२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।
प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।
आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij