Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शिक्षक सेवा आयोग: स्थायी शिक्षकका लागि कुन विषयमा कतिले दिए आवेदन ? कुन प्रदेशबाट कति? (विवरणसहित)

शिक्षक सेवा आयोग: स्थायी शिक्षकका लागि कुन विषयमा कतिले दिए आवेदन ? कुन प्रदेशबाट कति? (विवरणसहित)


  • 32.6K
    Shares

    • images
    शिक्षक सेवा आयोग: स्थायी शिक्षकका लागि कुन विषयमा कतिले दिए आवेदन ? कुन प्रदेशबाट कति? (विवरणसहित)

    स्थायी शिक्षक बन्नका लागि मावि, निमावि र प्रावि तहका लागि आवेदन दिएका ५ हजार २ सय भन्दा बढीले राजस्व नतिरेपछि उनीहरूको आवेदन अस्वीकृत भएको छ। तीनै तहमा ५ हजार २ सय ८३ जनाले राजस्व नबुझाएकाले उनीहरूको आवेदन स्वीकृत नभएको शिक्षक सेवा आयोगको तथ्यांकले देखाएको छ। 

    तीनै तहका लागि १७ हजार २३३ शिक्षक पदका लागि आयोगले खुलाएको विज्ञापनमा दुई लाख ४० हजार ४५२ वटा आवेदन परेको छ। यद्यपि केही व्यक्तिले भने तीनै तहमा समेत आवेदन दिएकाले कति जनाले आवेदन दिए भन्ने प्रष्ट छैन। 

    माध्यमिक तहमा १ हजार ५ सय ५२ शिक्षक माग गर्दै विज्ञापन खुलाइएकोमा ३६ हजार ५ सय ८२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ९७ जनाले राजस्व नतिरेपछि उनीहरूको आवेदन रद्द भएको छ। ३५ हजार ५ सय ४५ जनाको आवेदन भने स्वीकृत गरिएको आयोगले जानकारी दिएको छ। 

    निम्न माध्यामिक तहमा ८८ हजार ५ सय १९ ले नयाँ शिक्षक पदपूर्तिको लागि आवेदन दिएका छन्। त्यसमध्ये ८५ हजार ६ सय ५३ ले मात्र रकम बुझाएका छन्। २ हजार ८ सय ६५ जनाले राजस्व भुक्तानी नगरेका कारण उनीहरूको आवेदन रद्द भएको छ। एक जनाले भने देब्बर दस्तुर लाग्ने समयमा रकम बुझाएपनि सिंगल दस्तुर मात्र दाखिला गरेका छन्। 

    प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक माग गरिएको थियो। त्यसमा १ लाख १५ हजार ३ सय ५१ जनाले आवेदन दिएका छन्। १४ सय २१ जनाले फाराम भरेर पनि रकम नबुझाउँदा १ लाख १३ हजार ३८७ वटा आवेदन मात्रै स्वीकृत भएको आयोगले जानकारी दिएको छ।

    कुन प्रदेशमा कति आवेदन?

    प्रदेश १ को मावि तहमा ८ हजार ८ सय ३२ र निम्न माध्यामिक तहमा २० हजार ९ सय २२ वटा आवेदन परेको छ। मधेश २ हजार २ सय ६ जनाले मावि शिक्षक बन्न र निम्न माध्यामिक तहमा ६ हजार ४ सय ३० जनाले निमावि शिक्षक बन्नका लागि आवेदन दिएका छन्। 

    बागमतीमा मावि तहमा ७ हजार १ सय ८६ र निम्न माध्यमिक तहमा १३ हजार ५ सय ३८ वटा आवेदन परेको छ। गण्डकी प्रदेशमा मावि तहमा ७ हजार १ र निम्न माध्यामिक तहमा १५ हजार ४ सय ९३ आवेदन परेको आयोगको तथ्यांकमा उल्लेख छ। 

    लुम्बिनी प्रदेशमा मावि तहमा ४ हजार ९ सय २३ र निम्न माध्यामिक तहमा १३ हजार ६ सय २४ आवेदन दिएका छन्। कर्णाली प्रदेशमा मावि तहमा १ हजार ६ सय २५ र निम्न माध्यामिक तहमा ५ हजार १ सय ९९ जनाको आवेदन परेको आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा मावि तहमा ३ हजार ७ सय ७२ र निम्न माध्यामिक तहमा १० हजार ४ सय ४७ जनाले शिक्षक बन्ने फारम भरेका छन्। 

    प्रदेशगत रुपमा प्राथमिक तहको विवरण भने आयोगले केही दिनमा सार्वजनिक गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। फारम संख्याअनुसार राजस्व संकलन नभएको उनले बताए। कुनै उम्मेदवारले विभिन्न स्थानबाट फाराम भर्ने तर एक ठाउँबाट मात्र राजस्व दाखिला गर्दा त्यस्तो भएको हुन सक्ने उनको आकलन छ। ‘इच्छुक उम्मेदवारले काठमाडौंबाट फाराम भर्नुभयो तर पैसा तिर्नुभएन। त्यही व्यक्तिले ललितपुरमा फाराम भरेर त्यही भौचर भर्नुभयो तर अघिल्लो दरखास्त आफैं रद्द गर्नुपर्‍थ्यो तर गर्नुभएन भन्ने हाम्रो अनुमान हो।’

    आयोगले माघ ८ सम्म मावि तहमा आवेदन माग गरेको थियो। निमाविका लागि माघ १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो।

    कुन विषयमा कति आवेदन?

    माध्यमिक तहको नेपाली विषयका लागि २३३ पदमा दरखास्त आह्वान गरिएको थियो। उक्त पदका लागि १० हजार १ सय ३३ जनाले आवेदन दिएका छन्। अंग्रेजी विषयको लागि २ सय १३ पदका लागि माग भएको थियो। अंग्रेजीमा ८ हजार ९ सय ५६ जनाले आवेदन दिएका छन्। 

    गणित विषयमा २ सय ८९ माग हुँदा ३ हजार ७ सय ४९ वटा आवेदन परेको छ। विज्ञान विषयमा ४ सय ३६ पदका लागि माग भएको थियो। विज्ञानमा आवेदन दिनेको संख्या २ हजार ९ सय २३ छ। सामाजिक विषयमा २ सय १ जना माग हुँदा ८ हजार १ सय ३२ को आवेदन परेको छ। 

    अर्थशास्त्रमा १० जनाको माग गरिएको थियो। त्यसका लागि १ सय ६२ जनाले आवेदन दिएका छन्। कार्यालय सञ्चालन/लेखामा ५१ जना माग भएकोमा १ सय ५१ जनाले आवेदन दिएका छन्।

    त्यसैगरी कर्णाली प्रदेशका लागि मात्र शिक्षा विषयको १ जना माग गरीएकोमा ५३ जनाले आवेदन दिएका छन्। कर्णाली प्रदेश र मधेश प्रदेशका लागि स्वास्थ्य विषयमा एक-एक गरी २ जनाको मागमा ६६ जनाले आवेदन दिएका छन्। 

    मधेश र गण्डकी प्रदेशका लागि शुक्ल-यजुर्वेदमा २ जनाको लागि ५ जनाको आवेदन परेको छ। मधेश र बाग्मती प्रदेशका लागि संस्कृत व्याकरणमा २ जनाको लागि ७ जनाको आवेदन परेको छ भने प्रदेश १ र सुदुरपश्चिम प्रदेशका लागि संस्कृत भाषामा ३ जना मागमा १६ जनाले आवेदन दिएका छन्। 

    कम्प्युटर विज्ञानमा (मधेश र बाग्मती प्रदेश बाहेक) ६ जनाको मागमा १ सय ८२ जना, संस्कृत साहित्य (लुम्बिनी प्रदेशमा मात्र) १ जनाको मागमा ४ जना र संस्कृत न्याय विषयमा (बाग्मती प्रदेशको लागि मात्र) १ जनाको मागमा ६ जनाले आवेदन दिएका छन्। यो मावि तहमा विषयगत माग संख्या हो। 

    निम्न माध्यामिक तहको नेपाली विषयमा ४ सय ४० जना माग गरिएको थियो। त्यसका लागि ३२ हजार ३ सय ४१ जनाले आवेदन दिएका छन्। अंग्रेजी विषयको ६ सय २५ जनाको माग गरिएको थियो। त्यसमा १८ हजार ३ सय ४९ जनाले आवेदन गरेका छन्। 

    गणीत विषयमा ३ सय ७२ माग हुँदा ८ हजार ९ सय ५४ जनाको आवेदन परेको छ। विज्ञान विषयमा ४ सय ४० माग संख्यामा २ हजार ८ सय ७१ जनाले आवेदन दिएका छन्। 

    सामाजिक विषयमा ३ सय ५५ माग संख्यामा २२ हजार ३ सय ८२ जनाले आवेदन दिएका छन्।  गणित विज्ञानसँगै ३ सय ६४ माग संख्यामा ७ सय ७८, शुल्कयजुर्वेद ( प्रदेश १ मा मात्र) १ जना माग गरीएकोमा कसैले पनि आवेदन भरेका छैनन्।

    त्यसैगरी संस्कृत व्याकरण विषयमा (प्रदेश १, गण्डकी र लुम्बुनी प्रदेशका लागि) ३ जना माग गरिएकोमा ११ जनाको आवेदन परेको छ। संस्कृत भाषाका लागि (मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेश) ४ जनाको माग संख्यामा १५ जनाको र कर्मकाण्डमा (बाग्मती प्रदेश) १ जनाको मागमा ६ जनाको आवेदन परेको छ।

    शिक्षक दरबन्दीका लागि आवेदन दिने उम्मेदवारबाट २० करोडभन्दा बढी राजस्व संकलन भएको छ। आवेदन दिनका लागि माध्यमिक तहमा एक हजार, निम्न माध्यमिक तहमा ७ सय र प्राथमिक तहमा ५ सय रुपैयाँ राजस्व तोकिएको थियो। यसपाली अनलाइन माध्यमबाट आवेदन फाराम भर्ने व्यवस्था पहिलो पटक गरिएको हो। 

    आयोगका अनुसार एक लाख ४४ हजार ३८१ जनाले माध्यमिक तहमा अध्यापन गराउने अनुमति (लाइसेन्स) लिएका छन्। निमाविमा तहका लागि लाइसेन्स लिनेको संख्या तीन लाख ७० हजार १२ छ। प्रावि तहको लाइसेन्स लिनेको संख्या दुई लाख दुई हजार ७१२ छ। 

    आयोगले विगतमा एकै व्यक्तिले धेरै प्रदेश वा क्षेत्रबाट फाराम भर्ने गरेको भए पनि यस पटकबाट भने एक व्यक्ति एक प्रदेशको व्यवस्था भएकाले आवेदकको संख्या यकिन गर्न सजिलो भएको जनाएको छ। 

    प्रकाशित मिति :माघ २८ २०७८ शुक्रवार - १३:२३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij