घटित भए जसमा आठ सय अट्ठाईस जनाले आफ्ना अमूल्य चोला गुमाए । चार सय उनान्तीस थान यात्रु अङ्गभङ्ग भए । ऊ बेला ललितपुरको भट्टेडाँडाले मात्रै एकपटकमै एक सय सतसट्ठी हवाई यात्रु निलेछ । आजसम्मको सबैभन्दा पछिल्लो पटक मुस्ताङको थासाङमा अवस्थित सानोसरे भीरले बाईसजना अमूल्य मान्छेहरूलाई आफ्नो शिकार बनाएछ । उनी अर्थात् प्रभाकर घिमिरे यिनै बाईस थान अभागी जीवनमध्ये एक थिए । मौसम प्रतिकूलता, आँधी र हुन्डरीबीच पनि अनगिन्ती हवाई यात्रुलाई आआफ्नो गन्तव्यमा सुरक्षित अवतरण गराई जीवनका पाँच दर्जन वसन्त बिताएका घिमिरे आफैँ अस्ताए सानोसरेको छङ्गाछुर भीरमा । त्यो दुर्दान्त दिनमा न गन्तव्यमा आफू पुगे , न त पुर्याए अन्य यात्रु तथा आफ्नै अनन्य सहकर्मी अर्का विमान चालकलाई । उनको दुःखद अवसानपछि स्वजन एवं हितैषीहरू भन्छन्- 'चर्चित हुने लालसा कहिल्यै पलाएन उनमा ।' कर्मलाई नै धर्म बुझ्थे उनले । उडाउने सपना देखाएर पखेटा काटिदिनेको बिगबिगी भएको वर्तमानमा उनी भने नितान्त पृथक् चरित्रका थिए । अब भने सदाका निम्ति टुटेको छ भरोसा आत्मीयजनमा जो अटुट प्राप्त हुन्थ्यो उनीबाट । भेट छोटो भए पनि प्रेमिल बन्यो भने याद लामो हुन्छ भन्ने कथन उनमा हुबहु मेल खान्थ्यो ।

    * * *

    सिँढी त उसलाई आवश्यक हुने हो जसको गन्तव्य फगत घरको छत वा मझौला चुली हुन्छ । गगन चुम्न खोज्नेले नि:सन्देह आफ्नो बाटो स्वयम् निर्माण गर्छ । उनले स्वयम् निर्माण गरेको विशिष्ट पहिचान थियो सुरक्षित विमान हँकाइ । दर्जनौँ क्याप्टेनको भीडमा बारम्बार खोजी हुने चर्चित चेहरा थिए उनी । निकटस्थहरू भन्छन् -'जहाँ रहे पनि मान्छेको जरूरत बनेर रहनू, बोझ बनेर होइन भन्ने मूल मन्त्र थियो उनको ।' अभिभारा सम्हाल्ने दौडमा अनन्त रहरहरू कता छुटे भन्ने समेत पत्ता पाएनन् उनले । यतिखेर भने जिन्दगीको अन्तिम परीक्षा उत्तीर्ण गर्न उनलाई भारी सकस पर्यो । भौतिक अवसान भए पनि उनका सत्कर्म र सत्यवादिता अजर अमर बन्ने छन् । अल बिदा क्याप्टेन प्रभाकर !!

    images
    प्रकाशित मिति :जेठ २६ २०७९ बिहिवार - १०:१४:२० बजे

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार